सेनापति र नेताहरू बीचका सौदाबाजी

सेनापति र नेताहरू बीचका सौदाबाजी
सुन्नुहोस्

सैनिक नेतृत्व हात पार्न जर्नेलहरूबीच प्रतिस्पर्धा हुने गरेको त सुनिएकै हो, तर अवकाशपछि अर्को पद पाउनका लागि भित्रभित्रै चल्ने चलखेलवारे भने धेरैलाई थाहा नहुन सक्छ । गौरवशाली इतिहास बोकेको र मुलुककै सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाभित्र यस्ता अनेक कथा छन् । नेतृत्व व्यक्तिगत स्वार्थमा तल्लीन हुँदा सेना कसरी उपेक्षामा पर्दो रहेछ भन्ने सन्दर्भ पनि हो यो । 

तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले समायोजनबाट राष्ट्रिय सेनामा छिरेका माओवादी पूर्वलडाकू यमबहादुर अधिकारी प्रतीक्षालाई ब्रिगेडियर जर्नेलमा बढुवा गरे । शान्ति–सम्झौतामै नभएको बढुवासम्बन्धी उनको त्यस्तो निर्णयले त्यतिबेला खैलाबैला मच्चिएको थियो । विवादका कारण दुई दिनसम्म प्रस्ताव रोकिँदा जर्नेलहरूलाई भेला पारेर उनले विश्वास दिलाउँदै भनेका थिए– ‘अरु कसैको पनि करिअरमा फरक पर्दैन, उनी गएपछि पद पनि संगै जान्छ ।’ यसरी बलजफ्ती गरिनुको कारण थियो अवकाशपछि आफू पाँच तारे जर्नेल हुने पूर्णचन्द्रमा पलाएको लोभ !

त्यसबेला प्रधानमन्त्री थिए केपी शर्मा ओली । नेकपाको झण्डै दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री उनले सत्ता कब्जा गर्ने अभियानअन्तर्गत राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, महान्यायाधिवक्ता कार्यालय, सम्पत्ति शुद्धीकरणलगायत निकायलाई आफूमातहत ल्याइसकेका थिए । थप शक्ति आर्जन गर्न सेनालाई पनि हातमा लिने योजना थियो । त्यसनिम्ति सेनापति बिपिन रावतलाई नरेन्द्र मोदीले सिडिएस (चिफ अफ डिफेन्स स्टाफ) बनाएजस्तै तीन वटै सुरक्षा निकायको एकीकृत नेतृत्व गर्नेगरी एउटा छुट्टै संयन्त्र बनाउने र नेतृत्व दिने आश्वासन पूर्णचन्द्रलाई दिइयो । तर, संसद् विघटनपछि ओलीको सत्ता ढलेसँगै राजनीतिक नेतृत्वलाई रिझाएर अवकाशपछि पनि नेतृत्वमा रहिरहने पूर्णचन्द्रको योजना सफल हुन सकेन । 

त्यसपछि नेतृत्व सम्हाल्न आए प्रभुराम शर्मा । राजनीतिज्ञसँगको साँठगाँठमा अवकाशपछि सुरक्षित भविष्य खोज्ने पूर्णचन्द्रले बसाउन खोजेको परम्परालाई उनले पनि निरन्तरता दिए । त्यसैअन्तर्गत माओवादी सुप्रिमो प्रचण्ड प्रधानमन्त्री भएका बेला माओवादीका उनै पूर्वलडाकू यमबहादुरलाई तीन वर्ष म्याद थपिदिए । यसको पछाडि झिनो स्वार्थ र कसैको उक्साहट थियो–अवकाशपछि अष्ट्रेलियाको राजदूत खाने !

जंगीअड्डासम्बद्ध स्रोतका अनुसार ताराध्वजजस्तै काण्ड लागेर अशोक, निर्मल र भदौ ११ पछि सन्तोष ढकाल पनि चिप्लिएका भए स्टाफ कलेजमा कार्यरत बाबुराम श्रेष्ठ तीन तारेमा उक्लने थिए यसर्थ उनलाई पनि रोक्न कृत्रिम आर्थिक मामला काण्ड खडा गरियो । सेनाभित्र चर्चा हुने गर्छ–पूर्णचन्द्रको कार्यकाल केही लम्बिएको भए उनलाई मेजर जनरल बन्नै दिने थिएनन् । प्रचण्डको सत्ता निरन्तर रहिरहेको भए प्रभुरामले अष्ट्रेलियाको राजदूत खाने सम्भावना बुझेका अशोक अन्तिम दिनसम्म ‘थाल खाऊँ कि भात खाऊँ’ को स्थितिमा थिए । तर, यहीबीच गठबन्धन फेरिएसँगै सर्लक्कै सेनापति भए । 

‘पूर्णचन्द्रले पाँच तारे बन्ने लोभमा ओलीसँग मिलेर यमबहादुरलाई बढुवा दिए । प्रभुरामले प्रचण्डसँग सम्झौता गरेर माधव नेपालको चित्त दुखाउँदै आफू अष्ट्रेलियाको राजदूत हुन तीन वर्ष म्याद थपिदिए’, सैनिक स्रोत भन्छ, ‘राजनीतिक परिस्थिति मिल्दै गयो भने अशोकलाई पनि दवाव दिएर दुईतारे बन्न के बेर !’ 

राजदूत बनेर अष्ट्रेलिया जाने प्रभुरामको चाहनामा पारिवारिक कारण पनि महत्वपूर्ण छ भनिन्छ । भित्री पाटो बताउनेहरू भन्छन्, ‘पूर्व दुई तारे जर्नेल देव सुवेदीका छोरासँग उनकी छोरीको अष्ट्रेलियामै बिहे भएको हो । उनी उक्त समारोहमा जान पाएनन् । आफू चिफ भएका बेला नेपालमै धुमधामसँग छोरी अन्माउने इच्छा थियो । कोभिडपछि छोरी–ज्वाइँ र सम्धी खलकलाई नेपाल बोलाएर शशीभवनमै रिसेप्सन दिए पनि चिफकी छोरीको बिहे सोचेजस्तो भने भएन । 

माधव नेपालका ज्वाइँ कैलाश पोख्रेललाई अन्तै ब्यवस्थापन गरेर प्रभुरामलाई क्यानबेरा पठाउने योजनाअन्तर्गत भित्रभित्र काम हुँदै थियो । यहीबीच गठबन्धन परिवर्तन भयो । त्यसपछि प्रचण्ड सरकारमा हुँदा ओली आफैँद्वारा इजरायलबाट फर्काइएकी कान्ता रिजाललाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरियो । तर, इजरायलमा राजदूत हुँदा दुई जना अर्दली लिएर गएकोमा एक जनालाई उतै छाडेको भनी विवादमा परेकी उनको सिफारिस तुहाइयो । बाहिर यस्तो विवाद देखाइएता पनि प्रभुरामलाई राजदूत बनाउन पुरानै योजनाअन्तर्गत त यस्तो खेल भएको हैन ? भन्ने अनुमान गरिन्छ । 

‘कोही चिफ सिडिएस हुन सत्तासँग सौदाबाजी गर्ने, कोही राजदूतका लागि भित्रभित्र सेटिङमा काम गर्ने अनि झण्डै एक लाख बहालवाला र आठ लाख बढी हिताधिकारीलाई कसले हेर्ने ?’, सेनाभित्र अहिले यस्तो प्रश्न उठ्न थालेको छ । फलामे अनुशासनमा चल्नुपर्ने फौजी संगठनभित्र यस्तो बेथिति मौलाइरहँदा सरोकारवालाहरूको भने खासै चासो देखिँदैन । पूर्वचिफ, पूर्व सिनियर अधिकृतलगायतले मुख खोलेका छैनन् । सेनाभित्रका विवाद सार्वजनिक बहसको विषय बनिरहँदा परमाधिपतिसमेत रहेका राष्ट्रपतिको ध्यान नगएकोप्रति केही जर्नेल आश्चर्य मान्छन् ।

यतातिर अमेरिका बस्दै आएका पूर्वसेनापति राजेन्द्र क्षेत्रीले भने बेलाबखत चासो राख्ने गरेको पाइन्छ । पछिल्लो पटक अशोक सिग्देललाई सघाउनकै लागि उनी निर्धारित समयभन्दा पहिले नै नेपाल आएको बताइन्छ । किनभने यसअघि प्रधानसेनापति बन्ने मुखैमा किर्ते विवादमा परेका ताराध्वज पाण्डेलाई चिप्ल्याइएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँबाट उनको नाममा जारी भएको नागरिकता नम्बर खोज्दा ढडमा भने अर्कै एक जना महिलाको नाम भेटिएपछि प्रभुरामले सोधपुछमा बोलाएर सल्लाहमै राजीनामा गराइएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको जिल्लावासी मात्र नभई मतदातासमेत रहेका ताराध्वज ‘माथिको आश्वासन’मा ढुक्क हुँदा अन्तिममा अर्कै परिणाम आएको अवस्था बुझेका राजेन्द्रले अशोकको हकमा त्यस्तो नहुने सुनिश्चितताका लागि भित्री पहल गरेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू