प्रधानसेनापति कोषको १२ करोड स्वाहा
जङ्गी अड्डाभित्र रहेको प्रधानसेनापति कोषको १२ करोड रुपैयाँ शून्य मौज्दातमा पुगेको पाइएको छ । एक जना सेनापतिले अवकाश पाएको र नयाँले पदबहाली गरेको बेला उक्त विषय सार्वजनिक भएको हो ।
नेतृत्व परिवर्तन हुनुअगावै सेनाका सरुवा,बढुवा र शान्ति सेना मिसन समेत आउँदो एक बर्षलाई ठप्प हुनेगरी काम तमाम गरिसकिएको छ । ‘आफू अनुकूलको निर्णय पहिले नै भैसकेछ,’ सैनिक स्रोतले भन्यो ।
नयाँ नेतृत्व आउनुअघि नै पदम सिंह र सागर केसीलाई दुई तारे जर्नेलमा बढुवाको लागि सिफारिश गरिएको छ । केसी सैनिक कल्याणकारीका हाकिम हुन् भने नाताले लोकमानसिंह कार्कीका ज्वाईंसमेत हुन् ।
शान्ति सेनामा जानेहरुको नामावली र सूचीसमेत फाइनल भैसकेको पाइयो भन्दै स्रोतले बतायो, ‘मुख्य ठाउँ र निकायका बजेटसमेत सबै चालु आर्थिक वर्षको लागि अगाडि नै ठिक्क पारिएको छ ।’
यसबीच सेनामा झण्डै ३० करोड रुपैयाँ तलमाथि पारिएको रहस्य खुलेको छ । मेजर जर्नेल अनन्त कार्कीले नीतिमा बस्दा ३० करोड घोटाला गरेको सम्बन्धमा लेखापरीक्षकले कैफियत लेख्न लागेको थियो ।
सोेबारे हालका प्रधान सेनापतिलाई रिपोर्टिङसमेत भयो । ‘मौखिक कैफियत होइन, लिखित गर्नु । त्यसको लागि कारबाही गर्न तयार छु,’ प्रधानसेनापतिको जवाफ भन्दै स्रोतले उल्लेख गरेको छ ।
अहिले कार्कीलाई सेनाको प्रस्तावित राष्ट्रिय सुरक्षा विश्वविद्यालय,साँगा पुर्याइएको छ । यसअघि सेनाको भद्रकालीस्थित पेट्रोल पम्पबाट सेनापतिलाई मासिक ३ लाख र सस्तो पसलबाट मासिक १ लाख रुपैयाँ बुझाउने गरिएको अर्को तथ्य पनि बाहिरिएको छ ।
उक्त रकमलाई सेनाको उच्च तहमा ‘पकेट खर्च’ भनेर सम्बोधन गर्ने गरिन्छ । प्रधानसेनापति कोषमा रहेको झण्डै १२ करोड रुपैयाँ अहिले एकाएक शून्य मौज्दातमा झरेको सैन्य उच्च स्रोतले दाबी गरेको छ ।
कोषमा पेट्रोल पम्प,सडक निर्माणलगायतका क्षेत्रबाट प्राप्त हुने रकम जम्मा हुने गर्थ्यो । त्यसैबाट बील मिलाएर अतिथि खर्च र सत्कारको नाममा ह्वार्रह्वार्ती खर्च गर्ने गरिएको थियो ।
कुनै पनि बेला पम्प र अन्य ठाउँमा कुनै गम्भीर आर्थिक कैफियत देखिन आएमा उक्त रकम प्रधानसेनापति कोषमा जम्मा गर्ने गरेको रेडिमेड जवाफ दिन सेनामा संयन्त्र नै बनाइएको बुझिएको छ ।
लेखापरीक्षक र उसको कैफियतबाट जोगिन उक्त कोषलाई प्रयोग गर्ने उद्देश्य राखेर खर्च गर्ने गरिएको पाइएको हो ।
टिप्पणीहरू