सेनामा संहार कि सुधार, उद्दार कि उपहार ?

सेनामा संहार कि सुधार, उद्दार कि उपहार ?

एउटा प्रधानसेनापतिलाई गुमराहमा राखेर राइँदाइँ चलाउने जर्नेलहरु अर्को प्रधानसेनापति आएपछि पनि सुख–सुविधामै रहन यही नेपालमा सम्भव छ । भर्खरै अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई दुईतिरबाट घेर्ने जर्नेल हुन्, अनन्त कार्की र प्रेमबहादुर शाही । यीमध्ये महेश बस्नेतका प्रिय अनन्त भक्तपुर गुण्डुका एमालेनिकट र प्रेमचाहिँ सुदूरपश्चिमका कांग्रेसहरुसँग बाक्लो सम्बन्ध भएका । भनिन्छ, उनीहरुले सेनाका आर्थिक योजनाहरु अर्को वर्ष तयार पार्ने भनी आर्थिक प्रशासन विभागलाई समेत अप्ठेरोमा पारे ।

भक्तपुरमा सैनिक स्वामीत्वको पोखरी जीर्णोद्धारका नाममा पार्किङ समेत चलाउने गरी नगरपालिकालाई दिनेजस्ता काम गरेको आरोप पनि यिनैमाथि छ । यी दुईमध्येका प्रेम सैनिक अपरेशन महानिर्देशक (डिजिएमओ) बाट पश्चिमी कमाण्ड सम्हाल्न सुर्खेत पुगेका छन् । खासमा पृतना कमाण्ड गरेपछि मात्रै हेडक्वार्टर छिराउने प्रचलन छ । यसअघि शिवराम प्रधानले माओवादीसँग ट्याकल गर्छन् भनेर रुक्माङ्द कट्वालले पोखरबाट तानेर डिजिएमओको जिम्मा दिएका थिए ।

तर, ‘ट्याकल’ गर्दागर्दै माओवादीसँग नजिकिएपछि कट्वालले नै कारबाही गरे । अहिले त्यस्तै सुविधा पाउने प्रेम शाहीले आफ्नो उमेर विवादलाई लिएर सेनाविरुद्ध मुद्दा हालेका छन् । त्यसमाथि कांग्रेसले आँखा चिम्लियो भने उनको उमेर सदर हुन पनि सक्छ । कट्वालको शैलीमा उमेर सच्चियो भने सैनिक परम्परा नै खत्तम हुने चिन्तामा जर्नेलहरु छन् । अनन्तले भक्तपुरस्थित जमिन पोखरी जीर्णोद्धारका नाममा नगरपालिकालाई दिँदा पूर्णचन्द्रलाई नै गुमराहमा पारेको चर्चा गरिँदैछ । अरुलाई भन्दा पोखरी सफा गरेर सौन्दर्यता बढाउन खोजेको दाबी गरिन्छ । खासमा त्यसैमा अनियमितता छ ।

उता, संविधान दिवसका अवसरमा यसपाली तक्मा पाउने बाबुराम श्रेष्ठ सिराहामा बाहिनीपति छँदा भर्ना छनौट काण्ड लागेर कोर्टमार्शलमा परेका थिए । निर्दोषिता प्रमाणित भएपछि अब उनी छिट्टै २ तारेमा बढुवा हुँदैछन् । त्यसपछि फुली थप्ने पालो सुरेश बानियाँको हो । उनी गत वर्ष दिवंगत जर्नेल कूलबहादुर खड्काका साढुभाइ हुन् । पोखरा एयरपोर्टमा एकपटक आफ्नै सिपाहीलाई गोली हानेको काण्ड फेरि व्युँतिएको छ । ‘माओवादी भनेर हानेको, तर आफ्नै केटा परेको उक्त काण्डमा !’ उनलाई सेनाले कारवाही गरेको थियो ।

उता, असोजमा जर्नेल ईश्वर हमाल अनिवार्य अवकास पाएर घर जान्छन् । उनी फोर्स कमाण्डरका रुपमा गोलान हाइटतिर खटिएका छन् । तर, नेपालमा पदावधि नथपिए पनि संयुक्त राष्ट्रसंघले १ वर्षको अवधि सुनिश्चित गर्ने बुझिन्छ । डेपुटी फोर्स कमाण्डरको रुपमा काम गरेका अर्का जर्नेल शिवराम खरेलको भने म्याद थपिएन । उनले नेपाल फर्किएपछि प्रधानसेनापति पूर्णचन्द्रसँग भेट पनि पाएनन् ।

अर्कातिर, भविष्यमा को शक्तिमा आउँछ भन्ने हिसाब नजन्दा अर्का जर्नेल राजेन्द्र कार्की सेकिएका छन् । उनी डिजिएमओ हुँदा हालका प्रधानसेनापति प्रभुराम शर्माहरुको जासुसी गर्न मान्छे खटाउँथे । हालै अवकास पाएका छन् । यदि प्रभुराम नभएको भए उनी प्रधानसेनापतिको लाइनमा आउँथे र अरुको बाटो साँघु¥याउँथे । दोलखाका हुन्, लेफ्टिनेन्ट जर्नेलबाट अवकास पाएका सुशीलराज कार्कीका छोरा । उनकी पत्नी श्रीमती संघमा दुई–तीनवटा चिफको कार्यकालमा सचिव भएकी थिइन् । जुनियर र सिनियर अफिसरका पत्नीहरुलाई प्रयोग गरेर अनियमितता गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

टिप्पणीहरू