एमालेमा ‘बा’ भन्नेहरु नै दुईतिर

एमालेमा ‘बा’ भन्नेहरु नै दुईतिर

माधव नेपाल समूह बाहिरिएसँगै एकढिक्का रहेको भनिएको नेकपा (एमाले) को विवाद अझै सुल्झिएको छैन । केन्द्रमा अध्यक्ष केपी शर्मा ओली निर्विकल्प नेताका रुपमा प्रस्तुत गरिए पनि तल्ला कमिटीका भने विवाद बाहिरिन थालेका हुन् ।

माधव समूह छाडेर एमालेमै फर्किएको ‘तेस्रो धार’ को नगन्य असन्तुष्टिलाई छोडेर एमाले अहिले ओलीमै केन्द्रित छ । तर, तल्ला तहमा भने अध्यक्ष ओलीलाई ‘बा’ भन्नेहरु नै विभिन्न बहानामा विभाजित देखिएका छन् । कीर्तिपुरमा एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को समूहले बहिष्कार गरेपछि यस्तो विवाद बाहिरिएको हो ।

राधाकृष्ण बस्नेत अध्यक्ष रहेको कमिटीले आज आयोजना गरेको चियापान कार्यक्रमलाई विकास महर्जन अध्यक्ष रहेको ०७५ जेठ २ अघिको नगर कमिटीले बहिष्कार गरेको छ ।

बस्नेत पक्षले कीर्तिपुर-९ न:गाउँस्थित बागभैरव पार्टी प्यालेसमा दशैँ,तिहार,नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ । महासचिव ईश्वर पोखरेलको उपस्थिति रहेको भनिएको उक्त कार्यक्रमलाई विकास पक्षले भने बहिष्कार गरेको छ ।

अध्यक्ष विकास महर्जनले आज चियापान कार्यक्रम आयोजना नगरिएको जानकारी गराउँदै भ्रममा नपर्न आग्रह गरेका छन् ।’नेकपा एमाले कीर्तिपुर नगर कमिटीले हालसालै चियापान कार्यक्रम आयोजना नगरेको सम्पूर्णमा जानकारी गराउँदछौँ’, उनले भनेका छन् ।

विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन चियापान कार्यक्रम आयोजना हुने गरेको भन्दै उनले यसवर्ष पनि सोही दिन कार्यक्रम गरिने बताएका छन् । उनले भने,’नेकपा एमाले कीर्तिपुर नगर कमिटीबाट विगतका वर्षहरुदेखि नै विजया दशमी,नेपाल संवत,शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा लक्ष्मी पूजाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आइरहेको सम्पूर्णमा स्मरण गराउँछु । यस वर्ष पनि लक्ष्मीपूजाकै दिन कार्यक्रम हुने सबैलाई अवगत गराउन चाहन्छु ।

यता,महासचिव पोखरेल सहभागी कार्यक्रममा एमाले उपत्यका ईन्चार्ज कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ जिल्ला अध्यक्ष कृष्ण राई,बाग्मती प्रदेशसभा सदस्य तथा नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न. १० का क्षेत्रीय सभापति पुकार महर्जन,कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन,उपमेयर सरस्वती खड्का लगायतको उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू