किन खनिए न्यायाधीशमाथि नेम्वाङ
संविधानसभाका अध्यक्ष तथा नेकपा(एमाले)का नेता सुवास नेम्वाङ सर्वोच्च अदालतका न्यायाधीश र कानूनकर्मीमाथि आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभा विघटनको मुद्धा बदर गर्ने संवैधानिक इजलासका न्यायाधीश र रिट निवेदकको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरुलाई सरकारले पदक दिने निर्णय गरेकोमा नेम्वाङ आक्रोशित हुनुभएको हो ।
संविधान दिवसको अवसरमा एमालेले आज च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले केपी ओली नेतृत्वको सरकार विरुद्ध षड्यन्त्र गर्ने न्यायाधीश र कानून व्यवसायीलाई पदक दिइएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधीशहरुलाई आग्रहसमेत गर्नुभयो ।
सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी र मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बसेका न्यायाधीशहरुले सरकारबाट पदक पाएको र यो बेठिक भएको नेम्वाङको दाबी छ ।
‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको पदक हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस् ।’
नेता नेम्वाङले केन्द्र तथा प्रदेश सरकारमा समेत सहभागी भएर संसदमा पनि सबै प्रक्रियामा सहभागी भएका राजनीतिक दलहरुले आजको दिन संविधान दिवस नमनाउने कुरा नसुहाएको पनि बताउनुभयो । संविधान स्वीकार्य भएको पनि उहाँको भनाई छ ।
टिप्पणीहरू