प्रधानमन्त्रीले ५ करोड मागेपछि...
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई भने– ‘व्यासको पैदलबाटोलाई ५ करोड बजेट हाल्नुहुन्छ कि म चन्दा मागुँ ?’ पुस ११ गते राति १० बजेतिर बालुवाटारमा कालापानीछेउका केही व्यासवासीसहित दार्चुलाको डेलिगेशनले प्रधानमन्त्री ओलीसँग भेट गर्ने अवसर पायो । उद्देश्य थियो– व्यासक्षेत्र जोड्ने पैदलबाटो सञ्चालनका लागि संघीय सरकारसँग ५ करोड बजेट माग्ने । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला–टिंकर सडक निर्माण कछुवा गतिमा चलिरहेको अवस्थामा व्यासक्षेत्र जोड्ने पैदलबाटो त तत्काल सञ्चालनमा ल्याउन सक्नुपर्छ भन्दै एमाले–कांग्रेसका नेता प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
बेलुकी ७ बजे नै बालुवाटार छिरेको टोलीले ३ घण्टा कुरेर बल्लतल्ल प्रधानमन्त्रीलाई भेट्न पाएको हो । दार्चुलाको टोलीभन्दा पहिला डोटी जिल्लाको डेलिगेशनले भेटेको थियो । करिब १० मिनेट मात्रै डोटीलाई समय दिए पनि त्यसपछि प्रधानमन्त्रीले अन्य भेटघाट र चियानास्ता गरेकाले दार्चुलाको टोलीले करिब ३ घण्टा कुर्नुपरेको थियो ।
डेलिगेशनको नेतृत्व गरेका पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले व्यासको पैदलबाटो सञ्चालनमा ल्याउन तत्काल ५ करोड बजेट माग गरे । व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले स्थानीय सरकारका थप माग पनि तेर्स्याए । व्यासक्षेत्रको भूगोल र अवस्थितिबारे जानकार प्रधानमन्त्रीले गम्भीर मुद्रामा कुरा सुने । स्थानीय सरकारले पेश गरेको लिखित मागपत्र पनि ग्रहण गरे ।
१०–१५ मीनेटको उक्त भेटघाट छोट्याउने तयारी प्रधानमन्त्रीको सचिवालयले गर्यो । प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले डेलिगेशनलाई बिदा हुन इशारा गरे तर प्रधानमन्त्रीले उनलाई रोकेर दार्चुलाको टोलीलाई केहीबेर सँगै बस्न लगाए । ‘मैले अर्थमन्त्रीलाई बोलाएको छु, तपाईंहरूको मागबारे अहिले नै छलफल गरेर टुंगो लगाउँछु’ भन्दै केहीबेर बस्न आग्रह गरे ।
पाँच मीनेटमै अर्थमन्त्री विष्णु पौडेल त्यहाँ पुगे । ‘प्रधानमन्त्रीले थोरै पृष्ठभूमि जोडेर तत्काल ५ करोड बजेट दिन अर्थमन्त्रीलाई आग्रह गर्नुभयो,’ एक सहभागीले जनआस्थालाई बताए । सीमाक्षेत्र र राष्ट्रिय स्वाभिमान जोडिएको क्षेत्रमा पैदलबाटो समेत नहुनु गम्भीर विषय भएको प्रधानमन्त्रीको भनाइ थियो ।
‘व्यास जोड्ने बाटो सञ्चालनका लागि तत्काल ५ करोड दिन सक्नुहुन्छ कि म चन्दा मागुँ ?’ प्रधानमन्त्रीको सोधाइ थियो । ‘दार्चुलाका साथीहरूलाई मैले बाचा गरिसकें, यदि दिन सक्नुहुन्न भने मैले भीख मागेर पनि दिनुपर्ने भयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै दार्चुलाका एक नेताले बताए । अर्थमन्त्रीले बजेट व्यवस्थापन चुनौतीपूर्ण रहे पनि यो गम्भीर विषयलाई तत्काल प्राथमिकता दिएर काम गर्ने बताएका छन् । अर्थमन्त्री बालुवाटार पुग्नुअघि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पनि त्यहीँ थिइन् ।
दार्चुला र सीमाक्षेत्रका विषयमा कुराकानी भइरहँदा ओलीले डंगोलसँग ‘महानगरबाट पनि दार्चुलालाई बजेट हाल्नुस् न’ भन्ने आग्रह गरेका थिए । डंगोलले महानगरसँग त्यस्तो बजेट नभएको तर एम्बुलेन्स भने दिनसक्ने बताइन् । प्रधानमन्त्री ‘हिँड्ने बाटो नभएको ठाउँमा एम्बुलेन्सको के काम ?’ भन्दै हाँसेका थिए । ‘टिंकर सडक कहिले बन्छ, कुनै ठेगान छैन, तत्काल पैदलबाटो सञ्चालनमा ल्याउन सके पनि ठूलो उपलब्धि हुन्छ,’ सहभागी एक एमाले नेताले भने ।
सरकारले तत्काल बजेट उपलब्ध गराए दुई–तीन महिनाभित्रै पैदलबाटो सञ्चालनमा ल्याउने जानकारी दार्चुलाको डेलिगेशनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई दिएको छ । आउँदो चैत्र–वैशाख महिनाभित्रै नेपालतर्फको बाटो सञ्चालनमा ल्याएर व्यासवासीको कुञ्चा (गाईवस्तुसहितको बसाइँसराइ) नेपालकै बाटो पठाउने तयारीमा स्थानीय सरकार छ ।
पैदलबाटो बनेपछि व्यास पुग्ने प्रधानमन्त्रीको इच्छा
ब्यास जोड्ने पैदलबाटो सञ्चालनमा आएपछि प्रधानमन्त्रीले व्यास गाउँपालिकाको वडा नम्बर १ मा पुग्ने इच्छा राखेका छन् । अतिक्रमित नेपाली भूमिसँग जोडिएको छाङरु र तिंकर दुवै गाउँ घुम्नेगरी दार्चुला भ्रमण गर्ने प्रधानमन्त्रीको इच्छा छ । ‘तत्कालै बाटो बनाउनुस्, म उद्घाटन गर्न व्यास पुग्छु’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने ।
एक नम्बर पिलर र ओम पर्वत दर्शन गर्न कति हिँड्नुपर्छ भन्ने जिज्ञासा पनि ओलीले राखेका थिए । उच्च हिमाली क्षेत्र भएकाले आफ्नो स्वास्थ्यले साथ दिन्छ कि दिँदैन भन्ने चासो उनको थियो । १२ हजारदेखि १८ हजार फिटसम्मको उचाइ भएकाले आफ्नालागि भ्रमण केही चुनौतीपूर्ण हुन सक्ने उनले बताए । तर, केही घण्टाका लागि भए पनि हेलिकोप्टरबाट जाने प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन् ।
२०७९ को आम निर्वाचनमा दार्चुला सदरमुकामबाट चुनावी प्रचार थालेका ओलीले व्यासक्षेत्रमा भने हालसम्म पाइला टेकेका छैनन् । कैलाश–मानसरोवर यात्रा सञ्चालनका लागि तिंकरमा अध्यागमन कार्यालयसहित व्यासको पैदलबाटो छाङरुमा निर्माण गरिएको राष्ट्रिय स्तम्भसमेत उद्घाटन गर्न प्रधानमन्त्रीलाई दार्चुला आउन निम्तो गरिएको छ । व्यास गाउँपालिकाले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउनेगरी छाङरुमा राष्ट्रिय स्तम्भ निर्माण गरेको थियो ।
आजभोलि व्यासका बासिन्दा सदरमुकाम खलंगामा बसाइँ सरेकाले प्रधानमन्त्रीको भ्रमणमा सहभागी न्यून हुनेबारे समेत चर्चा गरिएको छ । तर, प्रधानमन्त्रीको भ्रमण हुने निश्चित भए सबैजसो स्थानीयले आफ्नो पुख्र्याैली थलो पुगेर स्वागत गर्ने जानकारी दिइएको छ । आगामी चैत्र–वैशाखमा भ्रमण हुँदा सयौं स्थानीयवासीले गाउँमै स्वागत गर्न पाउने बताइएको छ ।
प्रधानमन्त्रीले सोधे– ‘कैलाशको जल हो कि मानसरोवरको ?’ व्यासक्षेत्रका वासिन्दाले प्रधानमन्त्री ओलीलाई मानसरोवरको जल उपहार दिएका छन् । प्रधानमन्त्रीले जलको बोतल ग्रहण गर्दै सोधे– ‘कैलाशको जल हो कि मानसरोवरको ?’ नेपाल–चीन हिमालय मैत्री समाजका सदस्य योगेशसिंह बोहराले प्रधानमन्त्रीलाई जल दिएका थिए । बोतलको बिर्को खोलेर प्रधानमन्त्रीले हेरे, हातमा खन्याएर आफ्नो शिरमा पानी छर्किए । पवित्र जल भए पनि आफ्नो स्वास्थ्यका कारण पिउन असमर्थ रहेको पनि बताए ।
टिप्पणीहरू