अटेर गर्दा जेलको भतेर
समय र परिस्थितिअनुकूल चल्न सकेन, जानेन, मानेन भने मान्छेले कति दुःख पाउँछ भन्ने कुराको राम्रो नमूना बन्न पुगेका छन् बालकृष्ण ढुंगेल । रामेछापका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डमा मुछिएका उनलाई अदालतले २० वर्षको कैद तोके तापनि आठ वर्ष कैद भुक्तान गरिसकेको आधारमा रिहा गरिएको थियो । पुनरावेदन अदालत सगरमाथामा हुँदा वैद्यनाथ उपाध्याय श्रीमानले यही आधारमा उनलाई सफाइ पनि दिएका हुन् । सरकार उक्त फैसलाप्रति चित्त नबुझेर सर्वोच्च गएपछि ढुंगेलले वकिल नराखेर म्याद गुजारे । जसले गर्दा मुद्दाको एकतर्फी सुनुवाइ र फैसला हुन पुग्यो । बाँकी १२ वर्ष सर्वश्वसहित जेल बस्नुपर्ने भयो । सही, गलत जे भए पनि सर्वोच्चको आदेश त कानुन नै हो, कार्यान्वयन नभएसम्म त्यो टाउकोमाथिको तरबारझैं झुण्डिरहन्छ । सधैं तर्साइरहन्छ ।
बाबुराम सरकारले गरेको माफीमिनाहाको निर्णय राष्ट्रपतिले सदर नगरेपछि उल्टियो । अर्थात् उनले जेल नबसी नहुने अवस्था आइलाग्यो । चालिस प्रतिशत कैद भुक्तान गरेको आधारमा छुट्न सम्भव थियो । यसनिम्ति दुई÷तीन महिनाका लागि मात्र भए पनि जेल जानुपथ्र्यो । यस प्रकृतिको मुद्दा उनीमाथि मात्र होइन, केशव राईमाथि पनि छ । हठ कस्तो भने उनी एकदिन पनि जेल जान तयार भएनन्, उल्टो अदालतपीडित संघ खोल्न पुगे । ओली सरकारकै पालामा केही दिन जेल जान सझाउन खोज्ने पार्टी नेताहरु वर्षमान पुन, प्रचण्ड, बादल, गोपाल किराँतीलाई समेत धम्क्याउन बाँकी राखेनन् । हुँदाहुँदा खिलराजलाई मार्छु, सुशीला र कल्याणको फिला चिर्छु ।
अदालत खारेज गर्छु भन्दै रामेछाप पुगेर भाषण दिए । सोको भिडियो रेकर्ड हेरेपछि मात्र हो, सर्वोच्चले उनलाई एक हप्ताभित्र पक्रेर जेल हाल्न आदेश दिएको । सोहीअनुसार प्रहरीले देशभरका आफ्ना मातहत कार्यालयलाई जसरी पनि खोजेर समात्न निर्देशनसमेत दिइसकेको छ । अटेर र घमण्डले परिस्थिति कसरी बिग्रन्छ र मान्छेको हातबाट मौका कसरी गुम्छ भन्ने एउटा सानो उदाहरण मात्र हो यो ।
टिप्पणीहरू