नेताको नक्कली स्वरमा लाखौं नगद

‘मेरो नाम बेचेर, नक्कली स्वर निकालेर पैसा उठाउँदै हिँड्नेलाई कारवाही गरिपाऊँ भनेर जति कराउँदा पनि कारवाही भएन । स्वर नक्कली, काम नक्कली, कारवाही पनि नक्कली ! यो के चाला हो ?’

यसो भन्दै बैठकमा उपाध्यक्ष वामदेव गौतम कड्किएपछि नेताहरु आपसमा हेराहेर गर्न थाले । किनभने, सबैलाई विस्तृत विवरण थाहा थिएन । सोमबार एमाले स्थायी कमिटी बैठकमा चुनावी घात, प्रतिघातसँगै अनुचित तवरले आर्थिक संकलन गरिएका विषय जोडदारसँग उठ्यो । 
मोरङको रुपनारायण काण्डपछि उपाध्यक्ष वामदेव गौतममाथि प्युठानमा त्यस्तै झ्याउलो आइलाग्यो । ‘मैले कत्ति कराएँ, त्यही पनि कारवाही हुँदैन । मैले भन्दा त कारवाही हुँदैन भने अरुको झन् के हालत होला’ भन्दै उनले आफ्नो व्यथा सुनाउन थालेपछि उपमहासचिव तथा प्रदेश ५ का इञ्चार्ज विष्णु पौडेलले भने, ‘त्यो बबुरोलाई मात्रै के कारवाही गर्नु ? सके त्यसलाई संरक्षण गर्नेलाई पो कारवाही गर्ने हो त !’

प्रसंग हो, वामदेवको स्वरमा ठाउँ–ठाउँ फोन गर्दै, उनकै नातेदार भन्दै लाखौँ उठाउने जिल्ला उपसचिव मधुर शर्माको । उनले नेपालगञ्जस्थित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई फोन गरे, वामदेवको स्वरमा । ‘मधुर मेरा नातेदार हुन्, कार्यकर्ता पनि हुन् । थारु विद्यार्थीको सम्मेलन छ । २० लाख दिनु है ।’ यसरि फोन गरिवरि मधुर पुगे, रायलाई भेट्न । १२ लाख रुपैयाँ हात पारे । बाँकी पछि लिनेगरी । पहिला माले समर्थक, पछि फोरमतिर लागेका सल्यानी राजेन्द्रवीर खासमा राई हुन् । तर, राय थर लेख्दा तराईमा सजिलो पर्ने हुँदा त्यस्तो थरमा फोरमको राजनीति गर्न थालेका छन् । मधुर पैसा लिन पुग्दा उनले आशंका व्यक्त गर्दै सोधेका थिए, ‘हैन, यो पैसा केका लागि रे ?’ यसपछि मधुरले विश्वस्त तुल्याउन एउटा नक्कली फोन गरे, सुर्खेतका नेता यामलाल कँडेललाई गरेजसरी । ‘कमरेड, मैले पैसा पाएँ है’ भनेर फोन काटेपछि राजेन्द्रवीरले पत्याउनै प¥यो । मधुरको हातमा पैसा दिएको केही दिनपछि काम विशेषले राजेन्द्रवीर काठमाडौं पुगे ।

वामदेवसँग उनकै भैंसेपाटीस्थित घरमा भेटे । त्यस बेला भनिहाले, ‘अस्ति हजुरले भनेको मान्छेलाई मैले सहयोग गरेको थिएँ ।’ वामदेव झस्किए, ‘के रे !’ ‘हजुरले फोन गरेर थारु विद्यार्थीको सम्मेलनका लागि २० लाख चाहिया’छ । फलानो मान्छे आउँछ । दिएर पठाउनु भनेको होइन !’ हुँदै नभएको र भन्दै नभनेको कुराले वामदेवलाई एकछिन चक्कर लगायो । ‘अनि, पैसा दिनुभयो त ?’ राजेन्द्रवीरले भने, ‘२० पुगेन । १२ थियो । त्यही दिएँ ।’ राजेन्द्रवीरको मुख हेरेर वामदेव ट्वाल्ल परे । फेरि सोधे, ‘ए, दिइ नै सक्नुभयो ?’ राजेन्द्रले भने, ‘हजुरले नै फोन गरेर भनिसकेपछि नदिऊँ कसरी ?’ वामदेवले कराए, ‘मेरो नाममा पैसा दिने, मलाई एकपल्ट पनि नसोध्ने ? तपाइँसँग मेरो नम्बर थियो । फोन गरेर किन सोध्नुभएन ?’ अब झस्किने पालो आयो, राजेन्द्रवीरको । सोधे, ‘त्यसोभए हजुरले भनेको होइन त ?’ वामदेवले भने, ‘मैले किन भन्छु त्यस्तो कुरा ? भनेछु नै भने पनि त्यस्तालाई पठाउँछु होला त ? पहिला पनि मेरै नाममा पैसा उठाउँदा उठाउँदै समातेको मान्छे । अबदेखि गर्दिनँ । गल्ती भयो भन्दै आएपछि लौ त भनेको, फेरि पैसा उठाएर हिँड्ने ?’ वामदेव रिसाएको देखेर राजेन्द्रवीर डराए । सोधे, ‘मैले दिइहालेँ । अब के गरौँ त हजुुर ?’ वामदेवले भने, ‘उठाउनुस् त्यो पैसा । पुलिस लगाउनुपर्छ कि, के गर्नुपर्छ गर्नुस् । मैले भन्दिनुपर्ने भए भनिदिउँला ।’

दिनेले त्यति भनेपछि लिनेले के भन्छ बुझिरहनु परेन । वामदेवले प्युठानको पार्टी नेतृत्वलाई छानवीन गरेर कारवाही अगाडि बढाउन भने । जिल्ला कमिटीले उनलाई कहीँ, कुनै कार्यक्रम, भेला, बैठकमा सहभागी नगराइने निर्णय ग¥यो । र, निर्णयको प्रति केन्द्रीय संगठन विभागलाई पठायो । तर, दोस्रो चरणको चुनावको मुखमा उनलाई कार्यक्रमहरुमा सहभागी नगराउँदा त्यसले पार्टीको पक्षमा परिणाम ल्याउनमा बाधा पुग्ला भन्ने नाममा कारवाही फुकुवा भयो । स्मरणीय छ, उनै मधुर १२ वर्ष पहिले पनि वामदेवको नाममा पैसा उठाउँदा उठाउँदै धनगढीमा प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका व्यक्ति हुन् । उनलाई त्यसबेला तत्कालीन एसपी कुवेरसिंह रानाले झ्याप पारेका थिए ।

चुनावमा वामदेव आफैँ पनि प्युठान पुगे । पुग्दा देखे, उठ्तीपुठ्तीदेखि बनेको समीकरण भत्काउनेसम्मका खेला । त्यहाँका ९ स्थानीय तहमध्ये ४ मा राष्ट्रिय जनमोर्चा र बाँकी ५ मा एमाले मिलेर जाने सहमति थियो । जिल्ला समन्वय समिति गठनमा पनि त्यसरी नैसमीकरण कायम राख्ने, ४२ वटा वडा एमाले, २४ राजमो गरेर तालमेलको टुंगो लागेको हो । तर, केन्द्रीय सदस्य सूर्य थापा पुगेर छुच्चो शैलीमा पेश भएपछि जनमोर्चाहरु समीकरणबाट टाढिए । उनीहरु माओवादीसँग मिल्न गए । त्यसले गर्दा एमालेले कन्फर्म जित्ने भनिएका पाँचमध्ये तीनमा मात्र सिमित भयो । स्वर्गद्वारी नगरपालिकामा नेत्रबहादुर रोकाय, सरुमारानीमा झगबहादुर विश्वकर्मा र माण्डवी गाउँपालिकामा श्रीधर रोकाले जिते । प्युठान नगरपालिकामा उपमेयरसहित ५२ सीटमध्ये ३३ सीट जितेर मेयर हार्नुप¥यो । राजमोसँग तालमेल गरेका कारण माओवादीका अर्जुनकुमार कक्षपतिले एमालेका तुल्सीराम शर्मालाई नौ सय ९१ को मतान्तरमा हराए । तर, त्यही नगरपालिकामा एमालेकी उपमेयर शान्ता आचार्यले नेपाली कांग्रेसकी भगवती विष्टलाई १६ सय ८३ को फराकिलो अन्तरमा हराइन् । १० मध्ये ५ वटा वडामा एमाले प्यानलसहित, एउटा वडामा एउटा वडासदस्यबाहेक सबै जित्दा पनि एमालेले मेयर जित्न नसक्नुमा अन्तर्घात नै भएको उजुरी एमाले स्थायी कमिटीमा पुगिसकेको छ । 

सोमबार धुम्बाराहीमा सम्पन्न स्थायी कमिटी बैठकमा सूर्य थापाको भूमिकाका कारण राजमोसँग गठबन्धन टुटेको, पुराना पार्टी नेताहरु वीरबहादुर सिंह, धनबहादुर रायमाझी, हरि रिजालबारे सार्वजनिक रुपमा अशिष्ट भाषा प्रयोग गरेको, मधुरको संरक्षण गरेकोजस्ता कुरा उठेका थिए । उनले वीरबहादुरलाई ‘धोद्रे बूढा’, धनबहादुरलाई ‘ढाका टोपी लाएर सिंहदरबार छिरौँला भनेका होलाऊ, देख्लाऊ’ र हरिलाई पनि ट्वाकेजस्ता बचन प्रयोग गरेको उजुरी छ । उनको क्षेत्र नं. २ मा एमाले साफ भएको छ । बैठकमा वामदेवले दोहो¥याएर भने, ‘मैले कराएको कत्ति भइसक्यो । मेरो स्वर नक्कल गरेर पैसा उठाउनेलाई यति भन्दा पनि कारवाही नगर्ने ?’ एकछिन बाहिरिएका विष्णु पौडेल बैठकभित्र छिरेर भन्न थाले, ‘त्यो फ्याउसोलाई मात्र कारवाही गरेर पुग्छ ? सक्ने भए सूर्यलाई गरौँ न †’ विष्णुले सुनाएअनुसार, प्युठान गएर सूर्यले मान्छे भेला पार्ने, उचाल्ने, पछार्ने काम गरे । ‘यसलाई टिकट दिने कि नदिने ?’ भनेर ताली बजाउन लगाउँदै भीडको बलमा उम्मेदवार तोक्नेजस्ता काम गरे । भने, ‘उहाँ कमिटी प्रणालीअन्तर्गत तलबाटै उठेर आउनुभएको होइन । एकैचोटि बल्खुबाट केन्द्रीय सदस्य हुनुभयो । त्यसैले प्युठानको हकमा कारवाही गर्ने हो भने उहाँबाट शुरु गरौँ ।’

विष्णु पौडेलको कुरा सुनिसकेपछि सचिव तथा १ नं. प्रदेशका इञ्चार्ज भीम आचार्य कराउन थाले, ‘हामीले कारवाही सिफारिस गरेर पठाइसकेको रुपनारायण श्रेष्ठमाथि के कारवाही भयो ? ऊ अहिले फेरि मोरङतिरै चलखेल गर्दैछ ।’ महासचिव ईश्वर पोखरेलले भने, ‘तिनलाई यहीँ बस, नजाऊ भनेको त कतिबेला उ पुगेर फेसबुकमा फोटोसमेत हाल्न पो भ्याइसकेछ ?’

प्युठान र मोरङको उठ्तिपुठ्तीबारे सुनिसकेपछि अध्यक्ष केपी ओलीले भने, ‘यति प्रमाण भेटिसकेपछि थप बुझिरहनै परेन । ठाडै कारवाही गरिदिए हुन्छ ।’

ज्ञानेन्द्रबारे केपी

पूर्वराजा ज्ञानेन्द्र अहिले संविधान संशोधनको पक्षमा नभएर यो संविधान नै असफल गराउनेमा सक्रिय भएको ओलीले बैठकमा सुनाए । सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति राप्रपाको भूमिकाबारे टिप्पणी गर्दै उक्त प्रसंग निकालेका हुन् । ‘पशुपतिसमशेर, दीपक बोहोराहरु संशोधनको पक्षमा टाउको टेकेर लागेका छन् । कमल थापा भिन्न शैलीको मान्छे हो । उसले पनि अवसर छोप्ने हो’ भन्दै ओलीले ‘राप्रपाले सग्लो रुपमा भोट हाल्छ भन्ने आशा छैन’ भनेका थिए ।

टिप्पणीहरू