महासंघ कि भातृसंघ बनाउने ?

चर्चामा स्थानीय तहको निर्वाचन भए पनि मौसम नेपाल पत्रकार महासंघका शाखाहरुको अधिवेशनको हो र महत्व कुन शाखामा कुन दल निकटका भातृसंगठनको भोट (केन्द्रीय सभासद ?) कति आयो भन्नेसंग देखिन्छ । होइन किन उम्मेदवारी फिर्ता लिएको गोविन्दजी ? यो सवाल चैत्र २९ देखि पटक–पटक कानमा परिरह्यो । कुन कुन संगठनमा के के पदमा छस् र तैंले सभासद पद त्यागिस् ? शुभचिन्तक अनि मलाई चिनेका पाल्पाली र अन्यत्रका धेरै जनबाट यो प्रश्न आयो । गाउ“ले देउराली साप्ताहिकको प्रधान सम्पादक अनि विशुद्ध श्रमजीवी पत्रकारबाहेक मेरो कुनै पद छैन भनें । पत्रकार महासंघ पाल्पाको अधिवेशनको माहोल थाहा नपाएका एकदुईले त हार्ने अवस्था थियो र चुनावमा नगएर छाडेको ? भनेर चिन्तासमेत व्यक्त गरे ।

२०७३ फागुन २ गते होटल अन्नपूर्ण गार्डेन, तानसेनमा केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टले पाल्पा शाखाको दशौं अधिवेशन उद्घाटन गरेका थिए । महासचिव उजीर मगर, पूर्व केन्द्रीय अध्यक्ष डा. सुरेश आचार्यलगायत उपस्थित बन्द सत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास, पहल भए पनि फागुन ४ गते सहमतिका लागि भन्दै फागुन २८ गतेसम्मका लागि नेतृत्व चयन प्रक्रिया स्थगन गरियो । यसबीचमा विभिन्न विचारनिकट संगठनका पत्रकार नेताहरुले सहमतिका लागि भन्दै सरसल्लाह गरे । अन्तत ः फागुन २८ गते दिउँसो १ बजेसम्म सहमति नभएपछि निर्वाचन प्रक्रिया शुरु भयो । त्यसपछि मुख्यतः प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरका अगुवाहरुबीच संगठनमा को को जाने ? भनेर कुराकानी उत्कर्षमा पुग्यो । कार्यसमिति, प्रदेश सभासदमा जेनतेन पदअनुसार संगठनका अगुवाले नामको टुंगो लगाए पनि केन्द्रीय सभासदमा १ जनाको नाम बढी भयो । रामपुरलगायतका महिला साथीहरु पटक–पटक अधिवेशनको नाममा आउनुपर्दा दिक्क भैसक्नुभएको थियो । रातको ११ बजिसकेको थियो । खाने–बस्ने ठेगान थिएन त्यसबेलासम्म । 

बैचारिक संगठनसंग नजोडिइकनै उम्मेदवारी दिएका आदिवासी जनजाति उम्मेदवार देव पचभैयाले चुनावमा जाने तर उम्मेदवारी नथुत्ने दृढता ब्यक्त गरे । केहीले चुनाव त्यहीदिन गरौं भन्ने, केहीले चैत्र २ वा ८ मा गर्ने भन्ने अनि केहीले कतिपटक आउने भन्ने कुरा चल्न थाल्यो । बाहिर पानी परेकाले चिसो बढेको थियो । सेतै फुलेका महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले चुनाव नगरौं म थुत्छु भन्न थाले । मैले तपाईंलाई देशभरका साथीले सम्मान गरेको अवस्थामा आफ्नै थलोमा थुताउनु ठीक हुन्न बरु म उम्मेदवारी फिर्ता लिन्छु भनें ।

वि.सं. २०५३ देखि २०५८ सम्म २ कार्यकाल पाल्पा शाखाको सभापति र संस्थापक सदस्य समेत भएको नाताले महासंघको चिन्ता म मा पनि थियो र छ । नाम फिर्ता लिने कुरा थाहा पाएर कतिपय शुभचिन्तकले त्यसो नगर्नु भन्दै राती फोन गरे पनि संस्थापक भएको नाताले महासंघ साझा थलो हो अनि सहमतिको सन्देशसमेत जाने हुनाले निर्णय गरें । निर्वाचन समितिलाई सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्न अवसर मिल्यो अनि महासंघमा समेट्नैपर्ने मिडियामा क्रियाशील केही साथी छुटे पनि चाहना गरेर उम्म्ेदवारी दिएका धेरैले अवसर प्राप्त गरे । चुनिएका सबैलाई बधाई दिँदै बाहिर रहेका साथीहरुको भावना अनुसार महासंघलाई कुनै दलको भातृसंस्था होइन पत्रकारहरुको साझा संस्थाको रुपमा अगाडि बढाउने काममा अध्यक्ष राजेशकुमार अर्याललगायत नेतृत्वमा रहेका साथीहरुको ध्यान पुगोस् भन्दै सफल कार्यकालको लागि शुभकामना दिन चाहन्छु । यसो हुन सकेमा मैले पनि चुनाव जितेको अनुभूति गर्नेछु । त“ कहा“ छस् र छाडिस् ? भन्ने सवालको जवाफ पनि त्यही हुनेछ । अन्त्यमा अशोकाफेलो तथा पत्रकार सोमनाथ अर्यालको शब्द टिप्न मन लाग्यो– ‘पत्रकार महासंघ पाल्पामा झैं अरु संस्थामा पनि बहुमत छ भन्दैमा कुनै एक पक्षले हालीमुहाली नगरी साझा संस्था बनाउने सिको गर्न आवश्यक छ ।’

सन्दर्भ पाल्पाको भए पनि यो सवाल देशभरका शाखा र केन्द्रसंग समेत जोडिएको छ । महासंघलाई पत्रकारहरुको विशुद्ध संस्था बनाउने भन्दा कुन दलनिकट पत्रकारहरुको प्लेटफर्म बनाउने ? भन्ने चिन्ताले धेरैको निद हराएको छ । कतै महासंघ दलहरुकै अर्को भातृसंघ नबनोस् भन्दा कतिले प्रतिवाद गर्दै भने–५० वर्ष बढी कांग्रेसनिकट पत्रकारहरुको महासंघ केन्द्रमा हालीमुहाली हुँदा किन शुद्धिकरण र समावेशीताको कुरा उठेन ? सवाल राजधानीमा बसेर देशभरका श्रमजीवीलाई दाइँ गर्ने नेता पत्रकारहरुकै जिम्मा छाडौं कि महासंघलाई कस्तो बनाउने ।

–गोविन्द भट्टराई

टिप्पणीहरू