कर्णेलले मच्चाउँछन् यत्तिका काण्ड
मेरो गण श्री बर्दबहादुर गण हाल सिन्धुली जिल्लामा तैनाथ रहँदै आएको छ । पूर्व गणपति प्रमुख सेनानी राजीव थापाद्वारा जवानहरुको काम, कर्तव्यभन्दा बाहिरको अव्यावहारिक र असान्दर्भिक ड्युटीमा खटाइएको सम्बन्धमा पटक–पटक सिलसिलेवार रिपोर्ट गर्दा पनि उल्टै गालीगलौज गर्ने र सल्लाह दिने व्यक्तिलाई मलाई सिकाउनु पर्दैन भनेर अपमान गर्दै पठाइयो ।
कार्यरथी कार्यालयमा पनि चिठी पठाउँदा त्यस सम्बन्धमा छानबिन हुनुको सट्टामा बेनामीको सुनुवाई नै नहुने भनी परिपत्र गराउने काम भयो । प्रधानसेनापतिसँग मेरो व्यक्तिगत सम्बन्ध छ भन्दै आफूखुशी गर्ने क्रमलाई निरन्तरता दिइरहनुभयो । अधिकृत साबहरुले समेत रिपोर्ट गर्न लाग्दालाग्दै कर्साबको सरुवा सैनिक सचिव विभागमा भएपछि यो विषय पुनः सेलायो । नयाँ प्रधानसेनापतिज्यूले पक्कै पनि यस विषयमा छानबिन गर्नुहुनेछ ।
कर्साबले चियाबारी बस्ने एक भगौडा सिपाहीको घरमा वर्षौंसम्म बंगुर हेर्न, भाँडा माझ्न, भात पकाउन चार–पाँच जना जवान खटाउने कहाँबाट आदेश आयो ? केका लागि खटाउनुभयो ? कतै आर्थिक प्रलोभन त थिएन ? एउटा कमाण्डरको हैसियतले कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै ब्यारेकभित्रको ठेक्कापट्टा पनि सुम्पिन भ्याउनुभयो ।
त्यो भगौडा सिपाहीले ओ सुवेदार मेजरसाब, ओ सुवेदार साब ! हवल्दार मेजर यहाँ आइज भन्ने आँट कहाँबाट आयो ? कोरोनाको मतलव नगरी प्रधानसेनापतिज्यूको नीतिविपरीत ठुल्ठूला पार्टी ब्यारेकभित्रै आयोजना गरिरहनुभयो । भगौडा सिपाही कि कर्णल हो, चिन्न गाह्रो बनाउनुभयो । यस्तो अवस्थामा सिपाहीहरुको मोरल कस्तो हुन्छ ? छानबिन होस् श्रीमान !
स्याङ्तान थर भएकी महिला सिपाही र अन्यलाई पनि आवश्यकताअनुसार टेम्पोमा राखी चियाबारीमा फस्नुभयो । स्थानीय गाउँलेहरुले थाहा पाई रिपोर्ट गर्न लाग्दा रोक्न उहाँ सफल हुनुभयो (महिलाको इज्जतका लागि नाम नखुलाइएको) ।
ब्यारेकभित्रको आवश्यकता देखाई गैरकानुनी रुपमा थुप्रै सल्लाका रुखहरु काटेर फर्निचर बनाइयो । ती फर्निचरहरु खै त ? कति काट्नुभयो, कति हिनामिना भए ? कार्पेन्टरलाई बोलाएर सोध्दा प्रष्ट हुन्छ । राजनीतिक कार्यक्रममा सहभागिता जनाइराख्नुभयो । पुरानो पल्टन हो, हामीलाई पनि थाहा छ । सानोतिनो कुराको पुरानो पल्टनमा रिपोर्ट नै हुँदैन र हुनुहुँदैन । सहनै नसक्ने, अति नै भएपछि मैले लिखित रिपोर्ट गरेको हुँ ।
आफूमात्र जान्नेसुन्ने भन्ने भावना सेनामा प्यानलको कुरा निकाल्ने, साथै गणको इज्जत र जवानहरुप्रतिको हेराईलाई समयमै सच्याउन सकिएन भने त्यसको असर कालान्तरसम्म पनि हामीजस्तै जवानहरुलाई परिरहने महसुस गरी यो रिपोर्ट श्रीमानसमक्ष पेस गरेको छु । छानबिनको क्रममा अरु धेरै आर्थिक, यौन दूराचारलगायत अन्य गतिविधि बाहिर आउने नै छ श्रीमान् !
टिप्पणीहरू