जताततै बेवारिस शव, आज ८ वटा फेला

आज मुलुकका विभिन्न भागमा आठ वटा बेवारिस शव फेला परेका छन् । धनुषा, झापा, सुनसरी, चितवन, सर्लाही, कास्की र नुवाकोटमा ती शवहरु फेला परेका हुन् ।

धनुषाको नगराईन नगरपालिका–७, नवटोलीस्थित सडक छेउमा अपरिचित ४० वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका हुन् । धारिलो हतियार प्रहारबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलबाट १ थान खुकुरी बरामद भएको छ ।

उता झापाको गौरीगञ्ज गाउँपालिका–२, कोरोबारी बस्ने ३७ वर्षीय चैतुलाल राजवंशी आफ्नै घरको बरण्डामा आज मृत अवस्थामा फेला परेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१०, डाँडागाउँस्थित सुमित्रा देवी पाण्डेको घरमा ज्याला मजदुरी गरी बस्दै आएका ५० वर्षीय ज्ञानबहादुर श्रेष्ठ घर नजिकैको गोठमा आज मृत फेला परेका छन् । उनी उदयपुरको त्रियुगा नगरपालिकाका हुन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२, मिया टोलस्थित नहर पुल छेउमा इटहरी उपमहानगरपालिका–८, ढोका पुल बस्ने दिलबहादुर लिम्बुका ५ वर्षीय छोरा सुजन लिम्बु आज मृत अवस्थामा फेला परेका छन् । मोरङ सुनसरी सिँचाई आयोजनाको नहरले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको हो ।

त्यसैगरी धरान उपमहानगरपालिका–८, स्थित बुद्ध बिहारमा बस्दै आएका ओखलढुङ्गा रुम्जाटार घर भएका ४३ वर्षीय रविन राई सुतेको कोठामा आज मृत फेला परेका छन् ।
सर्लाहीको बागमती नगरपालिका–१०, दमाई टोल बस्ने श्याम साहको हाल बन्द रहेको कुखुरा फर्ममा अपरिचित ४५ वर्षीय पुरुष पनि आज मृत अवस्थामा फेला परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–२९, पट्नेरीमा पनि अपरिचिति ३५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका–८, कासिटारस्थित सडक नजिकैको धान खेतमा अपरिचित ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

यी सबै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू