फेरिने ठाउँको फन्को
नौ महिनामा सरकार फेरिन्छ । तर, पर्यटनमन्त्री तीन महिना बित्न नपाउँदै परिवर्तन हुनुको कारण के होला ? कारण भने रोचक छ । पर्यटन मन्त्रालय मात्र नेपालको एउटा यस्तो मन्त्रालय हो जो मन्त्री र सचिवले कम व्यापारीले बढी चलाउँछन् ।
नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पा आफ्नो तीनवर्षे कार्यकालमा ११ पर्यटनमन्त्री, ६ नै जना सचिव र ६ महानिर्देशकलाई स्वागत गर्ने सौभाग्य पाए । वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारले समेत आफ्नो कार्यकालमा उत्ति नै संख्यामा मन्त्रीदेखि सचिव फेरिएको अनुभव सुनाउँछन् । आखिर किन फेरिन्छन् सबैभन्दा बढी मन्त्री र सचिव पर्यटन मन्त्रालयमा चासोको विषय हो । सबैभन्दा छिटो मन्त्री र सचिव फेरिने मन्त्रालयमा पर्यटन मन्त्रालय नै किन पर्छ होला ? जहाँ पछिल्लो एक वर्षमा मात्र आठ जना मन्त्री फेरिएका छन् भने चार जना त सचिव नै परिवर्तन भएका छन् । नेपालमा एउटा सरकारको आयु औसतमा नौ महिना मान्ने हो भने दुई÷तीन महिना पुग्न नपाउँदै पर्यटन मन्त्रालयमा भने मन्त्री र सचिव बदलिहाल्छन् । आखिर कुनचाहिँ फ्याक्टरले चलाउँछ त पर्यटन मन्त्रालय ?
जस्तो पर्यटन मन्त्रालयको पछिल्लो पाँच वर्षको विवरण केलाउँदा त्यहाँ पाँच वर्षमा १३ मन्त्री परिवर्तन भइसके । पछिल्लो एक वर्षको अन्तरालमा मात्र त्यहाँ आठ मन्त्री फेरिए । आनन्दप्रसाद पोखरेल, बलबहादुर महत, जीवनबहादुर शाही, इन्द्रबहादुर बानियाँ, दिलनाथ गिरी हुँदै जितेन्द्रनारायण देव प्रचण्ड सरकारका पालामा मन्त्री थिए । अहिले पुनः देउवा सरकारमा उनी दोहोरिएका छन् । र, राज्यमन्त्रीका रूपमा सुमित्रा थारुनी यो मन्त्रालयमा भित्रिएकी छन् । पछिल्लो एक वर्षमा मात्र आठ जना मन्त्री पुगेका छन् । बजेट कम भए पनि बढी खेल्न पाइने भएका कारण गृह, अर्थ पछाडि शीर्षस्थ दलका नेताको रोजाइमा पर्यटन मन्त्रालय पर्ने गरेको छ । यसका अलावा अहिले ठूलो बजेट अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणसँग जोडिएको छ । जहाँ धेरै रकम खेल्न पाइन्छ । त्यस्तै, नेपाल वायुसेवा निगमका जहाज खरिदसँग समेत मन्त्रीको स्वार्थ जोडिने पर्यटन मन्त्रालयका कर्मचारी सुनाउँछन् ।
मन्त्री मात्र होइन, मन्त्री फेरिएसँगै पर्यटन मन्त्रालयमा सचिवसमेत फेरिन्छन् । मन्त्री र सचिव फेरिँदा योजना र नीति फेरिन्छन् । पछिल्लो वर्षदिनयता पर्यटन मन्त्रालयमा दिनेश थपलिया, सुरेशमान श्रेष्ठ, प्रेम राई, शंकर अधिकारी हुँदै हालै महेश्वर न्यौपानेलाई पर्यटन सचिव बनाएर उनलाई त्यता तानिएको छ । विशेष गरेर पर्यटन मन्त्रालय मन्त्री र सचिवले भन्दा पनि पर्यटन व्यवसायीले चलाउने गरेको पर्यटन मन्त्रालयका कर्मचारीको अनुभव छ । पर्यटनसँग जोडिएका केही नीति नियम परिवर्तन गर्न मात्र खोजिँदासमेत मन्त्रीदेखि सचिव फेरिने गर्छन् । पर्यटन मन्त्रालयका एक कर्मचारीका अनुसार पर्यटन व्यवसायीको नेतासँग पहुँच हुने गर्छ । उनीहरू राजनीतिसँग जोडिएका हुन्छन् । सानोभन्दा सानो नीति परिवर्तन गर्न खोज्दा मन्त्री नै फेरिन्छन् यो वा त्यो बहानामा ।
अर्काेतिर राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माणदेखि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज खरिदसम्म नेतृत्व फेरिँदा असर पुगेको बताइन्छ । मन्त्री फेरिए पनि नीति फेरिनु भएन तर त्यसो हँुदैन, मन्त्री, सचिव फेरिएसँगै नीति कार्यक्रम बदल्दा नीतिगत स्थायित्व हँुदैन, यसले समग्र विकासमा असर पुग्छ । यसर्थ पर्यटन मन्त्रालय नेपालको एउटा यस्तो मन्त्रालय हो जुन मन्त्रालय मन्त्री र सचिवले नभएर व्यापारीले चलाउँदै आएका छन् । जसको पछिल्लो कडी एनएमएले उठाउँदै आएको रोयल्टीलाई लिन सकिन्छ । यो रोयल्टीसम्बन्धी नीति परिवर्तन गर्न खोज्दा आनन्द पोखरेलको मन्त्रीको पदै गयो, जीवनबहादुर शाहीको हकमा पनि भएको त्यही हो ।
टिप्पणीहरू