प्यालेष्टिनी युवाको घरमा सर्पै सर्प, एकको मोल १३ सय डलर
प्यालेष्टाइनमा एक जना युवाले घरभरि सर्प पालेका छन् । उनको घरमा विश्वमा पाइने अधिकांश विषालु सर्प पालिएको छ ।
१२ वर्षको उमेरमा सर्पप्रति रुचि राखेका उनको घरमा अहिले सर्प, मुसा,खरायोलगायतका जीव जन्तुको लर्कन देख्न पाइने चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
२० वर्षका मोहम्मद नासरी प्यालेष्टाइनको वेष्ट ब्याङ्कका वासिन्दा हुन् । १२ वर्षको उमेरमा सर्पप्रति मोह जागेको बताउने नासरी अहिले अजंगका सर्पहरुसँग मज्जाले खेल्ने गर्छन् । ती सर्पसँग उनी मुख,हात र गोडाले समेत हाँसीहाँसी खेल्छन् ।
घरसँगैको ठूलो कोठामा सर्प पालेका छन् । समय समयमा ती सर्पलाई रुचिअनुसारको खाना दिन्छन् । उनीहरुको कोठाको तापक्रमसमेत मिलाइदिने काम पनि मोहम्मदकै हो ।
शौखलाई विस्तारै निरन्तरता दिएपछि अहिले उनी सर्पको व्यवसाय नै गर्न थालेका छन् । मोहम्मद प्यालेष्टाइनमा चर्चित सर्प व्यापारी नै बनेका छन् ।
यसबीच उनले १५ वर्षको उमेरमा बर्मेली अजिंगरलाई बेचेर १३ सय अमेरिकी डलर बुझेपछि सर्पलाई व्यावसायिक रुपमा पाल्ने जाँगर आएको बताएका छन् । मोहम्मदले उक्त अजिंगरलाई ल्याउँदा ६० सेन्टिमिटरको थियो । पालेर हुर्काउँदै बेच्ने बेलामा ४ मीटर लामो भयो ।
उनको घरमा भारतीय गोमन सर्प पनि पालिएको छ । अफ्रिकामा पाइने हरियो एनाकोण्डा नामको विषालु सर्प पनि राखिएको छ । सर्प पाल्न थालेपछि त्यसको आहाराको निम्ति विभिन्न जातका मुसा,खरायो र अन्य जीवसमेत पालेका छन् ।
झण्डै एक दशकको सर्प पालनपछि मोहम्मदले सर्पले टोकेपछि लगाउनुपर्ने खोपको विकास गर्ने सोचाई समेत राखेका छन् । तर,प्यालेष्टाइनमा हाल उक्त खोप विकासको निम्ति स्वास्थ्य पूर्वाधार नभएकाले तत्काल सम्भव नभएको बताइन्छ ।
यी सबै कार्यले अहिले मोहम्मदको घर प्यालेष्टाइनको वेष्ट ब्याङ्कका स्थानीयको निम्ति मात्र नभई विदेशी पर्यटकको लागि समेत आकर्षणको केन्द्र बनेको छ ।
टिप्पणीहरू