सत्ता साझेदारहरुबीच रुकुममा हानाहान
मुलुकभर यतिबेला सत्तारुढ नेपाली काँग्रेस महाधिवेशनमा जुटेको छ । यसबीच विभिन्न कार्यक्रमहरु भइरहेका छन् । वडास्तरदेखि नै नेतृत्वचयनमा काँग्रेस जुटिरहेको छ । तर,केन्द्रमा सत्ता साझेदारी गरेको माओवादीले भने रुकुममा अधिवेशन गरेको भन्दै काँग्रेस कार्यकर्तामाथि आक्रमण गरेको छ ।
भदौ २० गते रुकुम पश्चिमको चौरजहारीमा भएको काँग्रेस नगर समितिको कार्यक्रमबाट फर्कंदै गर्दा बाटोमा नेपाल विद्यार्थी संघका नेताहरु दिपेश ओली र दिलबहादुर ओलीलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेर घाइते बनाएको काँग्रेस रुकुमले जनाएको छ । दुबै जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको बिरोध गर्दै आज नेपाली काँग्रेसले चौरजहारी बन्दको आह्वान गरेको छ । माओवादी युवा संगठन वाईसीएलका नगर अध्यक्ष लालबहादुर कटुवालसहित ८ जनाको समूहले ज्यान मार्ने उद्देश्यका साथ दिपेश र दिलबहादुरमाथि आक्रमण गरेर भागेकाले पक्राउ र कारबाहीको मागसहित बन्दको आह्वान गरिएको नेपाली काँग्रेस चौरजहारीका नगर सभापति परमेश्वर भण्डारीले बताएका छन् ।
उनले घटनामा संलग्नहरुलाई स्थानीय सरकारले लुकाएर राखेको आरोपसमेत लगाए । उनकाअनुसार आज चौरजहारीमा सार्वजनिक यातायात,व्यापार व्यवसाय,शैक्षिक संस्था र सम्पूर्ण सरकारी कार्यालयहरु बन्द भएका छन् ।
बन्दको आह्वानसँगै बजार क्षेत्र बिहानैदेखि सुनसान भएको हो । काँग्रेस कार्यकर्ताहरु बिहानैदेखि बन्द सफल पार्नको लागि परिचालन भएका थिए । भदौ २० गते चौजहारीमा भएको काँग्रेसको नगर भेलाबाट फर्कदै गर्दा उहाँहरुमाथि मेलैनाउली भन्ने स्थानमा आक्रमण भएको थियो ।
नेपाली काँग्रेसले नगर प्रमुख विशाल शर्माको प्रत्यक्ष निर्देशनमा आक्रमण गरिएको जनाएको छ । आक्रमण गरेर वाईसीएलका कार्यकर्ताहरु नगर प्रमुखको गाडीमा चढी भागेका र नगर प्रमुखले अहिले उनीहरुको संरक्षण गरिरहेको भन्दै काँग्रेसले बिरोध गरेको हो ।

टिप्पणीहरू