कमरेडहरु क–कसको पद काटिँदै
नेता धेरै, पद थोरै हुँदा झन् बढी भद्रगोल हुनसक्ने खतरा देखिरहेका छन्, एमालेकै नेताहरु । हालै ललितपुरको गोदावरीस्थित सनराइज कन्फरेन्स हलमा सम्पन्न विधान महाधिवेशनमा पहिला तीन उपाध्यक्ष रहने मस्यौदा पेश भयो । समूहगत छलफलका आधारमा फेरि एक वरिष्ठसहित पाँच उपाध्यक्ष बनाइयो ।
तर, ती पदमा राखिने व्यक्ति को हुन् भन्ने कुरा स्वयं केपी ओलीबाहेक अरुलाई थाहा छैन । कसै कसैले अनुमान लगाएका छन्, ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाइने । तर, भएको महासचिवमा पनि भूमिकाहीन बनाउने केपीले त्यसो गर्नुहुन्न भन्ने अर्काथरिको तर्क छ । माधव नेपालको साथ छाडेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरु राजनीतिमा ईश्वरभन्दा वरिष्ठ हुन् । उनीहरु हुँदाहुँदै ईश्वरलाई टिपियो भने वास्तविक वरिष्ठहरु रिसाउने खतरा हुन्छ ।
बूढाखाडा नेतामध्येबाट एकजनालाई अनुशासन आयोगको अध्यक्ष बनाइने सम्भावना छ । त्यसमा अष्टलक्ष्मी वा युवराज ज्ञवालीलाई व्यवस्थापन गरिने सम्भावना छ । बाँकी उपाध्यक्षमा रामबहादुर थापा (बादल) र सुवास नेम्वाङलाई लैजाने केपीको मनस्थिति बुझिन्छ । तर, भएकै उपाध्यक्ष भीम रावलको अवस्था के हुन्छ ? यसबारे कसैले केही बोलेका छैनन् । किनभने, यसचोटि प्रतिस्पर्धाबाट पदहरु चयन गरिँदै छैन ।
व्यक्तिले पद चयन गर्दा वरिष्ठतामात्रै हेरेर हुँदैन, भूगोल, समावेशिता र इतिहासका आधारमा पनि व्यक्तिहरुको व्यवस्थापन गर्नुपर्ला । यदि निर्वाचनबाट पदाधिकारी निर्वाचित गर्ने भनियो भने अहिलेको एमालेमा केपी पक्षका बाहेक अरु कसैले जित्ने छाँटकाँट हुँदैन । त्यसमा पनि माओवादीबाट आउनेहरु त शून्यमा झर्छन् । त्यसैले मधेसबाट सत्यनारायण मण्डललाई उपाध्यक्ष बनाइने सम्भावना छ ।
रघुवीर महासेठले नवौँ महाधिवेशनताका सचिवमा हारेका थिए । उनलाई सचिव नै बनाउने केपीको चाहना छ । महासचिव विष्णु पौडेल र उपमहासचिव शंकर पोखरेल भने निश्चित छन् । तर, भएका सचिवहरुलाई कहाँ राख्ने ? यसबारे केपीले मुख फोरिहाल्नु भएको छैन । अहिले पाँच सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, पृथ्वीसुब्बा गुरुङ एमालेमै छन् । त्यसमाथि माओवादीबाट गएका टोपबहादुर रायमाझी र लेखराज भट्टहरुको व्यवस्थापन के हुन्छ भन्ने टुंगो छैन । रघुजी पन्तलाई केपीले राम्रो पदमा राख्नुहोला भन्ने कुरामा स्वयं रघुलाई विश्वास छैन । त्यसमाथि एक महिला, एक मधेसी, एक जनजाति, एक दलितलाई पदाधिकारी बनाउनै पर्ने दबाब छ ।
महिलामा सबभन्दा सिनियर राधा ज्ञवाली र थममाया थापा हुन् । त्यसपछि बिन्दा पाण्डे पर्छिन् । तर, विधान महाधिवेशनको हलमै बिन्दाले ७० वर्षका बारेमा उठाएको प्रश्न सुनेर केपीले अनुहार बिगारिसक्नुभएको थियो । बिन्दाले ‘७० वर्ष पुगेका नेतालाई केक काटेर बिदा गर्नुपर्छ’ भनेर त्यही बेला मिडियामा बोल्दा केपीको अनुहार रातो भएको हो ।
अहिलेको एमाले कस्तो पार्टी भयो भने, जसले त्यहाँ ओलीको विकल्प खोज्ला ऊ कि माधवको पार्टीमा जानुप¥यो, कि राजनीति छाडेर बस्नुप¥यो ! उपत्यकाबाट अष्टलक्ष्मीपछि व्यवस्थापन गरिनुपर्ने नेता हुन् कृष्णगोपाल श्रेष्ठ, सुरेन्द्र मानन्धर, रामवीर मानन्धरहरु । त्यस्तै, यामलाल कँडेल, खगराज अधिकारीलाई पनि पदाधिकारी बनाउनु छ ।
तर, सम्भव कसरी होला यो सब ? प्रश्न जटिल छ । सबभन्दा जटिल त घनश्याम भुषालको व्यवस्थापनमा छ । उनी माधव नेपालसँग रहेको भए कन्फर्म महासचिव, कन्फर्म उपप्रधानमन्त्री । ती सारा अवसर छोडेर एमालेमा रहेका उनलाई केपीले उपाध्यक्ष बनाउने सम्भावना छैन, महासचिव बनाउने त झन् कुरै भएन । एउटा उपमहासचिव पनि शंकर पोखरेललाई बनाउने तयारी छ । घनश्याम अहिले नै उपमहासचिव हुन् । तिनलाई सचिव बनाएर राख्ने कुरा पनि भएन ।
टिप्पणीहरू