टुँडिखेलमा राष्ट्रपतिलाई मालश्री धुन,सेनापतिलाई बिसन्चो
आज राजधानीको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मालश्री धुन सुनाइयो । धुनसँगै आकाशबाट पुष्पवृष्टि समेत गराइयो । नेपाली सेनाले आफ्ना परमाधिपतिको सामुन्ने उक्त कार्य गरेको हो । कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्मा भने अनुपस्थित हुनुहुन्थ्यो ।
अहिलेको बेलामा ज्वरो आएकाले शर्मा कार्यक्रममा अनुपस्थित हुनुभएको सेनाले स्पष्ट पारेको छ । पीसीआर परीक्षणमा कोभिड नेगेटिभ देखिए पनि ज्वरोलाई ध्यानमा राखेर टुँडिखेल नजानुभएको बताइन्छ । बलाध्यक्ष रथी बालकृष्ण कार्कीले आज कामु प्रधान सेनापतिको भूमिका निभाउनुभएको हो ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती बढाईं समारोहको आयोजना गरेको हो । सेनाले सम्मान गारतद्वारा राष्ट्रपतिलाई सलामी अर्पणललगत्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । त्यसछि लहरे, एकठ्ठा र आफूखुशी बढाईं गरिएको नेपाली सेनाले जनाएको छ ।
तोपबाट पनि लहरे र एकठ्ठा बढाईं गरिएको थियो । नेपाली सेनाको महिला गुल्म सम्मिलित टोलीले मार्च पास गरेको थियो । त्यहि बेला ब्याण्डले ओमकार फर्मेशनमा मालश्री तथा दुर्गा भजनको धुन सुनाएको हो ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री,प्रधानन्यायाधीश, सभामुख,राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु,संवैधानिक अङ्गका प्रमुखहरु,मुख्यसचिव तथा सचिवहरु,सुरक्षा निकायका प्रमुखहरु,नेपाल सरकारका उच्चपदस्थ अधिकारी, पूर्वप्रधानसेनापतिहरु,बहालवाला रथीवृन्द लगायतको उपस्थिति थियो ।


टिप्पणीहरू