सर्वोच्च अदालतले आज सहयोगी पाएन
नेपाल बार र सर्वोच्च बारले एमिकस क्युरी (अदालतका सहयोगी) नपठाउँदा संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनैपर्ने मागसहित परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ ।
न्यायाधीशद्वय प्रकाश ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी चढेको मुध्दाको सुनुवाई एमिकस क्युरीका कारण स्थगित भएको हो । बारले एमिकस क्यूरी नपठाएकाले आज सुनुवाई नभएको सर्वोच्च स्रोतले जनाएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विकल्प संविधानले परिकल्पना नगरेको भन्दै अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गराएको रिटमाथि यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा सुनुवाइ भएको थियो ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश फुयाँलले रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक नियुक्तिसम्बन्धी विवादको मुद्दाउपर संवैधानिक इजलासमा सुनुवाइ अघि नबढाउन आदेश दिनुभएको थियो ।
फुयाँलको इजलासले लिखित जवाफ माग गर्दै जवाफ प्राप्त भएको ३ दिनपछि पेशी तोक्न आदेश दिएको थियो । सोहीबमोजिम आज पेशी तोकिएको हो । दुबै बारले २-२ जनाको एमिकस क्युरी तोके पनि आज भने बहसमा कसैलाई पठाएको पाइएन ।
टिप्पणीहरू