‘रे’ को बिदाइ, चन्दालाई भ्याइनभ्याइ

एक दिनमै तीन पटक क्याबिनेट बैठक त्यो पनि सासू र सम्धीलाई राजदूत बनाउन ! सत्ताधारी दलले अस्ति सोमबार राजदूत नियुक्तिमा जगहँसाइ गरिरहँदा सरकारसँग टेढिएको मधेसी दललाई भने भारतीय राजदूत रञ्जित रेको बिदाइ भव्य बनाउन भ्याइ–नभ्याइ छ । एक दिनको फरकमा दुई वटा पार्टीले एउटै होटलमा उही समय पारेर रेको बिदाइ तथा सम्मान गर्ने भएका छन् ।   यसपटक राजदूत रेको सम्मानमा राजेन्द्र महतोलाई चन्दा चौधरीले उछिनेकी छन् ।

मधेसी नेताले प्रायःजसो आफ्नो कार्यक्रम डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा गर्दै आएकामा यसपटक भने उनीहरूको रोजाइ जमलस्थित दिलविकास राजभण्डारीको लगानी रहेको एल्लो प्यागोडा होटल परेको छ । हिजो मात्र रेको सम्मान तथा बिदाइ कार्यक्रमको संयोजन महन्थ ठाकुरको पार्टीकी प्रभावशाली चन्दा चौधरीले सम्पन्न गरेकी छन् भने त्यसको एक दिनपछि सोही होटल, उही समय महतोको सम्मान तथा बिदाइ कार्यक्रम राखेको छ ।

गजेन्द्रनारायण लोककल्याणकारी प्रतिष्ठानको नाममा महतोले राजदूत रेको सम्मान तथा बिदाइ कार्यक्रम राखेका हुन्, पर्सि बिहीबार अढाइ बजेका लागि । उनले आफूनिकट सबैलाई निमन्त्रणा पत्र पठाएका छन् । हिन्दी भाषामै लेखिएको पत्रमा उल्लेख छ, ‘नेपालमें भारत के महामहिम राजदूत मा. रंजीत रेजीके बिदाई तथा सम्मान मे आपकी गरिमामय उपस्थिति के लिए हार्दिक अनुरोध करता हुँ ।’

यता, सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गरेकामध्ये संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट हेलिकोप्टर चिह्नमा स्वतन्त्र लडेकी आशा गुरुङ एक्कासि कांग्रेसी कोटामा युएईको राजदूत बन्न सफल भइन् । कतारका लागि राजदूत बनेका रमेश कोइराला आफ्नै श्रीमती मारेको अभियोगमा थुनिएका सशस्त्र डिआइजी रञ्जन कोइरालाका दाजु हुन् । उनी टेकबहादुर गुरुङ श्रममन्त्री हुँदा उनको सल्लाहकार थिए । जापानको  राजदूतमा सिफारिस भएकी प्रतिभा राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू हुन् भने स्पेनका लागि राजदूत सिफारिस भएका भरत रायमाझी कमल थापाका सम्धी तथा पूर्व एकतारे जर्नेल हुन् ।
 

टिप्पणीहरू