सम्धिनीका लागि फेरिएको स्वाद

सेलिब्रेटी ज्वाइँका ससुुरा न परे । ज्वाइँभन्दा उनी पनि के कम ! कहिले संसद्मा खैनी च्यापेर तहल्का मच्चाए, कहिले घरमै सेनाको सलामी खाएर बजार पिटे । कहिले अदालतले अपराधी करार गरेका व्यक्तिलाई पिए बनाएर विवादमा तानिए ।

तिनै नुवाकोटे मन्त्री अर्जुननरसिंह केसी यो साता दुईवटा कारण चर्चित रहे । कांग्रेसनिकटकै कलाकर्मी संघका दिलबहादुर गुरुङसँग आधा करोड मागेको प्रसंग सेलाउन नपाउँदै त्यही संघमा आबद्ध सम्धीनी सुष्मा कार्कीलाई तीनवर्षे कार्यकालका लागि अधिकार सम्पन्न एकीकृत वाग्मती परियोजनामा नियुक्त गर्न भ्याएका छन् । यसअघि मन्त्रालयमा बसेर सरुवा–बढुवाको काम सम्हाल्दै आएकी सम्धीनीलाई ९ जेठमा मन्त्रीस्तरको निर्णयबाट अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिमा नियुक्ति दिलाएका हुन् ।  

उता, ज्वाइँ मन्त्रीको चलखेल बेग्लै छ । सदाचार र नियको बखान गरेर कहिल्यै नथाक्ने गगन थापाले नियम–कानुन मिच्दै धमाधम नियुक्ति गरिरहेका छन् । एकातिर सरकार कामचलाउ छ, अर्काेतिर निर्वाचन आचारसंहिताको बर्खिलाप हुनेगरी विभिन्न स्वास्थ्य प्रतिष्ठानमा आफ्ना अनुकूलका मान्छे भटाभट नियुक्ति गर्न भ्याएका छन् । गगनले केही व्यापारीका स्वार्थपूर्ति हुने गरी धमाधम नियुक्ति दिन थालेका छन् । अहिले गगन थापालाई यसरी फनफनी घुमाइदिने व्यक्ति हुन् रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्य ।

आचार्य पूर्वविज्ञान राज्यमन्त्री रामकृष्ण आचार्यका छोरा हुन् । ए ग्रेडको निर्माण कम्पनी चलाइरहेका मोहन र गगन स्कुले जीवनका सहपाठी । उनीहरू दुबैले वनस्थलीस्थित सिद्धार्थ वनस्थली स्कुलमा सँगै पढे । आफ्नै सहपाठी मन्त्री भएको फाइदा उठाउँदै थापाले आचार्यले रुचाएका व्यक्तिलाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफूनिकटलाई नियुक्ति दिने तयारी गरिरहेका छन् । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माणको ठेक्का उनै गगनका सहपाठी मोहन आचार्यका रसुवा कन्ट्रक्सनले पाएको छ । 

कांग्रेस माओवादी उपकुलपति भागबन्डा लगाइँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान माओवादीको कोटामा परेको थियो । त्यहाँ डा. राजेन्द्र वाग्लेलाई  उपकुलपति बनाइयो । उनी चिरञ्जीवी वाग्लेका भाइ हुन् । तर, अहिले उनै वाग्लेका कारण त्यहाँको रजिस्ट्रार नियुक्तिमा गलफत्ती मच्चाइरहेका छन् । उनीसँग करोडौं असुलेर उपकुलपति बनाइएको थियो । गगनहरू त्यहाँको रजिस्ट्रारका रूपमा विश्वराज काफ्लेलाई लैजान खोजिरहेका छन् । तर, उनको नाममा चिरञ्जीवीहरूले आपत्ति जनाएका छन् ।

यसअघि धरान रेडियोलोजी विभागमा कार्यरत डा. राजकुमार रौनियारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बनाइएको छ । गगनहरूले बिपी कोइरालाको निर्देशकमा डा. गौरीशंकर साहलाई लैजान खोजिरहेका छन । साह यसअघि बालरोग विभागको विभागीय प्रमुख हुँदै कारबाहीमा परेर बर्खास्त भएका व्यक्ति हुन् । त्यहाँको रजिस्टार नियुक्त गर्न खोज्दा उपकुलपति रौनियारले हाकाहाकी नै ‘अस्ति मैले त्यत्रो पैसा खर्च गरेको हुँ, मैले भनेको मान्छे रजिस्टार नियुक्ति गर्न पाउनुप¥यो नत्र कसरी लाइन मिल्छ ?’ भन्दै जवाफ फर्काउने गरेका छन् । यता, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्काे रमाइलो छ, भागबन्डा हुँदा कांग्रेसको कोटामा थियो । त्यहाँ डा. भरत यादवलाई उपकुलपति बनाइएपछि कांग्रेसी वृत्तमा रोइलो मच्चिएको छ । यही तथ्यबाट उजागर हुन्छ गगनको देखाउने दाँत एउटा, चपाउने अर्कै ! 

टिप्पणीहरू