हितेन्द्र शाक्य विपश्यनाको शरणमा
नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर ऊर्जा आयोगमा पठाइएका हितेन्द्रदेव शाक्य मानसिक र शारीरिक आरामको लागि ध्यानमा जुटेका छन् ।
सरकारले हठात् प्राधिकरणबाट हटाएर आयोगमा पठाएपछि उनलाई मुटुसम्बन्धी समस्या देखिएको थियो । मुटुको उपचारको निम्ति शाक्यले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर उपचार पनि गराएका थिए ।
कानुन विपरित प्राधिकरणबाट हटाएर ऊर्जा आयोगमा सरुवा गरिएको भन्दै शाक्यले सर्वोच्च अदालतमा पेश गरेको मुुद्दा विचाराधीन छ । यसअघि अन्तरिम आदेश माग गरिएको उक्त मुद्दामा अदालतले कारण देखाऊ आदेश मात्र दिएपछि शाक्य थप चिन्तित बनेका हुन् ।
मुद्दा पनि विचाराधीन रहेको र मुटुलगायतका रोगले पेल्न थालेपछि शाक्य ध्यान र योगातर्फ लागेको पारिवारिक स्रोतले बताएको छ । उनी अहिले काठमाडौंको बूढानीलकण्ठस्थित धम्मश्रृङ्ग विपश्यना तथा ध्यान केन्द्रमा मौन बसेर ध्यानमा तल्लिन भएका छन् । १५ दिनको प्याकेजमा उनी असोज दोस्रो सातादेखि त्यहाँ पुगेका हुन् । दशैंभर शाक्य विपश्यनामा नै हुने बताइन्छ ।
अस्पतालको उपचारपछि बिदाको मौका छोपेर ध्यान,योगा र विपश्यनामा जानेहरुमध्ये अधिकांश ठूला ओहोदामा बसेका पदाधिकारी, अस्पतालमा उपचारपछि तङ्ग्रेका बिरामी र चिन्ताग्रस्त व्यक्तिहरु हुने गरेको विपश्यना केन्द्र स्रोतले जनाएको छ । शाक्यसहितको अहिलेको टोली असोज मसान्तसम्म शिविरमै रहनेछ ।
टिप्पणीहरू