किन बढ्यो सोह्र श्राद्धमा विदेशी रक्सीको कोशेली ?

किन बढ्यो सोह्र श्राद्धमा विदेशी रक्सीको कोशेली ?

सामान्यतयाः सोह्रश्राद्धको आधा महिना मुलुकमा माछा, मासु र रक्सीको खपत अत्यन्त न्यून हुने गरेको छ । धार्मिक हिसाबले यो अवधिमा सबैजसो हिन्दू धर्मावलम्बीको घरमा श्राद्ध गरिने भएकाले घटस्थापनाको दिनसम्म बाह्रमासे जँड्याहाबाहेक मौसमीले अपवादबाहेक रक्सी किन्ने र पिउने गर्दैनन् ।

गत वर्ष कोरोनाको कारण सबैतिर चहलपहल बन्द थियो । बजार पनि सुनसान । खानपिन नियन्त्रणमा । तर यो वर्ष सोह्रश्राद्ध नलाग्दै बजारमा विदेशी रक्सीको माग ह्वात्तै बढेको छ ।

श्राद्धको सिजनमा खीर र रोटीको लागि दूध, चिनी र पिठोको माग बढ्नुपर्नेमा रक्सी त्यो पनि विदेशी ब्राण्डको बढेपछि सबैले अचम्म मानेका छन् । ‘यो काम विशेषगरी बैंक तथा वित्तीय संस्था र पुँजी बजारका खेलाडी र सेयर ब्रोकरहरूले गरेका हुन्,’ राष्ट्र बैंकका एक जना हाकिमले भने ।

उनका अनुसार विशेषगरी नियमनकारी निकायका ठूलाबडा र महत्वपूर्ण विभाग तथा इकाइका प्रभावशाली कर्मचारीलाई बाँडिएका कारण बजारमा सोह्र श्राद्धको समयमा विदेशी रक्सीको माग बढेको हो ।

दूतावाससहित बैंक तथा वित्तीय संस्थाहरूले विशेषगरी दलका नेताहरू, मन्त्रालयका सचिवहरू, सुरक्षाका हाकिमहरू, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखालाई लक्ष्यित गरी विदेशी रक्सीको बोटलसहित शुभकामना बाँडेका छन् ।

त्यसैगरी पुँजी बजारका खेलाडी, हाइड्रो लगानीकर्ता र सेयर ब्रोकरहरूले बीमा समिति, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, विद्युत नियमन आयोग, नेपाल स्टक एक्सचेञ्ज र कम्पनी रजिष्ट्रारको कार्यालयमा काम पर्ने ठाउँका कर्मचारीलाई पनि उत्तिकै रक्सी बाँडेको स्रोतको दाबी छ ।

कार्यालयमा रक्सी बोकेर जाँदा आपत आइलाग्ने भएपछि पछिल्ला दिनमा डिजिटल कुपनको प्रयोग गर्न थालिएको छ । सम्बन्धित कर्मचारीलाई भाइबर वा मेसेन्जरबाट कुपन पठाइन्छ ।

उनीहरू मोबाइलमा प्राप्त उक्त कुपन लिएर तोकिएको डिपार्टमेण्टल स्टोर वा वाइन सेन्टरमा पुगेपछि प्याक गरिएको एउटा बोटल प्रदान गर्ने व्यवस्था मिलाएको समेत पाइएको छ ।

ठूलाबडाको हकमा भने घर नै पत्ता लगाएर धुईंपत्तालसँग ढोकामा पुगी सम्बन्धितको हातमा टक्र्याउने गरिएको छ । कतिपय नयाँ हाकिमको घर पत्ता लगाउन गुगल सर्च गरिएको समेत देखिन आएको छ ।

काम फत्ये गर्न बाँडिएका त्यस्ता कोसेली सबैले बुझेका भने छैनन् । कसै कसैले कोसेली बुझ्न अनुरोध गर्नेलाई हिजो वास्ता नगर्ने, आज ठाउँ हेरेर जुठो लाउन खोज्ने भन्दै भित्तो पुग्ने गरी गाली गरेको समेत सुनिएको छ ।

टिप्पणीहरू