​कुरा मीठो, काम थाल छिटो

कुरा मीठा–मीठा गर्दै, काममा सुस्तता अपनाउँदै गन्तव्यमा कहिले पुगिएला ? नारायणी र गण्डकीसम्म पानीजहाज चल्ने भनिएको छ । त्यसका लागि नदी साँघुरो, गहिरो बनाउनुपर्ने काम त कता हो, कता ? भएकै हवाईजहाज चलाउन नसकिएको बेला यस्ता कुरा कार्यान्वयन होलान् कहिले ? रसुवागढीको बाटो जीर्ण हालतमा छ । तातोपानी बन्दको बन्दै छ । कम्तिमा रसुवागढी र वीरगञ्जको बाटो सहज बनाइए ढुवानी र निर्यात सहज हुन्छ । महँगी घट्छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डन संगठन (आइकाओ) को प्राविधिक मापदण्ड पूरा नगरेका कारण सन् २०१३ देखि गैरआवासीय नेपाली नेता भवन भट्टको बिबी एयरवेजको अनुमतिपत्र खारेजीमा परेको छ । तर, उनले किनेको ७५७ अल्फा चार्ली नामको बोइङ जहाज अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यत्तिकै ग्राउण्डेड छ । त्यसै त साँघुरो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँ जहाज थन्किएको धेरै भइसक्यो । त्यहाँ एम ६० कलसाइनको चाइनिज जहाज पाइलट नभएर थन्किएको छ । वाई १२ लगायतका साना जहाजहरु पनि त्यत्तिकै छन् । नेपाल वायुसेवा निगमको एयर बस ३३० भर्खरै आएको छ ।

एक महिनापछि, अर्थात् अगष्ट १ बाट दोहा सेक्टरमा सेवा सञ्चालन गर्ने भनिएको छ । जुलाई २६ मा अर्को वाइडबडी जहाज आउँदैछ । एक वर्षअघि (जेठ २९ गते) नेपाल वायुसेवा निगमले सञ्चयकोषसँग १२ अर्ब ऋण सम्झौता गरेको थियो । सो रकमबाट एयरबसको वाइडबडी ए ३३०–२०० सिरिजका दुई जहाज खरिद गर्ने भनेकोमा बल्ल एउटा आइपुगेको छ । आएको जहाजले पनि उडान भर्न थालेको छैन । नेवानिचाहिँ बढ्दो ब्याज, बिमाको प्रिमियम र पार्किङ शुल्क तिरेको ति¥यै छ । उता, चिनियाँ जहाजका पाइलट छैनन् । ट्याक्सी वे पूरै उप्काउनुपर्ने अवस्था छ । धन्न सिजन नभएर यात्रुको चाप र विमानको आवत–जावत कम छ ।  त्यसमाथि मलेसियाको उडान दुबैतर्फबाट बन्द भएको बेला छ । मध्यपूर्वी (खाडी) का विमानसेवाको उडान तालिका घटेको छ । लुक्ला र माउण्टेन फ्लाइट बन्द छ ।

पहाडी जिल्लाको रनवे बिग्रिएका कारण उडान कम भएको छ । करारका ३२ हजार कर्मचारीले हिजो साउन १ बाट हाजिर गर्न नपाउने भनिएको छ । यसरी समस्यामाथि समस्या बढ्दैछ । बल्खु, नख्खुका करिडोर खोल्न बजेट माग्न जानेलाई दुई वर्ष चूप लाग्न भनिएको छ । बागमती सभ्यता एकीकृत विकास समितिका नरेन्द्र बस्न्यातलाई अर्थमन्त्री डा.युवराज खतिवडाले ‘अहिले हल्ला नगर्नुस्, यो पाँच वर्ष टिक्ने सरकार हो’ भन्दै थामथुम पारेका छन् ।

टिप्पणीहरू