बियरका बोतलले हान्दा सात प्रहरी घाइते

बियरका बोतलले हान्दा सात प्रहरी घाइते

रुकुम पश्चिममा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा सात प्रहरी घाइते भएका छन् । शुक्रबार राति सदरमुकाम मुसिकोटस्थित बागबजारमा भएको झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते बोहरालाई राती नै थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाण्डौ लगिएको बताइएको छ । उनको तल्लो भागको तीन वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दाँत हल्लिएको र टाउकोमा गम्भिर चोट रहेको प्रहरीले बताएको छ ।

त्यसैगरी,प्रहरी हवल्दार कालिबहादुर बोहराको दाहिने हातको बूढी औंला र ढाडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना भने पनि सामान्य घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार शुक्रबार राती पौने नौ बजे मुसिकोट नगरपालिका-१ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र समातेको बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचनाका आधारमा कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली परिचालन गरिएको थियो । टोलीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतलसमेत प्रहार गरेपछि मुठभेडको अवस्था बनेको हो ।

घटनामा संलग्न ६ पक्राउ, ४ फरार

घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ४ जना फरार रहेका छन् । पक्राउ पर्नेहरुमा मुसिकोट-५ का २० वर्षीय नरेश पुन मगर, वडा नम्वर १ का १८ वर्षीय राजन प्रकाश गिरी, सोहि ठाउँका वर्ष २० का आकाश परियार र वर्ष २५ का हरि बहादुर घर्ती रहेका छन् । त्यस्तै, मुसिकोट-१० का २४ वर्षीय खडानन्द के.सी. र रुकुम पूर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट-५ बस्ने वर्ष २३ को मर्कुश पुन मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न धनिराम नेपाली, स्वयल बिक, निसान पुन र बिक्कु भन्ने विकास परियार फरार छन् । उनीहरुको खोजि भैरहेको जनाईएको छ ।

टिप्पणीहरू