नेकपा (एस) पार्टीको धादिङबेसीमा कार्यालय स्थापना

नेकपा (एस) पार्टीको धादिङबेसीमा कार्यालय स्थापना

नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं केन्द्रिय कार्यालय सचिव डा.गंगालाल तुलाधरले केपि ओली नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्काे पार्टी गठन गर्नुपरेको स्पष्ट पारेका छन् । आज धादिङबेसीमा आयोजित नीलकण्ठ नगरकमिटिको भेलालाई सम्बोधन गर्दै तुलाधरले केपी ओलीले आफुहरुलाई सधै बेवास्था गरेको र थिचोमिचोमा मात्रै राखेको बताए ।

‘पार्टी अर्काे बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’

एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको नेकपा (एस) केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले बताए । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च ग¥यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ बुर्लाकोटीले भने । नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा स्थापना गरिएको पार्टी कार्यालय आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

नेकपा (एस)पार्टीले आजै नीलकण्ठ नगर कमिटि गठन गरेको छ । शिवनीधि खनाल इन्चार्ज, शिवराज सापकोटा सहइन्चार्ज चुनिएका छन् भने नगरकमिटिको संयोजकमा कुलमान वि.क., सहसंयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानिया रहेका छन् । नगरपालिका भित्रका १४ वटै वडाबाट समेटेर ६१ सदस्यीय नगरकमिटि गठन गरिएको जिल्ला सचिव सुवास खतिवडाले बताए ।

टिप्पणीहरू