सेनापति छान्न घरदैलो,आज शशी भवनमा रात्रिभोज

सेनापति छान्न घरदैलो,आज शशी भवनमा रात्रिभोज
सुन्नुहोस्

भदौ २४ पछिलाई नयाँ प्रधानसेनापतिको रुपमा अघि सारिएका रथी अशोकराज सिग्देलको विवादित जन्ममितिसम्वन्धी समस्या तत्काल सल्टाउन आर्मी चिफ प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले हिजो नेताहरुकोमा घर दैलो गरेका छन् । शनिवारको बिदा र असार १५ को दिन पनि दुई जना लञ्च अघिसम्म भेटघाटमा व्यस्त भएको स्रोतको दाबी छ ।

जन्ममितिको सम्बन्धमा घर घरमा गएर नेताहरुलाई ‘कन्भिन्स’ को प्रयास गरिएको बुझिएको छ । हिजो बिहान शशी भवनबाट सेनापति पहिले रक्षा सचिवलाई भेट्न गाडी लिएर निस्केको र त्यसपछि दुबैजना प्राइभेट नम्बर प्लेटको गाडीमा चलायमान भएको बताइन्छ । प्रधानसेनापति शर्माले सिग्देलको जन्ममिति र दोहोरो नगारिकताबारेमा बनाइएको एउटा ड्राफ्ट रक्षा मन्त्री हरि उप्रेतीको हातमा दिन लागेको स्रोतको दाबी छ । उक्त विषयमा संसदमा प्रश्न उठेकाले जवाफ दिन सजिलो हुने भन्दै ‘स्पिच नोट’ बनाइएको हो ।

रक्षामन्त्री निकट स्रोत भन्छ, ‘अरुको गल्तीको साक्षी उहाँ किन बस्नुहोला र ?’

यता रक्षा सचिव शर्मा स्वयमलाई अमेरिकी ग्रिनकार्डको लफडाले इन्तु न चिन्तु बनाइदिएको छ । समकालीन सचिवहरुले ‘शक्तिको पुजारी’ भन्ने विशेषण भिराइदिएकाले उनी मन्त्रीको सिग्नल बिना केही गर्न सक्ने हालतमा छैनन् ।

तर,सेना प्रमुखको इशारामा काम फत्ते गराउन लेफ्टिनेन्ट कर्नेल सुदिप अर्यालको प्रयास भने जारी देखिन्छ ।  अर्यालकै रोडम्यापमा हिजो चिफ र सचिव बिहान नेताहरुको घरमा पुगेको बताइन्छ ।

रक्षा मन्त्रालय र जंगी अड्डाबीच लियाजो अफिसरको भूमिकामा रहेका उनको राजधानीका सबैजसो ठूला व्यापारीसँग विशेष सम्बन्ध छ भनिन्छ । त्यही सम्बन्धलाई आगामी चिफको नियुक्तिमा प्रयोग गर्न खोजिएको अनुमान धेरैको छ । अरु नेतालाई भेटे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने भेटघाट हुने क्रममै रहेको स्रोतको दाबी छ । 

यसबीच धेरैजसो भूपू रक्षामन्त्रीलाई निम्तो गर्दै प्रधान सेनापतिको सरकारी निवास शशी भवनमा आज साँझ डिनर राखिएको छ । रक्षामन्त्री उप्रेती,पूर्व रक्षामन्त्री पूर्णबहादुर खड्का,रक्षा सचिव शर्मा, मधेशवादी दलका नेताहरु निम्तोमा सहभागी हुनसक्छन् । आजको डिनर असार १५ को उपलक्ष्य भन्ने नाम पनि दिने कोशिश हुनसक्छ ।

टिप्पणीहरू