सानिमा बैंकले गर्‍यो झिल्टुङ सामुदायिक भवन निर्माणमा सहयोग

सानिमा बैंकले गर्‍यो झिल्टुङ सामुदायिक भवन निर्माणमा सहयोग

नुवाकोटमा निर्माणाधिन झिल्टुङ सामुदायिक भवनलाई सानिमा विकास बैंकले सहयोग गरेको छ । नुवाकोटको बेलकोटगढी वडा नम्बर ६ मा निर्माणाधिन झिल्टुङ गाउँ सम्पदा बस्ति सामुदायिक भवनका लागि बैँकले एक लाख रुपैयाँ सहयोग गरेको हो ।

भवन निर्माणस्थल बेलकोटगढी -६ नेपालथोकमा भएको कार्यक्रममा सानिमा बैँक बेलकोटगढी शाखा प्रमुख रवि अधिकारीले एकलाखको चेक भवन निर्माण समितिलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकारीले सम्पदा संरक्षणका लागि निर्माण हुन लागेको सम्पदा बस्ति सामुदायिक भवनले इतिहासलाई भविष्यसँग जोड्ने भन्दै स्थानीयको पहलमा भइरहेको काममा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा सम्पदा बस्ति सामुदायिक भवन निर्माण समितिका अध्यक्ष गोकर्ण नेपाल, झिल्टुङ नेपाल समाजका सचिव नारायण नेपाल, नेपाली काङ्ग्रेस बेलकोटगढी-६का सभापति रेवती नेपाल लगायतको सहभागिता रहेको थियो । झिल्टुङ नेपाल समाजको पहलमा निर्माण थालिएको सामुदायिक भवनको लागत अनुमान एक करोड रहेको छ ।

सो भवनमा सभा हल, पुस्तकालय, संग्रहालय लगायतको संरचना हुने छ । तीन रोपनी जग्गामा निर्माण हुन लागेको सो सामुदायिक भवनको लागि एक रोपनी जग्गा लिला देवी नेपाल र सोमकुमारी नेपालले दान गर्नुभएको थियो । भवननिर्माण समितिका अध्यक्ष गोकर्ण नेपालले स्थानीय समुदायबाट सहयोग संकलन गरी सुरु भएको भवन निर्माण अभियान आर्थिक अभावका कारण अलपत्र परेकाले सहयोगको लागि सबैमा अनुरोध गर्नुभयो ।

टिप्पणीहरू