नेताले चाहे भने देश फेरिन कति बेर ?

नेताले चाहे भने देश फेरिन कति बेर ?

प्रजातान्त्रिक समाजमा नेतालाई जनताले छानेर माथिल्लो तहमा पुर्याउँछन् । मुलुक र जनताको विकाससम्बन्धी रचनात्मक कार्य गर्ने वा नगर्ने भन्ने विषयमा उनीहरूकै ठूलो हात हुने गर्दछ ।

त्यसैले ठूलो पदमा पुगेका नेताले चाहे भने त्यो देश छोटो समयमा स्वर्ग र नचाहे त्यही देश विकास र समृध्दिको दृष्टिकोणबाट नर्कसमेत बन्न सक्छ ।

यसको उदाहरण बने मार्क्सवादी क्रान्तिकारी थोमस संकारा । जसले आफ्नो चार वर्षको समयमा तत्कालीन अपर भोल्टा भन्ने देशको नाम र नक्सा नै फेरिदिए ।

उनले सन् १९८३ मा सैनिक विद्रोह गरेर सत्ता हातमा लिएका थिए । लगत्तै सैनिक क्याप्टेन ३३ वर्षीय थोमसले मुलुकको नाम अपर भोल्टाको सट्टा बुर्किनाफासो राखिदिए । जसको अर्थ स्थानीय भाषामा इमान्दार जनताको मुलुक भन्ने हुन्छ ।

त्यसपछि उनले देशव्यापी साक्षरता अभियान नै चलाए । फलस्वरूप बुर्किनाफासोमा सन् १९८३ मा १३ प्रतिशत रहेको साक्षरता दर चार वर्षको अवधिमा १९८७ मा एकाएक ७३ प्रतिशत पुगेको थियो ।

उक्त अवधिमा उनले २५ लाख बालबालिकालाई एकाध हप्ताभित्रै मेनेन्जाइटिस,कमलपित्त र दादुराको खोप लगाएका थिए । त्यसैगरी जमिन्दारहरुबाट कानुनले तोकेको हदभन्दा बढी जमिन खोसेर किसानलाई बाँडिदिए । यी सबै कार्यसँगै उनले मुलुकलाई मरभूमिकरण हुनबाट रोक्न १० लाख बिरुवा रोप्न लगाए ।

राष्ट्रिय एकता कायम राख्न उनले ‘जसले जनतालाई खुवाउँछ उसले नै नियन्त्रण पनि गर्छ’ भन्ने नारालाई आत्मसात् गर्न लगाउँदै वैदेशिक सहायता नलिई आन्तरिक स्रोतबाट सडक र रेलमार्ग निर्माण गरिदिए ।

सबैजसो महँगा मर्सिडिज कारहरु बेचिदिए । त्यसबखत बुर्किनाफासोमा उपलब्ध सबैभन्दा सस्तो कार मन्त्रीहरुलाई प्रयोग गर्न लगाए र आफूले समेत रेनल्ट कम्पनीको सबैभन्दा सस्तो सवारी साधन चढे ।

सरकारी कर्मचारीलाई आफ्नै देशमा बनेको घरेलु कपडाको पोशाक अनिवार्य गरिदिए । तर, मुलुक र जनताको लागि त्यति धेरै योगदान गरेका उनको सन् १९८७ को अक्टोबर १५ मा हत्या गरियो । तर, सबैलाई सुन्दा अचम्म लाग्नसक्छ सैनिक विद्रोहबाट सत्ता हातमा लिएका थोमसको कार्यालयमा भने एअरकण्डिसन थिएन । त्यसमा उनको तर्क थियो, ‘यो विलासिता हो, सबै जनताले उपभोग गर्न सक्दैनन् ।’

उनको हत्या आफ्नै एक जना सहयोगी ब्लेज काम्पाओरेले गरेका हुन् । भनिन्छ उक्त घटनामा फ्रान्स र अमेरिकाको हात थियो । तर, अहिलेसम्म स्वतन्त्र पुष्टि भएको छैन ।

उनको राष्ट्रप्रेम र जनमुखी कार्यले गर्दा काम्पाओरेलाई त्यतिबेला अफ्रिकाका चे ग्वेभारा भनिन्थ्यो । संयोग पनि कस्तो भने,हत्या हुनु एक साताअघि उनले बुर्किनाफासोमा चे ग्वेभाराको २० औं स्मृति दिवस मनाएका थिए ।

त्यहि कार्यक्रममा उनले भनेका थिए, ‘क्रान्तिकारीलाई व्यक्तिका रुपमा मार्न सकिन्छ तर विचारलाई कदापि मार्न सकिँदैन ।’ नभन्दै अर्को साता हत्या गरियो,तर उनका राष्ट्रवादी कार्यको आजसम्म पनि त्यहाँ मुक्तकण्ठले प्रशंसा गर्ने गरिएको छ ।

हत्या हुँदा थोमसको उमेर ३७ वर्ष थियो भने चे ग्वेभाराभन्दा उनी जम्मा दुई वर्षले मात्र कम उमेरका थिए ।

टिप्पणीहरू