माओवादीको कार्यक्रममा पनि स्यानिटरी प्याड
सरकारले वयस्क महिलाको निम्ति आवश्यक स्यानिटरी प्याडमा कर बढाएको भन्ने भ्रमको पछि नलाग्न अर्थमन्त्री जनार्दन शर्माले माओवादी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले भाउ नबढाएको बरु त्यसलाई गुणस्तरीय र कसरी सस्तो बनाउन सकिन्छ भन्नेसम्बन्धमा अध्ययन भइरहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दोस्रो भेला तथा सम्मेलनमा बोल्दै शर्माले उक्त जानकारी दिनुभएको हो । त्यस अवसरमा उहाँले व्यक्तिगत स्वार्थको लागि कुनै काम नगर्ने प्रतिबद्धता जनाउँदै भन्नुभएको छ, ‘अर्थमन्त्रीको कार्यभार सम्हालेदेखि नै सामूहिक र राष्ट्रिय हितको काममा लागेको छु ।’
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको मुख्य नेतृत्वमा हुँदा एकीकृत नेकपाले पूर्णता नपाएको बताउँदै उहाँले अब फेरि २०६३/०६४ सालको माओवादी बनेर सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी कार्यकर्ताको काँधमा आएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो,‘देश निर्माण गरौं टोलबाट,पार्टी निर्माण गरौं सेलबाट’भन्ने मूल नाराको साथ पार्टीलाई सुदृढ तुल्याउँदै नेतृत्व निर्माण गर्न ३० लाख संगठित सदस्य बनाउने पार्टीको योजना रहेको समेत उल्लेख गर्नुभयो ।
भेलालाई बागमती प्रदेश सचिवालय सदस्य तथा चौरी देउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम,माओवादी केन्द्रको काभ्रे जिल्ला सचिवालय सदस्य तेज पन्तले लगायतले सम्बोधन गर्नुभएको थियाे ।
भेलाले सुन लामाको अध्यक्षतामा चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको २७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ ।
टिप्पणीहरू