बाढी पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकले छुट्टै राहत पाउने

बाढी पीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकले छुट्टै राहत पाउने

सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताउनु भएको हो । त्यसका लागि स्थानीय सरकारसँग तथ्यांक लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई के गर्न सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिने उहाँले जानकारी समेत दिनुभयो ।

मन्त्री रेग्मीले विपद्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको पनि स्पष्ट पार्नुभयो । भन्नुभयो, ‘महिला, बालबालिकाहरु हरेक प्रकोपमा बढि प्रभावित हुन्छन् । अहिले बाढी, पहिरो, भूकम्प जस्ता प्रकोपहरुमा उनीहरु धेरै प्रभावित भएका छन् । सरकारले गर्दा समग्रतामा गर्ने हो । स्पेसिफिक होईन । जहाँसम्म हाम्रो मन्त्रालयको कुरा छ, अव त्यस्तो सत्यतथ्य कति छन ? कति महिलाहरु प्रभावित भए ? कति बालबालिकाहरु प्रभावित भए ? अहिले हामी त्यहीँ छलफल गर्दै छौँ ।’

सरकारले स्थलगत अवलोकन गरेरै बाढी, पहिरो, डुबान प्रभावितहरुलाई राहत दिने तयारी गरेको र त्यसका लागि प्रधानमन्त्री आफैं स्थलगत अवलोकनमा जान थालेको मन्त्री रेग्मीले स्मरण गराउनुभयो । उहाँले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारहरुलाई आग्रहसमेत गर्नुभयो ।

टिप्पणीहरू