संकटकालकी ती शहीद सुन्दरी
राजनारायण भारतका चर्चित राजनीतिज्ञ । सन् १९३४ देखि नै राजनीतिमा लागेर सन् १९४२ मा महात्मा गान्धीले ब्रिटिश शासनविरुद्ध थालेको ‘भारत छोडो आन्दोलन’ मा जेल परेका । १५ वर्षको राजनीतिमा ५८ पटक जेल बसी भारतको स्वतन्त्रतापछि जयप्रकाश नारायणहरुले गठन गरेको समाजवादी पार्टीमा आवद्ध ।
सन् १९७१ को लोकसभा निर्वाचनमा संयुक्त समाजवादी पार्टीको तर्फबाट रायबरेलीका उम्मेदवार । सोही क्षेत्रमा राष्ट्रिय कांग्रेसबाट उम्मेदवारी दिएकी थिइन् इन्दिरा गान्धीले । इन्दिराले जितेपछि चुनावमा धाँधली गरेको भन्दै मुद्दा हाले । १२ जुन १९७५ मा इलाहाबादस्थित अदालतले राजनारायणको पक्षमा निर्णय सुनायो मात्र होइन इन्दिरालाई आगामी ६ वर्षसम्म उम्मेदवार बन्न अयोग्य घोषित गरिदियो । इन्दिरा इण्डियाको राजनीतिकी शेरनी थिइन् । अदालतको उक्त आदेशविरुद्ध गर्जिइन् । सबैलाई खाइदिने धम्की दिन थालिन् ।
२४ जुनमा सर्वोच्च अदालतले पनि इलाहाबाद उच्च अदालतकै निर्णयलाई सका¥यो तर इन्दिरालाई प्रधानमन्त्रीबाट राजीनामा दिन भनेन । जयप्रकाश नारायण, मोरारजी देसाइहरूले राष्ट्रब्यापी हडताल गर्दै राजीनामा मागे । राजीनामा नदिउन्जेल आन्दोलन नरोक्ने चेतावनी दिए ।
इन्दिरा सजिलै सत्ता छाड्न तयार थिइनन् । उनका पुत्र सञ्जय गान्धीले पनि आमाको शक्ति कम भएको हेर्न चाहेनन् । नतिजा, २४ जुनको राति नै राष्ट्रपति फखरूद्दिन अलि अहमदलाई संकटकाल लागू गर्ने आदेशमा हस्ताक्षर गर्न लगाइन् । २५ जुनको बिहानै अल इण्डिया रेडियोमा उनको आवाज प्रशारण भयो । राष्ट्रको निम्ति दिइएको सन्देशमा उनले भनिन् ‘देशका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, राष्ट्रपतिज्यूले आजैदेखि लागू हुने गरी देशमा संकटकाल लगाउनुभएको छ तर यसबाट सामान्य जनता डराउनु पर्दैन ।’
त्यसपछि सबै ठूला नेतालाई जेलमा कोच्न थालियो । पूरै भारतलाई जेल बनाइयो । सत्ताको मनोमानी र राज्ययन्त्रको दुरुपयोग शुरु भयो । सञ्जय गान्धीको मनोमानीले सीमा नाघ्यो । उनैको निर्देशनमा हजारौं, लाखौं पुरुषलाई जबर्जस्ती बन्ध्याकरण गराइयो । जनताले मौलिक हकसमेत गुमाए ।
स्नेहलता कन्नड र तेलगु भाषाबाट बन्ने चलचित्रहरूकी चर्चित अभिनेत्री । नाट्यकर्मी पनि । बैंगलोर नाट्य क्षेत्र र वल्र्ड अफ आर्टिष्टकी एक प्रमुख व्यक्तित्व । उनको घरको ढोका नाट्यकर्मी, चलचित्रकर्मी र सबैखाले कलाकारहरूको निम्ति खुला हुन्थ्यो ।
उनी ब्रिटश शासनको चर्को आलोचक थिइन् । भारतीयहरुले भारतीय नै नाउँ राख्नु पर्छ र भारतीय पहिरन नै लगाउनुपर्छ भन्थिन् । उनको बिहे कवि, गणितज्ञ र चलचित्र निर्देशक टिक्काभारापु पट्टाभिरामा रेड्डीसँग भयो । दुवैजना स्वतन्त्रता सेनानी डा. राममनोहर लोहियाका प्रशंसक । उनीहरूका एक छोरा र एक छोरी भए ।
त्यसो त स्नेहलताले विश्वप्रसिद्ध नाटककार हेनरिक इब्सनको नाटक ‘पीयर गेन्ट’ र विलियम टेनेसीको ‘नाइट अफ इग्वाना’ जस्ता दर्जनौं नाटकमा खेलेर नाम कमाइसकेकी थिइन् तर सन् १९७० मा निर्मित कन्नड चलचित्र ‘संस्कारा’ ले उचाइमा पु¥याइदियो । यो चलचित्र उनैका लोग्ने पट्टाभिरामा रेड्डीद्वारा निर्देशित थियो । यो फिल्मले त्यो वर्ष राष्ट्रिय पुरस्कार जित्न सफल भएको थियो ।
भारतमा जव इन्दिरा गान्धीले आपातकाल लागू गरिन् स्नेहलता र उनका पति पट्टाभिरामा पनि अरुसरह सरकारको विरुद्ध लागे । इन्दिरा गान्धीको अत्याचार र निरंकुश शासनको विरोध गर्दै जान थाले । स्नेहलता ट्रेड युनियन नेता तथा पत्रकार जर्ज फर्नान्डिजकी मिल्ने साथी थिइन् ।
यसबीच गुजरात राज्यको तेश्रो ठूलो शहर बरोडामा प्रहरीले डाइनामाइटको केही सामग्री, फ्युज, तार बरामद ग¥यो । सरकारले सडक, पुल, रेलमार्ग उडाउने र मान्छे मार्ने षडयन्त्रमा बिपक्षीहरू लागेको आरोप लगायो । डाइनामाइट बिस्फोट गर्ने अपराधमा लागेको भनेर जर्ज फर्नान्डिजसहित २५ जनाविरुद्ध चार्जसिट तयार पार्न लगायो ।
उक्त चार्जसिटमा स्नेहलताको नाउँ थिएन । तर, जर्ज फर्नान्डिजको मिल्ने साथी भएकै कारण प्रहरीले परिवारको निगरानी राख्न थाल्यो । छोरी नन्दनालाई २ चोटी समातेर सोधपुछ ग¥यो । सन् १९७६ अप्रिल २७ को दिन स्नेहलता र पट्टाभी नयाँ फिल्म छायाँकनको लागि आवश्यक लाइटिङको सामान लिन मद्रास जाने योजना थियो । तर त्यसै दिन फेरी नन्दना पक्राउ परिन् । परिवारका सबैजना चिन्तित भए । साँझ ७ बजे स्नेहलता घर फर्किइन् तर उनलाई यो कुरा कसैले भनेनन् । र, छोरा कोणार्कलाई घरमै छाडेर उनीहरू राति ९ बजे मद्रास जान घरबाट निस्के ।
मध्यराति स्नेहलताको घरको ढोका कसैले ढक्ढकायो । बाहिरबाट “टेलिग्राम“ भन्ने आवाज आयो । कोणार्कले ढोका खोलेर हेर्दा बाहिर प्रहरीको हुल थियो । उनीहरु घरभित्र पसे र कोणार्कको दुबै हात हलचल गर्न नसक्ने गरी च्याप्प समाते । परिवारका सबै सदस्य मद्रास गएको भन्ने थाहा पाएपछि कोणार्कलाई घिसारेर चौकी लगे । केही प्रहरी घरको तलासी लिन त्यहीं बसे । उनीहरूले स्नेहलताका ८४ वर्षीय पिता र नोकरचाकरसित अनेक प्रश्न गरे । अन्त्यमा, बिहान ६ बजे घरबाट हिंडे ।
मद्रासबाट स्नेहलताले बैंगलोरमा फोन गर्न खोजिन् तर उनको घरको लाइन काटिइसकेको रहेछ । बल्ल एकजना छिमेकीको फोन लाग्यो र उनैबाट रातिको घटनाबारे जानकारी पाइन् । खबर सुन्नेबित्तिकै उनीहरू बैंगलोर फर्कन र सामान मिलाउन होटल पुगे । तर उनीहरू त्यहिं पक्राउ परे । उनीहरूलाई बैंगलोर फर्काएर कार्लटन होटल पु¥याइयो र नजरबन्दमा राखियो ।
अरुलाई भने घर पु¥याइयो । अघिल्लो दिन मद्रास र भोलिपल्टै बैंगलोर फर्कनु परेको कारण स्नेहलता दम्पती धेरै थाकेका थिए । उनीहरुले आफूहरुलाई किन ल्याइएको हो ? भनेर धेरैपटक सोधे । गार्डहरुले सधैं एउटै जवाफ दिन्थे, हाम्रा हाकिम आउँदै छन् अनि थाहा हुन्छ , तर बिहान हुँदासम्म कोही आएनन् । भोलिपल्ट दुबैलाई अलगअलग कोठामा राखियो । र, प्रश्न सोधेको सोध्यै गरियो । प्रश्नको जवाफ दिन नपाउँदै अर्को प्रश्न सोधिन्थ्यो । सोधपुछकै क्रममा स्नेहलताले छोरा कोणार्कलाई छाड्न, छोरीलाई केही नगर्न, लोग्नेलाई नपक्रन याचना गरिन् । बदलामा आफूलाई जानकारी भएको सबै कुरा बताउन तयार छु भनिन् ।
यसपछि परिवारका अन्य सदस्यलाई सकुशल घर फर्कन दिइयो । र, स्नेहलतालाई मात्र बन्दी बनाई राखियो । उनलाई प्रश्नमाथि प्रश्न सोधियो तर उनीसित बताउन लायक केही थिएन । उनलाई त्यहाँ राजनीतिक बन्दीको ब्यवहार गरियो । घरबाट ओढ्ने ओछ्याउनेलगायत आवश्यक सामान ल्याउन दिइयो । ७ मेको दिन पट्टाभी खाना लिएर कार्लटन होटल पुग्दा कोठामा ताला लागेको देखे । कतै लगे होलान् भनेर दिनभर पर्खी बसे । ती पनि स्नेहलतालाई नदेखेपछि साढे १० बजे घर फर्के । राति फेरि होटल पुगे । तर फेरि पनि कोठाबाहिर ताला लागेकै देखे । रातभर परिवारका कोही सदस्य सुत्न सकेनन् र बिहान कसैले फोनमार्फत बतायो कि स्नेहलतालाई जेल चलान गरिएको छ ।
स्नेहालाई परिवारको कुनै सदस्यलाई थाहा नदिइकन बैंगलोर केन्द्रीय जेल पठाइएको रहेछ । उनीमाथि त्यहाँ अपमानजनक ब्यवहार गरियो । हात बाँधेर तलासी लिइयो । रजिष्टरमा हस्ताक्षर गर्न लगाइयो । र, एउटा सानो कोठामा लगेर थुनियो । कोठा त हावा छिर्ने नै थियो तर पिसाब फेर्नका लागि कोठाको एउटा कुनोतिर सानो प्वाल बनाइएको थियो जबकि अर्कोतर्फ जाली लगाएको फलामे खापा मात्र थियो । जसोतसो उनले भुँइमा रात बिताइन् । उनलाई जेल पठाएको बारे परिवारलाई जानकारी दिन आवश्यक ठानिएकै थिएन ।
भोलिपल्ट परिवारलाई भेट्न दिइयो । र, भनियो कि जमानतमा छोडिन्छ चिन्ता नगर्नु । तर जमानतमा बस्नै दिइएन । स्नेहलतालामाथि दिल्लीको संसद भवन लगायत मुख्य मुख्य भवन डाइनामाइटले उडाउन खोजेको आरोप लगाइयो । प्रहरीले अदालतमा उनलाई दोषी देखाउन सकेन तर पनि सुरक्षा कानून लगाएर फेरि जेलमै कोच्यो ।
स्नेहलतालाई बिनाकारण ८ महिना जेलमा कोचियो । यातना दिइयो । जर्ज फर्नाण्डिजलाई उनीमार्फत पक्रन सकिन्छ कि भनेर मात्र स्नेहलतालाई पक्रेको थियो, इन्दिरा गान्धीको सरकारले । उनको दोष त्यति मात्र थियो कि उनी फर्नाण्डिजको मित्र थिइन् । उनले थुप्रै शारीरिक, मानसिक यातना सहिन् ।
त्यो बेला सोही जेलमा अटलबिहारी बाजपेयी, लालकृष्ण आडवानी र मधु दण्डवतेजस्ता नेता पनि बन्द थिए । उनीहरूले संगैको कोठाबाट महिलाको चिच्याहट दिनहुँ जस्तो सुन्थे । पछि मात्र थाहा पाए कि त्यो चिच्याहट प्रशिद्ध अभिनेत्री स्नेहलताको रहेछ । स्नेहलताले आफ्नो डायरीमा जेलमा दिइने यातनाबारे लेखेकी छन्– नयाँ महिला कैदी ल्याउनेबित्तिकै सबैको अगाडि उनलाई नांगै पारेर उभिन लगाइन्थ्यो ।
उनी राजनीतिज्ञ थिइनन् तर पनि हिम्मत हारिनन् । भोक हडताल गरिन् । महिला कैदीमाथि गरिने अमानवीय यातना कम गराउन, जेलमा दिइने खानाको गुणस्तरमा सुधार ल्याउन लडिन् । स्नेहलता दमको रोगी थिइन् । यसको बाबजुद उनलाई अनेक यातना दिइयो । उपचार त के छुटाउन नमिल्ने औषधिसम्म खान दिइएन । नतिजा, स्वास्थ्य नाजुक बन्दै गयो । त्यसपछि बल्ल सन् १९७७ को जनवरी १५ मा तारेखमा रिहा गरियो । र, ५ दिनपछि नै दम र फोक्सोको इन्फेक्सनबाट उनको मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षकी थिइन् । आपातकाल २१ महिनापछि अर्थात स्नेहलताको निधन भएको २ महिनापछि २१ मार्च १९७७ मा अन्त्य भयो । ५ दिनअघि निर्वाचन सम्पन्न भइसकेको थियो । इन्दिरा गान्धी र उनको पार्टीले धुलो चाटिसकेका थिए । फलतः २४ मार्चमा जनता दलका नेता मोरारजी देसाइको नेतृत्वमा सरकार गठन भयो । सोही सरकारमा अर्थ मन्त्री बनेका र स्नेहलतासंगै जेल जीवन बिताएका मधुदन्डवतेले पछि लेखे, ‘स्नेहलता कुख्यात संकटकालकी प्रथम सहिद हुन् ।’
टिप्पणीहरू