पार्टी दर्ता भएलगत्तै माधव नेपालले राष्ट्रिय भेला गर्ने,एमाले कब्जामा पुगेपछि बिद्रोह बाध्यता भएको दाबी
एमालेबाट बिद्रोह गरी नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको प्रक्रियामा रहनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिट्टै राष्ट्रिय सम्मेलन गर्ने बताउनुभएको छ । उहाँले पार्टी दर्ता प्रक्रिया सम्पन्न भएलगत्तै राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने पनि जानकारी गराउनुभएको छ ।
प्रस्तावित एकीकृत समाजवादीका संयोजक रहनुभएका नेपालले हाललाई साविक एमालेको केन्द्रीय कमिटीमा रहेर विद्रोहको पक्षमा हस्ताक्षर गरेका,प्रतिनिधिसभाका सांसद तथा बैधानिक प्रावधान अनुसार पुर्याउनुपर्ने महिला सदस्यहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेको पनि जानकारी दिनुभएको छ। अहिले समावेश नभएका अनुभवी एवम् योग्यहरुलाई समेटेर राष्ट्रिय सम्मेलनमार्फत केन्द्रीय कमिटीले पूर्णता पाउने उहाँको भनाइ छ ।
‘हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ ज्येष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रोतर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु,संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधानअनुसार पुर्याउनुपर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ’,नेपालले भन्नुभएको छ, ‘हाम्रो दर्ता प्रक्रिया बैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौँ ।’
संयोजक नेपालले एकताका सबै ढोका बन्द गरेर एमाले अध्यक्ष केपी ओलीले पार्टी कब्जा गरेपछि बाध्य भएर विद्रोह गर्नुपरेको पनि बताउनुभएको छ । ‘हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं’, उहाँले भन्नुभएको छ।
नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलनमार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि उहाँले जनताको सकारात्मक सहयोगको अपेक्षासमेत गर्नुभएको छ ।
टिप्पणीहरू