तलब मात्रै ख्वाएर हुन्छ र कहिँ तरक्की ?

तलब मात्रै ख्वाएर हुन्छ र कहिँ तरक्की ?

नेपालका उच्च शिक्षामा जनशक्ति अभावले गुणस्तरीय शिक्षा प्रदानमा चुनौती देखिएको सरोकारवालाले बताएका छन् । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा हिजो उच्च शिक्षा प्रदायक संस्थाको व्यवस्थापकीय सुधारः चुनौती र अवसर विषय छलफल कार्यक्रममा उच्च शिक्षामा जनशक्तिको अभाव प्रमुख समस्याका रुपमा रहेको औंल्याइएको थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले सरकारले तलब खानेभन्दा अरु पैसा नदिने हुँदा जनशक्ति थप्न नसकिएको बताउनुभयो । १७ हजार शिक्षक तथा कर्मचारीको दरबन्दी भएको विश्वविद्यालयका प्राध्यापकहरुको काठमाडौं मात्र बस्ने प्रवृत्तिले पनि उच्च शिक्षाको व्यवस्थापनमा सुधार हुन नसकेको उहाँको भनाइ छ।

१७ हजार शिक्षक तथा कर्मचारीको दरबन्दी भएको विश्वविद्यालयका प्राध्यापकहरुको काठमाडौं मात्र बस्ने प्रवृत्तिले पनि उच्च शिक्षाको व्यवस्थापनमा सुधार हुन नसकेको उहाँको भनाइ छ।

जनशक्तिका साथै राजनीतिक हस्तक्षेपले पनि विश्वविद्यालयको उच्च शिक्षा धराशायी भएको उहाँले बताउनुभयो। विश्वविद्यालयका कार्यक्रमहरुलाई व्यवस्थापन गर्न क्याम्पसहरु आफैपनि अगाडि बढ्नुपर्ने सुझाव दिदैं उहाँले सरकारलाई लक्षित गर्दै विश्वविद्यालयका कार्यक्रम स्वीकृत गर्ने तर अर्थ मन्त्रालयबाट दरबन्दी नदिने अवस्था अहिले पनि कायमै रहेको जानकारी दिनुभयो।

राजनीतिक दबाबलाई खबरदारी गर्दै मुलुकमा आवश्यक जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयहरु लाग्नु पर्ने उहाँको भनाइ छ। प्रा.डा. महानन्द चालिसेले देशमा ८० प्रतिशत शिक्षाको भार त्रिभुवन विश्वविद्यालयले लिएको बताउँदै कर्णाली प्रदेशकै गौरव हुने गरी सुर्खेत बहुमुखी क्याम्पसलाई विकास गर्नुपर्ने उल्लेख गर्नुभयो।

उहाँले विश्वविद्यालयको व्यवस्थापन सुधारमा प्राध्यापक, विद्यार्थी,प्रशासकीय निकाय सवै गम्भीर हुनुपर्ने सुझाव दिनुभयो। यस्तै उपप्राध्यापक डा. दीपक गौतमले स्वच्छ छवि भएका व्यक्तिहरु मध्येबाट नेतृत्व हुने गरी सन्चालक समितिको निर्माण गर्नुपर्ने,समयलाई महत्वका साथ लिनुपर्ने र क्याम्पसलाई शैक्षिक क्षेत्रको आँखाको नानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सुर्खेत बहुमुखी क्याम्पस प्रमुख माधव खनालले आफूहरु इमान्दारिताको सपना लिएर अगाडि बढिरहेकाले लक्ष्यमा पुग्न सफलता मिल्ने दावी गर्नुभयो । उहाँले चुनौती र अवसर दुबै भएपनि भौतिक पूर्वाधारको समस्या रहेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु डा. महेन्द्रकुमार मल्ल,टंकप्रसाद आचार्यलगायतको उपस्थिति थियो।

टिप्पणीहरू