यसरी फेरियो काङ्ग्रेस र नेकपा(एस) ले लिने मन्त्रालय
केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारीको समझदारीसहित भोलि पाँचदलीय गठबन्धनको सरकार विस्तार हुने भएको छ । आज अपरान्ह दुई पूर्व र वर्तमान प्रधानमन्त्रीले बालुवाटारमा बसेर मन्त्रालय भागबण्डासमेत टुङ्ग्याएका हुन् ।
जसअनुसार अब राजदूतलगायत अन्य राजनैतिक नियुक्तिहरुको हेरफेर प्रक्रिया दशैँलगत्तै शुरु हुनेछ । अस्तिको सहमतिअनुसार निर्धारित कानून र स्वास्थ्य मन्त्रालय नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीले साँटफेर गरेका छन् । शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सहज हुनेगरी अधिवक्ता गोविन्द बन्दीलाई कानून मन्त्री बनाउने पूर्व सहमति नेपाली काङ्ग्रेसको मङ्ग्सिरमा हुने महाधिवेशनपछि कार्यान्वयनमा लाने आज दिउँसो सल्लाह भएबमोजिम उक्त मन्त्रालय काङ्ग्रेसले लिएर स्वास्थ्य नेकपा एसलाई दिइएको हो ।
अब शहरी विकासमा विरोध खतिवडा,पर्यटन तथा नागरिक उड्डयन या स्वास्थ्यमा रामकुमारी झाँक्री,श्रममा प्रेम आलेको भोलि नियुक्ति हुने सम्भावना छ । छ महिनापछि चुनावी सरकारमा अर्को टोली सामेल हुनेसमेत सल्लाह भएको बताइन्छ । आजको सहमतिअनुसार एक र ३ नम्बर प्रदेश सरकारको नेतृत्व लिनेसहित सात वटै प्रदेशमा यसैगरी नेकपा (एस) सामेल हुने प्रक्रिया भोलिदेखि नै अघि बढाइनेछ । बाग्मतीको हकमा मुख्यमन्त्रीको दावी गर्दै रहेका इन्द्र बानियाँलाई आफूले सम्झाउने जिम्मा प्रधानमन्त्रीले लिनुभएको श्रोत बताउँछ ।
टिप्पणीहरू