एमसीसी पारित गरे मुलुकमा विद्रोह हुने विप्लवको चेतावनी

एमसीसी पारित गरे मुलुकमा विद्रोह हुने विप्लवको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा जबर्जस्ती थोपर्न खोजिएको एमसीसी कुनै हालतमा स्वीकार गर्न नहुने बताउनुभएको छ । एमसीसी खारेजीको माग गर्दै आज काठमाडौँमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै उहाँले जबर्जस्ती लाद्न खोजे विद्रोह हुने चेतावनी समेत दिनुभएको छ ।

एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सर्वभौमिकताको विरुद्धमा रहेको भन्दै उहाँले कुनै हालतमा स्वीकार गर्न नसकिने उल्लेख गर्नुभयो । विप्लवले भन्नुभयो, ‘एमसीसी सम्झौता जबर्जस्त लादिँदै छ, हामीले प्रतिबन्धको समयमा पनि यसको बिरोध गरेका थियौं यो हाम्रो राष्ट्रिय स्वाधीनताको विरुद्धमा छ । त्यसैले कुनै पनि हालतमा लागु गर्न दिँदैनौँ ।’

५० करोड डलरसँग राष्ट्रियता साट्न नसकिने भन्दै विप्लवले विदेशीको पैसाले मुलुकको कायापलट हुन्छ भन्नु दलाल मानसिकता भएको बताउनुभयो । उहाँले मुलुकको स्वाभिमान रोज्ने कि अमेरिकी डलर भनेर प्रश्नसमेत गर्नुभयो । भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि कतिपय मन्त्रीले एमसीसीको पैसाले समृद्धि हासिल गर्न सकिने बताएका छन् । अमेरिकाले दिएको ५० करोड डलरले के नेपालको कायापलट हुन्छ रु’

बिरोधसभालाई सम्बोधन गर्दै नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसीका नाममा वैदेशिक हस्तक्षेप बढिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको एमसीसी सम्झौता कुनै हालतमा स्वीकार गर्न नहुनेमा जोड दिँदै उहाँले सम्झौता खारेज नहुँदासम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल आहुति, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल, अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले सम्बोधन गरेका थिए । उनीहरुले एमसीसी सहयोगका नाममा नेपाललाई अमेरिकी सैन्य रणनीतिमा छिराउन खोजिएको भन्दै कुनै हालतमा सम्झौता स्वीकार गर्न नहुनेमा जोड दिए । उनीहरुले एमसीसी खारेज नहुँदासम्म निरन्तर आन्दोलन गर्नुपर्ने बताए ।

टिप्पणीहरू