क्यानको साधारणसभा मध्यपुसमा, प्रशिक्षक छनोटको जिम्मा मल्ललाई

क्यानको साधारणसभा मध्यपुसमा, प्रशिक्षक छनोटको जिम्मा मल्ललाई

नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारणसभा गर्ने निर्णय गरेको छ । हिजो बसेको क्यानको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका बिषयमा पनि निर्णय गरेको छ । प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ । समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आइसिसी प्रतिनिधि सदस्य रहनेछन् ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको शृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिएका थिए । त्यसपश्चात क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन् ।

त्यस्तै, बैठकले संघको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन माघ ७ भित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ । साथै संघको आर्थिक कार्यविधि पनि पारित गरेको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय बैठकले गरेको छ ।

टिप्पणीहरू