ब्रेस्ट फिडिङ कि बोटल फिडिङ
– वैकुण्ठ ढकाल
ठ्याक्कै दुई वर्ष पुगेकै दिन छोराले दूध छाड्यो । ‘बाबु, मामुको बुबुुमा घाउ भएको छ, अब नखाऊ ल !’ आफूलाई निकै माया गर्ने मामुको स्तनमा घाउ भएको सुनेपछि छोराले पनि दूध छाड्यो । केही दिन निद्रामै मामु, बुबु खाने भने पनि त्यसपछिका रातमा शान्त भएर निदायो । दूध खाने बानी रहँदासम्म रातको कैयौं पटक मामुलाई हैरान पार्ने बच्चा दूध छाडेपछि ९–१० घण्टा आरामले निदाउन थाल्यो ।
कान्छो छोराले दुई वर्षभन्दा केही दिन बढी मामुको दूध खायो । यही विषयमा कहिलेकाहीं जेठोले प्रश्न उठायो आफू र भाइबीचमा फरक व्यवहार गरेको भनेर । ‘मलाईचाहिँ दुई वर्ष पुगेपछि एक दिन पनि बढी दूध खुवाउनु भएन, भाइलाई भने यत्ति दिन बढी दूध खुवाउनुभयो । यो त सिधै भेदभाव भयो है मामु !’ जवाफमा छोराकी मामु मुसुक्क हाँसिदिन्थिन् अनि छोरोको मुख बन्द हुन्थ्यो । दिनभर घरधन्दा जागीरले लखतरान भएर ओछ्यानमा पल्टेको आमालाई बच्चोले बारम्बार दूध खाने भनेर पिराउँदा साँच्चै निकै कठिन हुन्थ्यो होला । फेरि सन्तानलाई स्तनपान गराउँदा पाइने सुखानुभूति र सन्तुष्टिले ती सबै दुःख दूर गराउँथ्यो । स्तनपानलाई सन्तान प्राप्तिपछिको दोस्रो सन्तुष्टिका रूपमा लिने गरेकी छन्, मेरा दुई छोराकी आमाले । दुई वर्षभन्दा धेरै समय एक दिन पनि आमाछोरा अलग भएनन् । स्तनपान पनि कुनै दिन छुटेन ।
तत्कालीन माओवादीले थालेको ‘जनयुद्धको’ समय दुई लडाकुले पार्टीकै सहमति र अनुमतिमा विवाह गरे । संयोगवश त्यहीबीच पहिलो सन्तानको पनि जन्म भयो । सन्तानलाई परिवारको जिम्मा लगाएर उनीहरू भूमिगत भए । सन्तान त जन्माएँ तर मातृत्वको अनुभव गर्न पाइन भनेर ती पूर्वलडाकुले दोस्रो सन्तान जन्माइन् । किन दोस्रो सन्तान भन्ने प्रश्नको जवाफमा मातृत्वको पूर्ण अनुभूतिको लागि भनेर जवाफ दिएकी थिइन् । अहिले पनि कहिलेकाहीँ ती लडाकु छोरीलाई डो¥याएर जागिर खान हिँडेको देख्छु । आमा, छोरी हात समाएर हिँड्दा दुबैको ओंठमा मुस्कान फर्किरहेको टाढाबाटै देखेर आल्हादित हुन्छु ।
एक पूर्वसहकर्मीलाई चियागफको क्रममा आफ्नो गर्भावस्था र मातृत्वको अनुभूति भन्न आग्रह गरें । उनले कुनै अनूभूति गर्नै नपाएको बताइन् । कारण बुझें प्रेग्नेन्सी थाइराइडका कारण सिजरिङ सेक्सनबाट बच्चा जन्माउनुपरेको र स्तनपान गराउन नपाएको भन्दै दुःख व्यक्त गरिन् । त्यसको लागि दोस्रो पटक आमा बन्न प्रतीक्षारत रहेको बताइन् । यत्तिको भूमिका बाँध्नुको कारण खास प्रसंग जोड्नलाई हो । अहिले स्तनपान सप्ताह चलिरहेको छ । प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वबारे जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरूको स्तनपान गर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउनु हो ।
आमाको दूधले आमा र बच्चामा गर्ने अनगिन्ती फाइदालाई बुझेर सन् १९९२ अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । सन् २०१६ पछि त स्तनपानलाई दिगो विकास लक्ष्यसँग जोडेर हेर्न थालिएको छ । दिगो विकास लक्ष्यमा उल्लेखित सम्पूर्ण १७ वटै लक्ष्य प्राप्त गर्नमा स्तनपानको ठूलो महत्व रहेको कुरालाई अंगीकार गर्दै सन् २०१८ मा विश्व स्वास्थ्य सभाले विश्व स्तनपान सप्ताहलाई स्तनपान प्रवद्र्धन गर्ने एक रणनीतिको रूपमा अंगीकार गरेको थियो । जन्मनासाथ एक घण्टाभित्रै शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर दूध (स्तन) चुसाउन शुरु गरी २४सै घण्टा शिशुको चाहनाअनुसार अरू कुनै पनि पदार्थ नमिसाई ६ महिनासम्म प्रचुर मात्रामा र कम्तीमा दुई वर्षसम्म नछुटाई दूध चुसाउनु नै स्तनपान हो ।
विश्वभरिका ४३ प्रतिशत शिशुले मात्र जन्मेको एक घण्टाभित्र आमाको स्तनपान गर्दछन् भने ४१ प्रतिशतले ६ महिनासम्म प्रचुर मात्रामा स्तनपान गर्न पाएका छन् । जम्मा ७० प्रतिशत आमाले एक घण्टाभित्र तथा तीमध्ये ४५ प्रतिशतले मात्र दुई वर्षसम्म स्तनपान गराउँछन् । स्वास्थ्य सेवा विभागको ०७५/७६ को प्रतिवेदनअनुसार नेपालका ३३ प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन् । भर्खर जन्मेका शिशु ११ प्रतिशतभन्दा बढी, ११ महिनासम्मका ३ प्रतिशत र १२ देखि २३ महिनासम्मका झण्डै ६ प्रतिशत शिशु कम तौल (दुई किलो ५०० ग्रामभन्दा कम) भएका जन्मन्छन् । ४६ प्रतिशत प्रजनन उमेरका गर्भवतीमा रक्तअल्पता पाइएको छ भने झण्डै ४४ प्रतिशतजति १५ देखि १९ वर्ष उमेरका किशोरीमा रक्तअल्पता पाइएको छ । सन् २०२५ सम्म जन्मेदेखि ६ महिनासम्मका कम्तीमा ५० प्रतिशत शिशुले प्रचुर मात्रामा स्तनपान गर्न पाउने लक्ष्य राखिएको छ ।
स्तनपानको असीमित महत्व हुने भए पनि विश्वमा ६ महिनाभन्दा कम उमेरका बालबालिकामध्ये जम्मा ३८ प्रतिशतले मात्र पूर्ण स्तनपान गरेको तथ्यांक छ । नेपालमा भने ६२ प्रतिशत आमाले आफ्ना बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराएको पाइएको छ । आश्चर्यलाग्दो कुरा, तुलनात्मक रूपमा शिक्षित आमाहरू बस्ने बागमती प्रदेशमा सबैभन्दा कम करिब ५१ प्रतिशत आमाहरूले मात्र पूर्ण स्तनपान गराएको तथ्यांक छ । सन् २०१४ को नेपाल बहुसूचक सर्वेक्षणमा करिब ५७ प्रतिशत रहेको पूर्ण स्तनपान दर २०१९ मा करिब ५ प्रतिशतले बढे पनि यसलाई २०१६ को नेपाल स्वास्थ्य सर्वेक्षणको तथ्यांकसित दाँज्ने हो भने करिब ४ प्रतिशत कम भएको देखिन्छ ।
काठमाडौंमा गरिएको एक अध्ययनअनुसार करिब ५६ प्रतिशत आमाले आमाको दूध प्रतिस्थापन गर्ने पदार्थ सेवन गर्ने गरेको पाइएको छ । झन् अचम्म लाग्ने कुरा त प्राइभेट अस्पतालहरूमा गर्भजाँच, सुत्केरी हुने वा सुत्केरीपछिको जाँच गर्ने आमामध्ये करिब ६८ प्रतिशत आमालाई त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले त्यस्ता पदार्थ खुवाउन सल्लाह दिने गरेको पाइएको छ । अनि त्यस्ता स्वास्थ्यकर्मीबाट परामर्श पाउने आमाहरूमा परामर्श नपाउने आमाभन्दा करिब १७ गुणा त्यस्तो पदार्थ खुवाउने सम्भावना रहेको अध्ययनले देखाएको छ । यो कति घातक छ भन्ने एउटा उदाहरण हेरौं– एक केजी पाउडर दूध उत्पादन गर्न करिब ४ हजार लिटर पानी आवश्यक पर्छ भने ६ वटा एसियाली देशमा बिक्री हुने दूधलाई प्रतिस्थापन गर्ने पदार्थबाट करिब २९ लाख टन हरितगृह ग्यास निस्कने कुरा तथ्यांकले देखाउँछ ।
बच्चा जन्मनेबित्तिकै स्तनबाट आउने बिगौती दूधले बच्चाको पहिलो खोपको रूपमा काम गर्ने भए तापनि नेपालमा गरिएको एक अध्ययनले करिब १६ प्रतिशत आमाले अझै पनि बिगौती दूध नखुवाउने गरेको पाइएको छ । नेपालमा सन् १९९२ मा आमाको दूध प्रतिस्थापनसम्बन्धी ऐन निर्माण भई कार्यान्वयनमा आएको छ, जसले आमाको दूध प्रतिस्थापन गर्ने पदार्थहरूको बिक्री, वितरण र प्रवर्धनलाई नियमन गर्ने र आमाको दूध खुवाउनमा प्रवद्र्धन गर्ने कुरा उल्लेख गरिएको छ ।
तर राजधानीकै स्वास्थ्य संस्था तथा अस्पतालमा खुलेआम चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले नै त्यस्ता पदार्थ प्रवद्र्धन गरेको पाइन्छ । के निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र त्यहाँ सुत्केरी हुन जानेहरूले बालबालिका जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्छ भन्ने नजानेका हुन् त ? नवजात शिशुले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र शिशु जन्माएपछि बढि रगत बग्ने खतरालाई घटाउँछ भन्ने नबुझेका हुन् ? बालबालिका जन्मनेबित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ । तुरुन्तै र पटक पटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ ।
आमा र बालबालिका बीचको माया ममता बढ्छ । बालबालिकाले आफूलाई सुरक्षित महसुस गर्छ । महिलालाई हुने स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउँदछ । महिनावारी नफर्किएको अवस्था तथा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म प्रभावकारी पूर्ण स्तनपान गराएमा (९८%) गर्भ निरोधकको रूपमा काम गर्छ । यत्तिका फाइदा हुँदाहुँदै कुनै पनि आमा स्तनपानबाट टाढा रहन्छिन् भने यो बडो बिडम्बनापूर्ण स्थिति हो । आमालाई मात्रै होइन, आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । यो सधैँ सफा र सुरक्षित हुन्छ ।
आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी (८७%) र खनिज तत्वहरू हुन्छ । यसमा झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुन्छ । यो सधँै तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ । बालबालिकाको लागि यो पूर्ण खाना हो । यसमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ । यो बालबालिकाले सजिलै पचाउन सक्छ । यसमा रहेका पोषक तत्व शरीरले राम्ररी सोस्न सक्छ । यसले एलर्जी हुनबाट जोगाउँछ । दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वलाई रगतसम्म पुग्न दिँदैन ।
प्रायःजसो नवसुत्केरीले स्तनपान गराउने सही तरिकाको ख्यालै नगरेको पाइन्छ । यसो गर्दा शिशुले अघाउञ्जेल दूध खान पाउँदैन । स्तनको मुन्टो धसिएको र सानो हुन सक्छ । त्यसो भएमा आफैँले तेल लगाई मालिस गरेमा विस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ । यति गर्दा नआएमा नजिकका स्वास्थ्यकर्मीलाई देखाउनुपर्छ । स्तनपान गराउँदा स्तनको मुन्टो (निप्पल) वरिपरिको कालो भाग शिशुको मुखभित्र पसेको हुनुपर्छ । तब मात्र शिशुले अघाउञ्जेल दूध चुस्न पाएको यकिन हुन्छ । आमाका हातका औँलाले दूधको मुन्टो थिची सजिलोसँग स्तनपान गराउनुपर्छ । किनभने स्तनले शिशुको नाक थिचेमा राम्ररी दूध चुस्न सक्दैन र कहिलेकाहीँ श्वास फेर्न नसकी मृत्युसमेत हुन सक्छ । शुरुको पहिलो दूध पातलो हुन्छ । एकछिन चुसेपछि मात्र बाक्लो दूध आउँछ । त्यसैले आरामसाथ बसेर एक पटकमा एकातिर कम्तीमा १५ मिनटसम्म र पालैपालोसँग दूध चुसाउनुपर्छ ।
स्तनलाई महिलाको सुन्दरतासँग जोडेर पनि हेर्ने गरिएको छ । शहरमा जन्मेका, बढेका, पढेका कतिपय महिला भ्रममा छन् । स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ र सुन्दरतामा कमी आउँछ भन्ठान्छन् । अनि ब्रेस्ट फेडिङभन्दा बोटल फेडिङलाई महत्व दिन्छन् । यस्तो प्रवृत्तिलाई निदाएको मानिसलाई ब्युँझाउन सकिन्छ, निदाएको बाहना गर्नेलाई ब्यँुझाउन सकिँदैन भन्न सकिन्छ । स्तनपान सप्ताहलाई औपचारिकतामा सीमित नगरी यसलाई निरन्तरको प्रक्रिया बनाउनु जरुरी छ ।
टिप्पणीहरू