बेपत्ता व्यक्तिको परिवारलाई राहतको अवसर

बेपत्ता व्यक्तिको परिवारलाई राहतको अवसर

सशस्त्र द्वन्द्वको बेला बेपत्ता पारिएका व्यक्तिको बारेमा उजुरी दिन छुट भएका परिवारले प्रमाणसहित आउन सक्ने भएपछि पीडित परिवारले राहत महसुस गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले एक सूचना जारी गर्दै उजुरी दिने समयावधि थप गरेको छ । आयोगले व्यक्ति बेपत्ता भएको भन्ने आधार प्रमाणसहित आउँदो पुस मसान्तसम्म आयोगको कार्यालय पुल्चोक ललितपुरमा दर्ता सनाखत हुने गरी उजुरी दिन सकिने भनेको छ ।

आयोगले त्यस्तो उजुरी विद्युतीय माध्यमबाट समेत दिन पाउने व्यवस्था गरेको छ । त्यसका लागि [email protected] नामको इमेल ठेगाना उपलब्ध गराएको छ ।

यसअघि पनि आयोगले पटक पटक सूचना प्रकाशित गरेको थियो । सूचनाको पहुँचमा नरहेका अशिक्षित र ग्रामीण भेगका पीडितहरु भने उजुरी दर्ता गर्नबाट बन्चित हुँदै आएका छन् ।

द्वन्द्वको बेला बेपत्ता भएका व्यक्तिहरुले उचित न्याय नपाएको भन्ने गुनासोलाई उचित सम्बोधन गर्न बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग नियमावली २०७२ को नियम ३ बमोजिम सूचना जारी गरिएको जनाइएको छ ।

टिप्पणीहरू