आरजू म्याडमका खातिर सरकारै जिम्मा ?

आरजू म्याडमका खातिर सरकारै जिम्मा ?
सुन्नुहोस्

मुलुकको सबैभन्दा ठूलो पार्टीको प्रमुख र प्रमुख प्रतिपक्ष दलको नेताले सत्तापक्षीय दलका अध्यक्षसँग भेट गर्नुलाई अस्वभाविक मानिंदैन । तर, पर्दापछाडिबाट सत्ताको चलखेल हुने गरेको नेपाली राजनीतिमा भने नेताहरुबीचका भेटघाट संधै शंकाको घेरामा पर्ने गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेट पनि यतिबेला चर्चामा छ । कांग्रेस र एमाले दुबैतिरका एकथरी नेताहरु लामो समयदेखि दुई पार्टीबीचको सत्ता सहकार्यलाई लिएर भित्रभित्रै सक्रिय रहँदै आएका थिए । संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्ने शर्तमा 'सरकारमा सहकार्य गरौँ' भन्ने तहसम्म कुराकानी चलिरहेको थियो ।

तर,हिजो अचानक देउवा दम्पत्ति दौडिएर बालकोट पुगेपछि राजनीतिक वृत्तमा तरंग फैलिएको छ । खासगरी माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ओली-देउवा भेटलाई लिएर सशंकित छन् । तर,जुन परिस्थितिमा देउवा दौडिएर बालकोट पुगे,त्यसको भित्री करण भने सरकार हेरफेरको विषय नभई अर्कै कारण मुख्य रहेको विभिन्न स्रोतहरुले दाबी गरेका छन् । बताइएअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र बेचन झा शुक्रबार पक्राउ परेपछिको विकसित घटनाक्रम हो, ओली-देउवा भेट।

नेपालदेखि भारतसम्म शक्ति केन्द्रलाई प्रभावमा पार्न सक्ने बेचन पक्राउले देउवा दम्पत्तिमा बेचैनी बढेको र सम्भावित खतरा टार्न बालकोट पुगेको कांग्रेस स्रोतको दाबी छ । 'बादलका छोराभन्दा पनि बेचन पक्राउ परेपछि अब उपल्लो तहसम्म हान्छ भन्ने बुझाइका साथ उहाँहरु दौडिएर बालकोट गएको बुझिन्छ', स्रोत भन्छ, 'भेटमा राजनीतिक कुराकानी त हुने नै भयो,तर मूल विषय चैँ भुटानी काण्ड नै हो !' नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरुले बेचनको नाममा करोडौंको चेक काटेर दिएको प्रमाण भेटिएपछि प्रहरीको खोजीमा रहेका बेचन शक्ति केन्द्रलाई प्रभावमा पार्नसक्ने व्यक्ति हुन् । नेपाल र भारत दुई देशको नागरिकता लिएका उनको आरजूसँग निरन्तर संवाद हुने गरेको प्रहरीले पत्ता लगाएको छ । त्यसकारण उनले प्रहरीमा बयान दिँदा आरजूको नाम पोल्ने सम्भावना रहेको र त्यसले अप्ठेरो पार्ने बुझाइका साथ देउवा दम्पत्ति हस्याङ्गफ़स्याङ्ग गर्दै बालकोट पुगेको स्रोतहरुको दाबी छ ।

"रवि लामिछानेसँग कांग्रेसको सम्बन्ध बिग्रिएको अवस्था र अहिले गृहको रिमोट बालकोटमा रहेको बुझाइले 'खेतालासँग किन कुरा गर्ने मालिकसँगै गर्ने' भनेर श्रीमतीसँगै देउवा कुदेर बालकोट गएको बताइन्छ । "
 

उक्त भेटबारे जानकार स्रोतले बताएअनुसार देउवाले ओलीलाई मिलेर सरकार चलाउने प्रस्ताव पनि गरेका छन् । कांग्रेस-एमालेको मात्र सरकार बनाउन खोजेको अर्थ नलाग्ने गरी 'राष्ट्रिय सरकार' को मोडल अघि सारिएको बताइन्छ । देउवाको प्रस्तावअनुसार त्यस्तो सरकारको प्रधानमन्त्री ओली बन्ने छन् भने माओवादी,एकीकृत समाजवादीलगायतका पार्टीलाई सरकारमा सहभागी हुन उनले नै आह्वान गर्ने छन् । तर, मूल छलफल चै बेचन झा प्रक्राउमै केन्द्रित रहेको स्रोत बताउँछ । गृहमन्त्री रवि लामिछानेसँग कांग्रेसको सम्बन्ध बिग्रिएको अवस्था र अहिले गृहको रिमोट बालकोटमा रहेको बुझाइले 'खेतालासँग किन कुरा गर्ने मालिकसँगै गर्ने' भनेर श्रीमतीसँगै देउवा कुदेर बालकोट गएको बताइन्छ ।

काँग्रेसका एकजना उच्च तहका नेताले भने, 'एउटा निश्चित उद्धेश्यका लागि हो भने सरकार परिवर्तन गरौँ,नत्र सरकार बनाउने र गिराउने खेलमा लाग्नुको अर्थ छैन भन्ने मेरो दृष्टिकोण रहँदै आएको छ । तर, अहिले जुन ढंगले अप्रत्यासितरुपमा घटनाक्रम विकसित भएको छ, त्यसमा सरकारको कुराभन्दा अरु नै खेल हो भन्ने बुझिन्छ ! बाँकी खोजबिन तपाईंहरु नै गर्नुहोला !' सभापति देउवाले पत्नी आरजू नसमातिने शर्तमा सबै राजनीतिक अडान र संसदीय मूल्य मान्यतासमेत छोड्ने चिन्ता ती नेताले व्यक्त गरे ।

टिप्पणीहरू