अवैध अमेरिकीलाई पनि अँठ्याइने
निर्देशिका बन्नासाथ टोली खटाई धर्मप्रचार, जासुसी, अवैध मुद्राको कारोबारदेखि लागुऔषध ओसारपसारमा समेत संलग्न युरोपियन मुलुकका नागरिकदेखि बंगलादेशी, पाकिस्तानी, स्विस, तिब्बेतीयन निशानामा पारिनेछन् । यस्ता विदेशीलाई पक्रिएर अध्यागमनको हिरासतमा राखिनेछ । यिनीहरूमध्ये अधिकांशले लाखभन्दा बढी भिसा शुल्क बुझाउनुपर्ने छ । भिसा शुल्क बुझाउनेले सजिलै स्वदेश फर्कन पाउने भए पनि सक्दिनँ भन्नेले चाहिँ जेलमै बस्नुपर्छ । केही दिनअघि मात्र पक्राउ परेका ३३ जना बंगलादेशी नागरिकमध्ये कसैले पनि भिसा शुल्क बुझाउन नमान्दा अहिले केन्द्रीय कारागारको पाहुना बनेका छन् ।
अवैध रूपले नेपाल प्रवेश गरी कामदारको रूपमा हाउजिङमा कार्यरत यिनीहरू कोहीसँग पनि पासपोर्ट, भिसा तथा अन्य कागजात थिएन । कुबेत, साउदीलगायत मुलुकमा नेपाली कामदार पठाइएझैं बंगलादेशबाट पनि गैरकानुनी रूपमा कामदार नेपाल भिœयाइने गरेको बताइन्छ । यस्ता कामदारको जिम्मा ठेकेदारले लिने, काम उसैले लगाइदिने र बस्ने–खाने व्यवस्था मिलाउनुका साथै तलब र सुविधासमेत निर्धारण गर्ने गरेको पाइएको छ ।
अमेरिकीलगायत युरोपियन मुलुकका हजारौं गोरा अनुहार अहिले पनि गाउँगाउँमा देखिन्छन् । यीमध्ये अधिकांश धर्म प्रचारमा संलग्न बताइएको छ । अब मुलुकभरका प्रहरी चौकीले विदेशी नागरिक देख्नासाथ वैधताको कागजात खोज्नेछन् । नेपालमा अवैध बसोबास गर्ने विदेशी १० हजारजति हुनसक्ने गृहकै एक अधिकारी बताउँछन् । हाल केन्द्रीय कारागारमा रहेका बंगलादेशीले भिसा शुल्कबापत प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बुझाउन सकेका छैनन् ।
युरोपियन मुलुकका नागरिकले बुझाउनुपर्ने यस्तो रकम एकैजनाको ५/७ लाखसम्म हुन्छ । अवैध बसोबास गर्ने विदेशीलाई पक्राउ गर्दा भिसा शुल्कबापतको रकम मात्र करोडौं उठ्न सक्छ ।
टिप्पणीहरू