विना तयारी मुख्यमन्त्री आचार्यले गरे धनकुटा अस्पतालमा १०० शैयाको उद्धाटन
– ईश्वर थापा, धनकुटा
गत कात्तिक १ गते धनकुटा जिल्ला अस्पताललाई १०० शैयाको स्तरोन्नती गरिएको भनेर प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्धाटन गरे। अहिले १५ शैया रहेको जिल्ला अस्पताललाई प्रदेश सरकारले लगानीमा शैया थप गरेर स्तरोन्नती गरिएको भनिएको थियो। प्रदेश सरकारले केही समय अघि धनकुटा अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको थियो। सोही बमोजिम अस्पताललाई सेवा सुविधा सम्पन्न बनाइने भनेर मुख्यमन्त्री उद्धाटन गरेका हुन। उद्धाटन गर्दै मुख्यमन्त्री आचार्यले जिल्ला अस्पताललाई १०० शैयाको बनाएर विस्तारै त्यसलाई थप बढाएर शिक्षण अस्पतालको रुपमा विकास गरिने बताए।
मुख्यमन्त्रीले १०० शैयाको अस्पताल उद्धाटन गरेपनि सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको धनकुटा अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताए। उनले उद्धाटन पश्चात १०० शैयाको सञ्चालनको सुरुवात मात्रै भएको बताए। तर, १०० शैयाको बनाउन न त डीपीआर नै बनाइएको छ न त अन्य कुनै काम नै शुरु गरिएको छ। मुख्य विषय त धनकुटा अस्पताललाई १०० शैयाको बनाउन आवश्यक जग्गाको व्यवस्थापन नै भएको छैन। हाल धनकुटा अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको र १०० शैयाको अस्पताल चलाउन कम्तिका ५० रोपनी जग्गा चाहिने धनकुटा अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले बताए। उनले धनकुटा अस्पताललाई स्तरउन्नति गर्न डिपिआरको लागि १५ लाख र भवन निर्माणमा १ करोड बजेट विनियोजन भएको बताए। बजेट बिनियोजन भएपनि जग्गा नभएकाले डिपिआरको काम नै अघि नबढेको डा. विश्वकर्माको भनाइ छ।
धनकुटा अस्पतालसँगै रहेका कृषि ज्ञान केन्द्र र रेशम विकास कार्यक्रमको जग्गा अस्पतालले लिएर काम गर्ने कि भन्ने कुरा भएपनि यकिन भने नभएको उनको भनाइ छ। १५ शैयाको अनुमति भएपनि जिल्ला अस्पताललाई ४० शैयासम्म चलिरहेको अस्पतालले जनाएको छ। धनकुटा अस्पताललाई १०० शैयाको सञ्चालन गर्न हाल रहेको पूर्वाधारले मापदण्ड अनुसार नसकिने अस्पतालका निमित्त प्रमुख डा. विश्वकर्मा बताउँछन।
सरकारी मापदण्ड अनुसार १०० शैयाको अस्पताल सञ्चालन गर्न विभिन्न ८ वटा विभाग सञ्चालन गर्नुपर्ने हुन्छ। १०० शैयाको अस्पतालमा बालरोग, स्त्रीरोग, मानसिक रोग, फिजिसियन, छाती रोग, हाड रोग, नाक कान घाँटी रोग विशेषज्ञको आवश्यकता हुन्छ। तर, हाल धनकुटा अस्पताल विगत २ वर्षदेखि नै निमित्तको भरमा सञ्चालन भइरहेको छ। नवौँ वा दशौँ तहको मेडिकल सुपरिटेण्डेनको दरबन्दी रहेपनि हाल आठौँ तहको भरमा सञ्चालन भइरहेको हो।
हुन त जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्ने चर्चा २०७२ सालदेखि नै चल्दै आएको हो। अहिले पनि कुनै पूर्वाधार विना नै मुख्यमन्त्रीले आचार्यले १०० शैयाकै उद्घाटन गरेका हुन। धनकुटा अस्पताल थप स्तरोन्नती हुँदा पूर्वी पहाडिका धनकुटा सहित तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाबासीलाई निकै सहज हुने देखिन्छ।

टिप्पणीहरू