मोतिपुरमा भिडन्त,गोली चल्यो,दुई घाइते
रुपन्देहीको बुटवलस्थित मोतिपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो ।
गोली लागेर दुई जना घाइते भएका छन् । बुटवल औध्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको बताइन्छ । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा भएको र सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।
घाइतेमध्ये एक जनाको टाउको र एक जनाको छातीमा गोली लागेको बताइएको छ । औध्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्द आचार्यले जानकारी दिए । उनले भने, ‘घाइतेहरुलाई अस्पताल पठाउँदैछौं ।’
बुटवलमा जग्गा अतिक्रमण गर्नेको लाम, चाडपर्वमा पनि हटेन जाम
मोतिपुरमा छ वर्षअघि नै पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको प्रस्तावित औद्योगिक क्षेत्रको जग्गामा अहिले दैनिक सयौँको संख्यामा मानिसको भीड हुने गरेको छ । बुटवल उपमहानगरपालिका,सिहारी गाउँपालिका र शुध्दोधन गाउँपालिकामा पर्ने सावर्जनिक जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने भन्दै चैत १ गते शिलान्यास गरिएको थियो । अहिले त्यहि क्षेत्र र जग्गामा मानिसको मेला र भीड लाग्न थालेको हो ।

उक्त सावर्जनिक जग्गाको केही भाग सुकुम्वासी बसोबासका नाममा अतिक्रमण गर्ने उद्देश्यले करिब दुई सय बिगाहा क्षेत्रफलमा दिनभर मानिले झुपडी बनाउँदै धर्ना दिन थालेका हुन् । शिलान्यास भनिएकै दिनदेखि विभिन्न अवरोध देखिएको उक्त क्षेत्रमा हालसम्म औद्योगिक क्षेत्र स्थापना सम्बन्धमा भने केही पनि काम भएको देखिँदैन ।
राजनीतिक खिचातानी र स्थानीयको अवरोधका कारण काम हुन नसकेको सरोकारवाला पक्ष र सरकारी निकायहरुले बताउँदै आएका छन् । यहि मौका छोपेर केही महिना अघिदेखि मुलुकका विभिन्न भेगबाट आएका झण्डै डेढ सय जनाले सो क्षेत्रमा झुपडी बनाएर धर्ना दिन थालेका हुन् ।
प्रायः बिहान ८ बजे प्रस्तावित औद्योगिक क्षेत्रमा हाजिर हुने र साँझ गाडी रिजर्भ गरेर घर फर्कने उनीहरुको दैनिकी नै बनेको छ । सार्वजनिक जग्गा हडप्न खोज्ने सयौंलाई हटाएर प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा संरक्षण गर्नेबारे जिल्ला प्रशासन कार्यालय रुपन्देहीलेले समेत कुनै चाँसो नदेखाएको स्थानीयको आरोप छ ।
यसबारे आज जनआस्थासँग कुराकानी गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त क्षेत्रको अवस्थाबारे सुरक्षा निकायले आवश्यक निगरानी गरिरहेको जवाफ दिनुभएको छ । उहाँले सो क्षेत्रमा बेलाबखत प्रहरी र जग्गा कब्जा गर्न खोज्नेहरुबीच तनाव सिर्जना हुने गरेको बताउनुभयो । त्यसो त औद्योगिक क्षेत्रको शिलान्यास गर्ने क्रममा तत्कालीन अर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु पौडेललाई स्थानीयले अवरोध गरेका थिए ।
टिप्पणीहरू