आज देशभर गाईजात्रा मनाईंदै
दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व आज देशभर मनाइँदै छ । गाईजात्रा विशेषगरी नेवार समुदायको ठूलो पर्व हो । आजका दिन गाई वा मानिसलाई सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गरिन्छ ।
मानिसलाई गाईको रुपमा सिँगारेर सहर,बजार वा आफ्नो क्षेत्रमा परिक्रमा गराउनाले एक वर्षसम्म दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै तर्न सक्ने धार्मिक मान्यता रही आएको छ ।
राजा प्रताप मल्लले पुत्र मृत्युको शोकमा भावविह्ल भएकी रानीलाई सम्झाउनका लागि जनतालाई आ–आफ्नो घरबाट गाईजात्रा निकाल्न आदेश दिएपछि यो पर्वको प्रचलन भएको हो ।
कोरोना महामारीका कारण यस वर्षको गाईजात्रा पर्व पनि स्वास्थ्य मापदण्ड पालना र सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जिल्ला प्रशासनले सबैमा अपिल गरेको छ । उपत्यकाका काठमाडौं,ललितपुर र भक्तपुर जिल्लासहित नेवार समुदायको बाहुल्य रहेका देशका विभिन्न स्थानमा गाईजात्रा मनाइन्छ ।
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने मुलुकभरका नेवार समुदायलाई पनि बिदा दिने निर्णय सरकारको छ ।
टिप्पणीहरू