झाँक्री मार्ने सर्प शिशाको बन्द बट्टामा

झाँक्री मार्ने सर्प शिशाको बन्द बट्टामा

-कमल भट्टराई

ताप्लेजुङको फुङलिङ नगरपालिका–९, हाङ्देवा निवासी कृष्णबहादुर घतानी केही वर्षयता भाइरल झाँक्रीका रुपमा चिनिन्थे । विशेष गरी मोरङको बेलबारी क्षेत्रमा मानिस बिरामी हुँदा घतानीको तन्त्रमन्त्रको खोजी हुने गर्थ्यो ।

सोही क्रममा पाँच छ वर्ष पहिले दुर्घटनामा परेर ज्यान गुमाएका जीवन राईको भड्केको आत्माले दुःख दिएको घतानीको दाबीपछि सिंगो समाज दुई धारमा विभाजित भयो ।अध्यात्मवाद र भौतिकवाद पत्याउने र नपत्याउने दुई पक्षबीच निकै तर्क–बितर्क चलन थाल्यो ।

“पहाडमा पहिले यो जातको सर्प थियो कि थिएन ? सर्पको डसाइबाट मानिसहरु पहाडमा किन मर्न थाले ? कहाँबाट यो जातको सर्प आयो ?”

झाँक्री घतानीले जीवनको समाधिस्थलमा अझै आलो रगत र शरीरका केही भाग रहेको र त्यसलाई पुष्टि गर्न नसके आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएपछि तान्त्रिक विधिद्वारा राईको समाधिस्थल उत्खनन् गरियो । उत्खनन् गर्दा झाँक्रीले भनेबमोजिम नै भेटिएपछि घतानी भाइरल झाँक्रीका रुपमा परिचित भए ।

भाइरल झाँक्री बनेका घतानी दशैँको टीकाको दिन साँझ ८ बजेतिर हाङ्देवास्थित आफ्नै घर नजिक सर्पको डसाइमा परे । सर्पको डसाइपछि उनी तन्त्रमन्त्रबाट उपचार गर्न सर्पको विष झार्ने मानिसकोमा गए ।

तर,उनको शरिरमा फैलँदै गएको विषले थप पीडा दियो । दशैँ परेकाले गाडीको अभाव हुँदा उपचारका लागि अस्पताल लैजान ढिलो भयो । अन्ततः ताप्लेजुङ अस्पताल पुग्दानपुग्दै झाँक्री घतानीको मृत्यु भयो ।

नेपालका पहाडी क्षेत्रमा ज्यानै लिने विषालु सर्पहरु छैनन् भनिन्छ । तर केही वर्षयता ताप्लेजुङमा सर्पको डसाइबाट ज्यान गुमाउनेहरु लगातार बढिरहेका छन् ।

केही वर्ष पहिले सिरीजंघा गाउँपालिकाको तेल्लोक क्षेत्रमा पनि एक जनाको सर्पको डसाइबाट मृत्यु भएको थियो । गतवर्ष फुङलिङ नगरपालिका–२ को लहरेगाउँमा पनि सर्पको डसाइबाट त्यसैगरी एक जनाले ज्यान गुमाउनु परेको थियो ।

सर्पको डसाइबाट मानिसको मृत्युको क्रम बढे पनि यस विषयको खोज तथा अध्ययन हुने गरेको छैन ।

तर, झाँक्री घतानीको हत्यारा सर्पलाई भने ताप्लेजुङको फुङलिङ नगरपालिका ४, भानु माध्यमिक विद्यालय अम्बिटारको विज्ञान ल्याबमा सुरक्षित राखिएको छ । आफूलाई डस्ने सर्पलाई झाँक्रीले नै मारिदिएका थिए ।

यता, भानु माविका प्रधानाध्यापक किशोर राईले सर्पको बारेमा सोधखोज थाले । राईले हाङदेवामा पुगेर सर्प फालिएको स्थानबाट उठाएर विद्यालयको विज्ञान ल्याबमा राखेका हुन् । सर्पबारे अध्ययन गर्न ल्याबमा लगिएको उहाँको भनाइ छ ।

कुन जातको सर्प हो ? पहाडमा पहिले यो जातको सर्प थियो कि थिएन ? सर्पको डसाइबाट मानिसहरु पहाडमा किन मर्न थाले ? कहाँबाट यो जातको सर्प आयो ? जस्ता विषयमा अध्ययन र खोजीका लागि सर्पलाई ल्याबमा राखिएको शिक्षक राईले बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘ताप्लेजुङमा सर्पको डसाईबाट भएका मृत्युका घटनाहरु हेर्दा अब सर्पबारे अध्ययन हुन आवश्यक देखिएको छ ।’

टिप्पणीहरू