सबै १ नम्बर अमेरिकामा,दुई नम्बर भटाभट मान्छे समात्नमा

सबै १ नम्बर अमेरिकामा,दुई नम्बर भटाभट मान्छे समात्नमा

नेपाल प्रहरीले अस्ति साँझ एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधान र गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकलाई नियन्त्रणमा लियो । लगत्तै अर्का फरार अभियुक्त बेचन झा पनि समातिए । उनीहरु दुबैलाई राजधानीको बौद्ध र कपनबाट पक्रिएको प्रहरीको भनाई छ । 

तर,वास्तविकतामा भने उनीहरु दुबैलाई भारतमा लुकिछिपी बसेको अवस्थामा पक्रेर नेपाल ल्याइएको हो । झालाई कञ्चनपुरको गड्डाचौकीमा नेपाल प्रहरीले औपचारिक रुपमा बुझेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका डेढ दर्जनमध्ये यी पनि फरार थिए । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा काँग्रेस नेतृ डा.आरजूसहित एमाले अध्यक्षलाई भेट्न हिजो दिउँसो अकस्मात बालकोट पुगेपछि थापा र झाको पक्राउ र भुटानी शरणार्थी प्रकरणसँग जोडेर त्यो भेटलाई लिन थालिएको छ ।

तर,गृह मन्त्रालय स्रोतले हिजोको उक्त भेटघाट र अस्ति बेलुकीको पक्राउ आकस्मिक संयोगमात्रै भएको बताएको छ । फरार अभियुक्त पक्रने अभियानअन्तर्गत प्रहरीहरु परिचालन भएको मन्त्रालयका एक जना अधिकारीले बताए । यतिखेर कार्यवाहक प्रहरी प्रमुखमा एआइजी दिपक थापा छन् भने निमित्त गृह सचिव झक्कप्रसाद आचार्य । उता सशस्त्र प्रहरीमा भने नारायण पौडेलले निमित्तको जिम्मेवारी पाएका छन् । 

सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजी बसन्त कुँवर र सशस्त्र प्रमुख राजु अर्याल गत सातादेखि अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले आयोजना गरेको कार्यक्रममा सहभागी छन् । उनीहरु पर्सि मंगलबार काठमाडौं आइपुग्ने भ्रमण तालिका छ ।

यसबीच प्रहरीले काठमाडौं, वीरगञ्ज,बारा, बिराटनगरबाट फरार अभियुक्तलाई भटाभट समातेको छ । बिहीबार कार्यवाहक आइजीले ७७ जिल्लाका प्रहरी प्रमुख, डिआइजी,एआइजी सबैलाई गरेको भर्चुअल सम्बोधनमा प्राकृतिक विपद् र यसको उद्धारमा विशेष ध्यान दिन आग्रह गरेको बताइन्छ । उनले फरार अभियुक्तलाई पक्रन तत्काल प्रहरी परिचालनका लागि कडा निर्देशन दिएको एक जना डिआइजीले जानकारी दिए ।

भर्चुअल सम्बोधनमा प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउन, तस्करी नियन्त्रण गर्न भनिएको थियो । सात दिनभित्र जिल्लाको दुरुस्त डाटा दिन कार्यवाहक आइजीको निर्देशन पाएपछि प्रहरी सबैतिर परिचालन भएको हो । एक जना एसएसपी भन्छन्, ‘आवश्यक रुपमा प्रहरी परिचालन गर्नु,केही परे रिपोर्ट गर्नु म डिफेन्स गर्छु भन्नुभयो । त्यसपछि प्रहरी परिचालित भएको हो ।’

झाविरुद्धको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको म्याद तामेली नभएकाले आज प्रहरीले ठगीमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराएको छ । त्यसैगरी लालिगुराँस सहकारीका सिईओ सुरेन्द्र भण्डारीसहित चार जनाको म्याद थपिएको छ । 

तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पछिल्लो समय त्यति सक्रिय भएको देखिँदैन । पनौतीस्थित पतञ्जली योगपीठको जग्गा अनुसन्धान र यसअघिको ६० किलो सुन काण्डमा मात्रै सिआइबी केन्द्रित भएको बताइन्छ । 

नेपाल प्रहरीको पछिल्लो प्राथमिकताअन्तर्गत अभियुक्त पक्राउ पर्ने क्रममा बाराका क्याम्पस प्रमुखलाई गोली हानेर भारत पुगेका व्यक्तिलाई पक्रन भारतीय प्रहरीसँग समन्वय गरिएको बुझिएको छ । गोली हानेर फरार ती व्यक्ति पटनामा छन् । 

त्यसैगरी वीरगञ्जका दुई जनालाई केही महिनाअघि १० गजा पारी लगेर मारी गाडिएको थियो । ती शवको अवशेष नेपाल ल्याइएको छ । यता ललितपुरको भैंसेपाटीस्थित  गोकुल आवासमा भएको खुकुरी प्रहारको घटनामा संलग्नलाई प्रहरीले पहिचान गरिसकेको छ ।

टिप्पणीहरू