माधव र वामदेवको कहाँ पुग्यो मिलन ?

माधव र वामदेवको कहाँ पुग्यो मिलन ?

कार्यदलका सदस्यसहित पुराना नेताहरुले साथ छाडे पनि माधव नेपाललाई वामदेव गौतमले साथ दिने भएकै हुन् त ? नयाँ अनुहारलाई लिएर नेकपा एमाले समाजवादी दर्ता गर्न गएका माधव नेपालको पार्टीमा बाहिर चर्चा र परिचर्चा भएझैं साँच्चै एमाले उपाध्यक्ष वामदेव गौतम एकाकार हुन लागेकै हुन् ?

विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउने अन्तिम तयारीमा लागेका माधव नेपाललाई साथ दिन लागेको खबर बाहिरियो हिजो । उहाँ नेतृत्वको एकता अभियानले पनि हिजै यसनिम्ति म्याण्डेट दियो तर गौतमका अनुसार माधव नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादीलाई आफ्नो पूर्ण समर्थन रहे पनि अहिल्यै सो पार्टीमा प्रवेश गरिहाल्ने बारे केही निर्णय भइसकेको छैन ।

निश्चय पनि केपी ओलीभन्दा माधव ठीक हुन् तर नयाँ पार्टीमा आफ्नो समूहको वैचारिक र राजनीतिक व्यवस्थापन कसरी गर्ने ? अगाडिको कार्यक्रम के हुन्छ ? ती तमाम बिषय तय हुन बाँकी नै रहेको र आफ्नो एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली,सांसदबाट मन्त्री बन्न नपाउने,विज्ञ मात्र मन्त्री बन्ने,पूर्ण सामानुपातिक निर्वाचन प्रणाली,व्यक्ति वा पार्टी निर्वाचनमा लड्ने,संघीयता,न्यायपालिका,संद परिमार्जन गर्ने,त्यसका हकमा के गर्ने ? निर्क्यौल भइनसकेको कारण आफू पर्ख र हेरको रणनीतिमा रहेको वामदेवले जनआस्थालाई सुनाउनुभयो ।

एमालेको नवौं महाधिवेशनबाट निर्वाचित भएका नेताहरुमा माधवकुमार नेपाल खेमाका भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली,रघुजी पन्त,बेदुराम भुसाल,घनश्याम भुसाल,भीम आचार्य,गोकर्ण बिष्ट,योगेश भट्टराई,सुरेन्द्र पाण्डेहरु एमालेभित्रै तेश्रो धार निर्माण गर्दैछन् ।

माधवको साथमा लागेका ९५ केन्द्रीय सदस्यको सूचि पल्टाउँदा वामदेव आफूले पनि मान्ने र वामदेवलाई पनि मान्ने मुकुन्द न्यौपाने,विरोध खतिवडा,राजेन्द्र पाण्डे लगायत छन् । पार्टीमा सात जना उपाध्यक्ष रहने भनिएको छ । संरचना कस्तो बन्ने ? टुंगिसकेको छैन ।

नयाँ पार्टीको डकुमेन्ट बनिनसकेको,विधान,घोषणापत्र हेर्न पाइनसकेको स्थितिमा सो पार्टीलाई आफ्नो समर्थन रहे पनि आज भोलि नै प्रवेश गरिहाल्ने भन्ने बाहिर चलेजस्तो चर्चा र परिचर्चामा सत्यता नभएको वामदेवको कथन छ ।

टिप्पणीहरू