काँग्रेस नेता डा.शेखर कोइरालाको आशंका ‘क्रियाशील सदस्यको सूचीमा मेरो नाम छ कि छैन ?’
नेपाली काँग्रेसको क्रियाशील सदस्यताको वितरणमा देखिएको किचलोले उग्र रुप लिन थालेको छ । झण्डै डेढ महिनादेखि बारा र धनुषाका काँग्रेसीहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना र अनसन बस्दै आएका छन् । आज काँग्रेसको काभ्रेपलाञ्चोक जिल्ला सभापति मधु आचार्यले माग पूरा नभए भोलिदेखि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
आज आचार्यसहितको उपस्थितिमा भएको धर्ना दिउँसो सवा १ बजेसम्म भएको थियो । त्यसक्रममा पार्टी कार्यालय पुगेका नेताहरुले धर्ना र अनसनकारीको मागमा ऐक्यबद्धता जनाएका छन् । उनीहरुलाई सम्बोधन गर्दै नेता अर्जुननरसिंह केसीले क्रियाशील सदस्यता प्रदान गरिएका सम्पूर्ण कार्यकर्ताको नामावली सार्वजनिक गर्न माग गर्नुभएको हो ।
आन्दोलनकारीप्रति ऐक्यबद्धता जनाउँदै उहाँले क्रियाशिल सदस्यहरुको सूची जिल्ला सभापतिहरुले हेर्न नपाउनु कस्तो विडम्वना हो ? भनेर प्रश्न गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै अर्का नेता शेखर कोइरालाले क्रियाशील सदस्यको सूची अविलम्ब सार्वजनिक गर्न माग गर्दै भन्नुभयो, ‘मेरो नाम पनि छ कि छैन थाहा हुनुपर्यो ।’
त्यसैगरी युवा नेता गगन थापाले मुलुकमा विधिको शासनको निम्ति संघर्ष गर्ने पार्टीले आफ्नै विधानअनुरुप कार्य नगर्नु दुःखद् भएको बताउनुभएको छ । क्रियाशील सदस्यहरुको सूची तत्काल सार्वजनिक गर्न माग गर्दै उहाँले भन्नुभयो, ‘महाधिवेशनको अन्तिम घडीमा क्रियाशील सदस्यबारेको विवाद कायम रहनु सबैभन्दा दुःखद् हो ।’
टिप्पणीहरू