महिलासँग नरमाएको कस्तो हो त्यो मन !

आज विवश भई भन्न गइरहेको छु, यो कथा । मन थिएन तर बाध्य भएँ । ऊसँग भेट भएको एक वर्ष बितिसकेको थियो । देवले पशुपति कलेजमा चिनापर्ची गराएपछि हामी नजिकका साथी मात्र भएनौँ रुममेट नै बन्यौँ । उनीहरु स्नातक दोस्रो वर्षमा अध्ययनरत थिए । तर, पत्रकारिताको एउटै कलेज भएकाले कोठानजिकैको पशुपति त्यागेर भृकुटीमण्डपको आरआर कलेजमा पुगें । त्यतिबेला फुर्सदिलो भएकाले प्रायः शनिबार सबै साथीभाइ मिलेर घुम्न गइन्थ्यो । स्वयम्भू, पशुपति डाँडा, नगरकोट र कीर्तिपुरको चोभार नै मुख्य गन्तव्य हुन्थ्यो । शनिबार खानपिन गरेर निस्किएपछि राति अबेरसम्म रमाइलो गरिन्थ्यो । रातिको खाना कहिले बाहिर त कहिले डेरामै । शनिबार कुनै एक जना साथीको कोठामा ‘ग्यादरिङ’ हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ पार्टी त गरिन्छ तर विगतजस्तो मज्जा आउँदैन । धेरै साथीभाइ आफ्नै व्यस्तताले भेटिएका छैनन् भने आफू पनि कामको चापले पहिलेजस्तो फुर्सदिलो छैन । यद्यपि, मौका मिलाएर कहिलेकाहीँ दुःख भुल्ने गर्छाैं । 

‘मान्छेको माया यहाँ खोलाको पानीजस्तो…’ उतिबेला किशोरावस्थामा स्वरसम्राट् नारायण गोपालको यो गीत खुबै सुन्थें । पहिले गीतका शब्दले मुटु हल्लिने गरी हिर्काउँथ्यो । अहिले गीत सुन्नेबित्तिकै मथिंगल हल्लिने गर्छ । साँच्चिकै मान्छेको मन, माया र प्रेम भन्ने कुरा खोलामा बग्ने पानीजस्तै हुँदोरहेछ । भएभरको सबै वस्तु मिसिने खोलाको पानी कति कञ्चन छ भनेर कसले छुट्ट्याउन सक्नु ? त्यस्तै कसको मनमा कस्ता खालका भावना उनिएका छन् बुझ्नै कठिन ! ऊ मेरो जीवनमा त्यही अनौठो बनेर आयो । ऊभित्र के–कस्ता भावना जाग्छन् म त्यो नाप्न सक्दिनँ । उसका हाउभाउ मात्रै बुझ्छु । २३ वर्षे लक्का जोवन ! खाइलाग्दो ज्यान । शरीरको बनावट असाध्यै मिलेको । गोरोमा गोरो त्यसमाथि रेबनको चस्मा लगाउँदा कुनचाहिँ युवती नपट्टिएलान् र ? सुन्दरताको तारिफ गरिसाध्य छैन । लाग्छ, भगवान्ले उसलाई प्रकृतिमा रोजेरै पठाएका हुन् । सबै साथीभाइसँग उत्तिकै मिल्ने स्वभावका उनी तिनै मेरा मित्र हुन्, योगेन । मभन्दा पढाइमा तेजिलो । एकपटक भनेको कुरा दिमागले टिपेपछि डिलिट नहुने । भविष्यमा गायक बन्ने सपना छ । अहिले संगीत सिक्दैछ । स्वर त्यस्तो जादुमय नभए पनि मिठास छ । गितारको तालमा ओठ चलाउँछ र भावनामा डुब्दै गीत गाउन थाल्छ ‘पर्खि बसें आउँला भनी… ।’

ऊसँग भेट भएपछिका दिन रमाइलो गरी बित्दै थियो । समय न हो एक÷दुई दिन हुँदै वर्षै बितेजस्तो लाग्ने । अहिले हामीसँगै बसेर रम्न थालेको तीन वर्ष पूरा भइसकेको छ । ०७२ सालको भूकम्पपछि अर्थात् असार दोस्रो साता हाम्रो भेट भएको हो । भेट भएको करिब १५ दिनमै हामी तीनजना (देव, योगेन र म) सँगै बस्ने निधो ग¥यौँ । त्यतिबेला योगेन बालाजुमा बस्थ्यो । देव र म चाबहिलमा । पूर्वशर्तअनुसार शनिबारको दिन पारेर योगेन पनि हामीसँगै बस्यो । त्यस दिनदेखि हामी दाजुभाइजस्तो भएर आफ्नो कर्तव्य पूरा ग¥यौं । मिलेरै कोठाभाडा, रासनपानी, तरकारी र बिजुलीको बिल तिथ्र्यौं । अहिले पनि त्यसैगरी बसेका छौँ । हामीबीच कुनै मनमुटाव छैन । म अहिले एक सञ्चारकर्मीका रूपमा काम गरिरहेको छु । योगेन र देवले केही समय चाबहिलमा क्याफे सञ्चालन गरे पनि पढाइका कारण पसल बेचेर अहिले गहन अध्ययनमा छन् । दुवैलाई स्नातकोत्तर सकेर भविष्य बनाउनु छ । मलाई उनीहरूजस्तै इच्छा भए पनि स्नातक तेस्रो वर्षमा एक विषय झुन्डिएपछि एक वर्ष थन्किनुपरेको छ । कामको व्यस्तताले गर्दा पढाइलाई राम्रोसँग अघि बढाउन नसकेकाले मन बुझाएको छु । 

योगेनसँग चिनजान भएको डेढ वर्ष बित्दै थियो । त्यतिञ्जेल मलाई उसको त्यो स्वभावबारे थाहा थिएन । तीन वटा कोठा भाडामा लिएका थियौँ । एउटा भान्छा र अर्काे सुत्ने कोठा । एक रात खाना खाएर सुत्न योगेन र म हाम्रो कोठातिर छि¥यौँ । देव उसकै कोठातिर छि¥यो । अहिले देवले विवाह गरिसकेको छ र सिंगल रुममा डबल ज्यानको इन्ट्री भएको छ । यता, योगेन र म उही शैलीमा बस्दै आएका छौँ । हो, त्यो दिनको घटना भन्न गइरहेको छु, आज म । ‘म केटाबाहेक अरू कसैसँग विवाह गर्दिनँ । केटीप्रति कुनै चासो छैन । अहिलेसम्म तीन जना केटीले प्रपोज गरिसके तर मैले एक्सेप्ट गरेको छैन ।’ मोबाइलको स्क्रिनको लक खोल्दै मलाई देखायो । फेसबुकको म्यासेन्जर बक्समा तीन जनाले प्रपोज गरेका रहेछन्, ‘आइ लाइक यू, डोन्ट हेट मी ! ल्पिज एक्सेप्ट माई रिक्वेस्ट ।’ उसले पालैपालो तीनै जनाको फोटो पनि देखायो । एकछिन उसको म्यासेज पढेर रनभुल्लमा परें । तीनै जनाको फोटो सुन्दर थियो । मै प्रपोज गरुँँ गरुँझैँ लाग्ने । तर, मनको कुरा मनमै रह्यो । मेरो ध्यान उसले बोलेको ‘केटाबाहेक अरूसँग विवाह गर्दिनँ’ भन्नेमै केन्द्रित रह्यो । र, सबै कुरा सोधखोज गर्न थालँे । उसले बचपनदेखि किशोरावस्थासम्मका सबै घटना कपीका पानासरि पल्टाउँदै भन्न थाल्यो । ध्यानपूर्वक सुन्दै गएँ । बीचमा डर पनि लागेर आयो । चिच्याउने अवस्था थिएन । मन दह्रो बनाएर एकटकले उसलाई हेर्दै सुनिरहँे । उसले सबै कुरा भन्यो । र, कुराकानीकै क्रममा अमेरिकामा ब्वाईफ्रेन्ड ह्यारीसँग लभ अफेयरमा रहेको सुनायो । त्यसपछि छाँगाबाट खसेजस्तै भएँ । सपना हो या विपना । खोला तलबाट माथि पनि बग्दोरहेछ । हैट ! म आत्तिएको देखेर उसले सम्झायो, ‘नवीन ! त्यस्तो आत्तिनुपर्ने जरुरी छैन । मान्छेको मन न हो । बाहिर देखिएको शरीरजस्तो भित्री मन पनि त्यस्तो नहुँदो रहेछ । म तिमीभन्दा बिल्कुल फरक छु । तर, मैले तिमीलाई त्यस्तो कुदृष्टिले कदापि हेरेको छैन । भेट भएदेखि नै तिमीलाई यो कुरा भनौँ भन्ने लागेको थियो तर सकिनँँ ‘आइ एम रियल्ली सरी यार !’ 

जंगलको बाटोमा आफूसामु उभिएको बाघ देखेर बेहोस भएपछि बाघले सुँघेर गएको र ज्यान सग्लो रहेको कथा सुनेको थिएँ । कथामा बाघ गएपछिको अवस्थामा मैले तत्काल उसलाई प्रश्न गरें, ‘यो कुरा घर परिवारलाई थाहा छ कि छैन ?’ ‘दिदीबाहेक अरू कसैलाई थाहा छैन ।’ त्यसपछि मन अलिकति हल्का भयो । उसको दिदी अस्ति भर्खंरै दुबईबाट नेपाल एक महिना बिदामा घर आएकी हुन् । अब, केही दिनमै फेरि रोजगारीका लागि दुबई जाँदै छिन् भने जेठो दाइ कोरियामा छन् । दुई भाइमध्ये योगेन कान्छा हुन् । उनलाई पढ्न, बस्न र खान कुनै दुःख छैन । दाइ र दिदीले खर्च पठाउँछन् । ‘परिवारलाई चाहिँ किन थाहा नदिएको योगेन ?’ उसले आफूले दिदीबाहेक अरू कसैलाई भन्न नचाहेको बतायो । र, आफूलाई यो कुरा भन्न उपयुक्त नलागेको भन्दै नेपाली समाजमा बस्न गाह्रो हुने र जतिसक्दो चाँडो विदेश जाने मन खोल्यो । मैले त्यसो नगर्न सल्लाह दिए पनि उसले मानेन र आफ्नो बोइफ्रेन्ड ह्यारीसँग फेसबुकमा भएको सबै कुराकानी देखायो । वर्षांैदेखि दुईबीचको कुराकानी देखेर झन् अचम्भित भएँ । ह्यारीका नाति–नातिनी रहेछन् । बुहारी र छोरा पनि देखेँ । केही महिनादेखि ह्यारीले योगेनलाई मायाले सय डलर (१० हजार) बैंकमार्फत नेपाल पठाएको रहेछ । योगेनलाई जति सक्दो चाँडो अमेरिका आउन पहलकदमी पनि गरेको रहेछ । तर, अमेरिका जान भिसा अप्लाई गरे पनि दुईचोटि योगेन फेल भएको थियो । योगेनले यी सबै देखाएपछि छर्लंग भएँ । अहिले यो कुरा देवलाई पनि थाहा छ तर समग्रमा छैन । 

बीचमा ह्यारीसँग ब्रेकअप हुन पुग्यो । त्यो बेला योगेन निकै चिन्तित भयो । तर, रोएन । दुई बीच ब्रेकअप हुनुको कारण थियो, योगेन पनि क्याफेमा व्यस्त र ह्यारी पनि परिवारसँग व्यस्त । दुईबीच भएको सबै कुरा योगेनले सुनाउन कञ्जुस्याइँ गरेन । सबै कुरा सुनायो । मलाई ऊप्रति अबचाहिँ साँच्चिकै दया जागेर आयो । मान्छेको मन अनुपम हुनेरहेछ । मनसामु तन (शरीर) को कुनै जोर नचल्नेरहेछ । शरीरको दागमा अर्काे शरीरको मासुको टुक्रा काटेर भरेसरी मनलाई भर्न÷बदल्न कहाँ सकिनेरहेछ र ? समाजले उसलाई कर्के नजरले हेरे पनि मैले कदापि हेर्न सक्दिनँ । उसको ठाउँमा बसेर आफैँलाई पनि तौलन्छु । र, उसलाई पनि सम्झाउँछु । बीचमा ह्यारीसँग ब्रेकअपपछि उसको माया सुनील क्षेत्रीसँग बस्यो । तर, फेसबुकमार्फत बसेको प्रेम दीर्घकालीन रहेन । सुनील योगेनलाई भेट्न विराटनगरदेखि काठमाडौं नआएको पनि होइन । दुवै जनाले बानेश्वरको नाम चलेको गेस्ट हाउसमा तीन रात बिताए । चन्द्रागिरिको डाँडा घुमे । पशुपति घुमे । काठमाडौंको सबै डाँडा घुमेर सुनील फर्कियो । सातापछि संयोगले सुनीलको दाइ पर्नेसँग योगेनको भेट भयो, त्यसक्रममा दाइले सबै कुरा खुलस्त पारे, सुनीलकी श्रीमती र एउटा छोरा भएको । सुनीलले प्रतिवाद गरे पनि परिवारले जबर्जस्ती पुस्ता नमास्न आग्रह गर्दैै विवाह गरिदिएको रहेछ । अहिले सुनील विवश भई बाँचेका छन् । 

यी सबै कुरा थाहा पाएपछि योगेनले उसलाई फेसबकुबाट हटाएको छ भने अर्काे नम्बर परिवर्तन गरेको छ । अहिले फेरि योगेनको ह्यारीसँग चक्कर चलिरहेको छ । बेलुकी घण्टौँ फेसबुकमा कुराकानी भएको सुन्छु । योगेन अंग्रेजीमा तीक्ष्ण छ । तर, मलाई ह्यारी र उसले बोलेको अंग्रेजी बोलीले तीनछक्क बनाउँछ । तैपनि, दुईतिरको हाउभाउ र बोलीअनुरूप केही बुझेजस्तो हुन्छ । नबुझे पनि कुराकानी सकिएपछि योगेनले भए भरको सबै सुनाउँछ । अहिलेसम्म मलाई ‘गे’ अर्थात् समलिंगीबारे एउटै कुरा थाहा थियो । तर, डिक्सनरीमा त्यतिमात्र रहेनछ । डिक्सनरीमा गे को अर्थ स्पष्टसँग अंग्रेजीमा लेखिएको छ,‘चियरफुल, चियरी, मेरी, जोल्ली, ह्याप्पी, ग्ल्याड, ब्राइट..।’ सोच्छु, सायद गे भनेको खुसीमा रमाउने प्राणी हो । समाजमा उसलाई पनि अरूजस्तै गरी रम्न दिनुपर्छ । योगेन, तिमी यसैगरी सदा खुसी रहनू । 

– तिम्रो नरेन्द्र, हाल : चाबहिल

टिप्पणीहरू