राजाले त्यस्तो के रोकेछन् ?

गाई र हलोको विवाद अझै हल नभएको मात्र होइन कि, यही कारण केही दिनमै राप्रपाको संसदीय दल फेरि चोइटियो भने अचम्म मान्नु नपर्ने भएको छ । पहिलो चरणको स्थानीय निर्वाचनपूर्व अध्यक्ष कमल थापा चुनाव खर्च जोहो गर्न पशुपतिसमशेरकहाँ पुगेका थिए ।

खाँचो थियो, दुई करोडको । पशुपतिले त्यतिबेलै भनेका थिए, ‘हलो चिह्न नलिएको कारण हाम्रो हार हुँदै छ । हार्ने चुनावका लागि किन पैसा दिने ?’ र, दिएनन् पनि । यसपछि विभिन्न दाताबाट संकलन गरिएको रकमबाट राप्रपाले जिल्ला समिति अध्यक्षमार्फत रकम पठायो । एक निर्वाचन क्षेत्र भएको जिल्लामा ५० हजार, दुई क्षेत्र भएकोमा एक लाख, तीन क्षेत्र भएकोमा डेढ र चार क्षेत्र भएकोमा दुई लाखका दरले रकम पठाइएको थियो । तर, यति गर्दा पनि उम्मेदवारहरू पैसा पुगेन भन्दै कोषाध्यक्ष उद्धव पौडेललाई हैरान खेलाइरहेका थिए । 

निर्वाचनपछि कार्यसम्पादन समितिको बैठकमा कमल थापाले पूर्वराजाबाट सहयोग नपाएको गुनासो राखे । भने, ‘हामीलाई दुःख दिए । पार्टी पनि उनैले फुटाए । सहयोग गरेनन्, पैसा पनि दिएनन् ।’ तर, पशुपतिसमशेरले कमलको कुरा अस्वीकार गर्दै चुनाव हार्नुको कारण अन्यत्र खोजेर नहुने, हलो चिह्न नलिनुबाहेकका कारणतिर नजाऔँ भने । उनको जिकिर थियो, तमलोपाको हलगोरुतिर धेरै भोट गयो । हलो भएको भए त्यस्तो हुँदैनथ्यो । यसरी विवाद चुलिँदै गएपछि पशुपतिसमशेर अहिले संसदमा रहेका आफू निकटस्थ सांसदहरूसँग नियमित भेटघाटमा छन् । संसदीय दलमा ४० प्रतिशत सदस्य पु¥याएर अर्को पार्टीको दर्ताको तयारीमा उनी लागेको राप्रपाबृत्तमा चर्चा छ । पहिले उनका तर बीचमा कमल थापातिर लागेका विक्रम पाण्डे, दीपक बोहोरा, सुनील थापाहरू अहिले पशुपतिसमशेरसँग नजिक रहेको स्रोतले जनाएको छ । 

टिप्पणीहरू