धादिङ पुगेर शेखर कोइरालाले भन्नुभयो– ‘कांग्रेसका नेताहरु महाधिवेशनको मुडमा हुनुहुन्न’
-शंकर श्रेष्ठ
धादिङ– नेपाली कांग्रेसको महाधिवेशनको मिति फेरि पनि सर्ने संकेत देखिएको छ । सभापति शेरबहादुर देउवासहित पूर्व पदाधिकारीहरुकै कारण मंसिर ९–१३ का लागि तोकिएको महाधिवेशनको मिति पुनः सर्ने कांग्रेस नेताहरुले नै बताएका छन् ।
आइतबार जम्बो टोलीसहित धादिङ आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले नेतृत्वमा रहेकाहरु महाधिवेशनको मुडमा नरहेको बताए । केन्द्रिय महाधिवेशन रोक्नैका लागि जिल्ला तथा पालिका अधिवेशन समेत केन्द्रमा रहेका नेतृत्वले रोक्न दवाद दिने गरेको उनले बताए ।
‘पालिकाहरुमा जुन दिन अधिवेशन गर्ने भनिएको छ, त्यो दिन फोन आउछ रोकिन्छ । यसले हाम्रा नेतृत्वहरु नै महाधिवेशनको मुडमा हुनुहुन्न भन्ने संकेत हो’, कोइरालाले भने– ‘कांग्रेसको नेतृत्वहरु महाअधिवेशनको मुडमा हुनुहुन्न ।’
केही जिल्लामा कृयासिल सदस्यता विवादको बहाना बनाएर पनि महाधिवेशन लम्ब्याउन खोजेको काइरालाले आरोप लगाएका छन् । सभापति र पदाधिकारीहरुले बहानावाजी गर्दै महाधिवेशनको मिति सार्ने र कांग्रेस कमजोर बनाउने खेल सुरु भए वैकल्पिक बाटो खोज्ने कोइरालाले बताए । ‘कृयासिल सदस्यता बिवादको बहानामा महाधिवेशन रोक्न खोजिदैछ । अब नेतृत्वलाई छोड्दैनौं, विभिन्न बिकल्प प्रयोग गरेर महाधिवेशन गरेरै छोड्छौ । होइन भने वैकल्पिक बाटो खोज्छौ’ उनले भने ।
गठबन्धनमा रहेकोले काङ्ग्रेसले चाहेर पनि अर्ली इलेक्सन पनि सम्भवना नरहेको उनले प्रष्ट्याए । ‘निर्वाचन अपरिहार्य छ । तर महाधिवेशनअघि सम्भव छैन । काङ्ग्रेसको नयाँ नेतृत्व आएपछी मात्रै निर्वाचनको कुरा अगाडि बढ्छ’ उनले प्रष्ट पारे ।
महाधिवेशनको लागि आफ्ना समर्थकसहित देश दौडाहामा रहेको बताइरहँदा तपाई सभापतिको उम्मेदवार हो की होइन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने–‘सभापतिको उम्मेदवार हो पनि भन्दिन होइन पनि भन्दिन ।’ तर यो टिम १५ औं महाधिवेशनसम्म रहन्छ ।’
कोइरालासँगै रहेका कांग्रेस केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले नेतृत्वहरु नै मिलेर निर्धारित मितिमा महाधिवेशन हुन नदिएको बताए । ‘४ पटक मिति सारिसक्नुभयो । उहाँहरुलाई लज्जा बोध छैन’ नेता भण्डारीले भने– ‘नगर अधिवेशन नै सकिएको छैन त्यसैले तोकिएकै समयमा निर्वाचन हुदैन ।’
सभापति शेरबहादुर देउवा र बरिष्ट नेता रामचन्द्र पौडेललाई सम्मानपुर्वक पाखा लगाएर कांग्रेसमा नयाँ नेतृत्व निर्वाचत गराउने दौडमा आफुहरु रहेको उनले बताए ।
नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीको आमाको निधनपछि काजकिरियामा रहेका अधिकारीलाई समवेदना दिन नेता कोइराला र भण्डारीसहित विभिन्न जिल्ला सभापतिहरु र नेताहरुको जम्बो टोली धादिङ पुगेका थिए ।

टिप्पणीहरू