बैतेश्वरमा भएका आर्थिक अनियमितताको नालीबेली

बैतेश्वरमा भएका आर्थिक अनियमितताको नालीबेली

दोलखाको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको भ्रष्टाचार र आर्थिक अनियमितताका किस्सा एकपछि अर्को गर्दै बाहिरिन थालेको छ । गाउँपालिकालाई आर्थिक अनियमितताको थलो बनाएको भन्दै स्थानीयले अध्यक्षको चर्को विरोध गरेका छन् । 

जनआस्था डटकमले गत भदौ २७ गते यसबारे समाचार प्रकाशित गरेको थियो । ‘बैतेश्वरमा चरम आर्थिक अनियमितता, अध्यक्षविरुद्ध दर्जनौं उजुरी’ शीर्षकमा छापिएको समाचारप्रति उनले गम्भीर आपत्ति जनाएका छन् । गाउँपालिकाको लेटरप्याडमा प्रेस विज्ञप्ति जारी गरेर उनले समाचारको खण्डन गरेका हुन् । 

समाचारमा उठाइएको प्रश्नको जवाफ पत्रकार सम्मेलनमार्फत दिने उनले बताएका छन् । आफूमाथि लगाइएको आरोप झुठ्ठो भएको जनाउँदै जारी विज्ञप्तिमा प्रकाशित समाचारमा सत्यता नभएको दाबी गरिएको छ ।

विकास र सुशासनको मामिलामा बैतेश्वर जत्तिको उत्कृष्ट गाउँपालिका नरहेको बताउँदै आएका अध्यक्ष लामाले स्वकीय सचिव राखेको विज्ञप्तिमार्फत् नै स्वीकारेका छन् । भनिएको छ, ‘स्वकीय सचिवको विषयमा बैतेश्वर गाउँपालिकाको बैतेश्वर गाउँपालिका कार्यसञ्चालन निर्देशिका, २०७७ बमोजिम निजी सचिवालयको व्यवस्था गरिएकोमा आ.व.२०८१–०८२ देखि मन्त्रालयको सुझावअनुसार हटाइएको ।’

त्यसैगरी उनले आफ्नो निर्माण कम्पनी गाउँपालिकाको कुनैपनि ठेक्का प्रक्रियामा सहभागी नभएको दाबी गरेका छन् । उनको यो दाबीलाई झुठ्ठो साबित गर्ने प्रमाण जनआस्थाले फेला पारेको छ । उनको निर्माण कम्पनी ‘वैशाखे महादेव निर्माण सेवा’ ले गाउँपालिकाबाट रकम बुझेको बिल जनआस्थासँग सुरक्षित छ । हालै जारी प्रेस विज्ञप्ति र सो बिलमा उनकै हस्ताक्षर देखिन्छ । उनको कम्पनीले सडक सफा गरेबापत गाउँपालिकाबाट एक लाख ६९ हजार एक सय रुपैयाँ भुक्तानी लिएको बिलमा उल्लेख छ । उनको डोजरमार्फत सडक सफा गरेबापत एक घण्टाको पाँच हजार रुपैयाँ लिइएको देखिन्छ । 

आफूबाट गाउँपालिकाको इन्धनको दुरुपयोग नभएको अध्यक्ष लामाको ठोकुवा छ । कम्पनीले गाउँपालिकाबाट एक थोपा पनि इन्धन नलिएको उनले बताए । तर, गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा इन्धन, खाना, प्रेस सल्लाहकार, गाडी भाडामा चरम आर्थिक दुरुपयोग भएको स्पष्ट छ । 

त्यस्तै, गाउँपालिकालाई खर्चमा मितव्ययिता अपनाउन सुझाव दिइएको छ । 

गाडी भाडामै १२ लाख  

गाउँपालिकाको स्वामित्वमा कूल ३६ वटा सवारी साधन छ । जसमा दुई वटा चार पाङ्ग्रे, ३२ वटा मोटरसाइकल र दुई वटा स्कुटर हुन् । गाउँपालिकाको आफ्नै गाडी हुँदाहुँदै जनप्रतिनिधिले आर्थिक अनियमितता गर्न भाडाको गाडी बुक गर्ने गरेको पाइएको छ । व्यक्तिगत कामका लागि बोलेरो जीप भाडामा लिने र त्यसको बिल गाउँपालिकाको खातामा जोड्ने गरिएको कारोबार विवरणमा छ । यसबीच जनप्रतिनिधि र कर्मचारीले गाडी भाडामा १२ लाख रुपैयाँ स्वाहा पारेको बताइन्छ । साउनदेखि कात्तिकसम्म गाडी भाडा शीर्षकमा लाखौं रकम सकाइएको प्रतिवेदनमा उल्लेख छ । 

कानुनविपरीत प्रेस सल्लाहकार

स्थानीय तहका जनप्रतिनिधिले प्रेस सल्लाहकार राख्न पाउँदैनन् । अध्यक्ष लामाले कानुनविपरीत प्रेस सल्लाहकार पनि नियुक्ति गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को उपदफा (८) मा तोकिएकोभन्दा फरक पदमा कर्मचारी पदपूर्ति गर्न नहुने उल्लेख छ । 

२०७७ वैशाख ३ गते बागमती प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५’ मा गाउँपालिकाका पदाधिकारीका निम्ति प्रेस सल्लाहकारसम्बन्धी व्यवस्था छैन । तर, अध्यक्षले ऐनको धज्जी उडाउँदै सुवास बस्नेतलाई प्रेस सल्लाहकार नियुक्त गरेका हुन् । बस्नेतलाई गाउँपालिकाको ढुकुटीबाट मासिक १५ हजार रुपैयाँ तलब दिइएको थियो । 

बेपर्वाह खर्च 

खाना तथा विविध खर्च शीर्षकमा पनि चरम अनियमितता भएको खुलेको छ । जसमा वार्षिक लाखौं रुपैयाँ खर्च गर्ने गरिएको छ । आर्थिक वर्ष २०७९–८० मा २७ लाख १६ हजार ९१२ रुपैयाँ उडाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा निर्धारित बजेट एवम् आन्तरिक आयको परिधिभित्र रहेर खर्च गर्नुपर्ने व्यवस्थाको उल्लंघन गर्दै रकमको दुरुपयोग गरिएको हो । 

आफूखुशी स्वकीय सचिव नियुक्ति

गाउँपालिका अध्यक्षले स्वीकृत दरबन्दीबेगर सल्लाहकार नियुक्त गरेको प्रतिवेदनमा औंल्याइएको छ । पालिका अध्यक्ष र उपाध्यक्षका लागि सचिवालय सहयोगी नियुक्त गरिएको हो । अध्यक्षका निम्ति केशव तामाङ र उपाध्यक्षका निम्ति भावना उप्रेती सचिवालय सहयोगी नियुक्त गरिएको थियो । स्रोतका अनुसार केशव अध्यक्ष र भावना उपाध्यक्ष कल्पना उप्रेतीका नातेदार हुन् । 

केशवले मासिक १८ हजार रुपैयाँ तलब बुझ्थे । भावनालाई १५ हजार रुपैयाँ तलब दिइन्थ्यो । एक वर्षमा केशवले दुई लाख १६ हजार रुपैयाँ बुझेको देखिन्छ । त्यस्तै, भावनाले एक लाख ८० हजार रुपैयाँ तलब लिएकी छन् । एक वर्षमा दुई जनालाई कुल तीन लाख ९६ हजार रुपैयाँ दिइएको छ । जबकी ऐनले गाउँपालिकाको पदाधिकारीलाई स्वकीय सचिवको व्यवस्था गरेको छैन ।

इन्धन खर्चमा बेलगाम

गाउँपालिका अध्यक्ष लामाले जारी गरेको विज्ञप्तिमा लगबुकमा टिपाएर इन्धन सुविधा दिने गरेको उल्लेख छ । पालिका पदाधिकारीले एक वर्षमा इन्धनमा चार लाख ९४ हजार ७९८ रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, कार्यालय इन्धनमा ३२ लाख ८८ हजार ७८४ रुपैयाँ खर्च भएको छ । लेखापरीक्षण प्रतिवेदनमा इन्धन खर्चमा नियन्त्रण गर्न सुझाव दिइएको छ । 

भ्रमणको नाममा मनपरी 

जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा गाउँपालिकामा मनपरी खर्च गरिएको पाइएको छ । भ्रमणको उद्देश्य नखुलाई जथाभावी खर्च गरिएको छ । भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमणमा जानेको नाम, दर्जा, स्थान, मिति, उद्देश्य खुल्नेगरी अभिलेख राख्नुपर्ने प्रावधान छ । तर, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी अभिलेख नराखिकन आफूखुशी भ्रमणमा निस्किएका हुन् । भ्रमणमा एक वर्षमा ३७ लाख ८० हजार ४६४ रुपैयाँ खर्च भएको छ । जनप्रतिनिधिको मनपरीतन्त्रदेखि स्थानीय आजित भएका छन् । स्रोतका अनुसार जनप्रतिनिधिहरु महिनैपिच्छे भ्रमणमा निस्किन्छन् । 

विकासको डाहा 

गाउँपालिका उपाध्यक्ष उप्रेतीले पालिकाभित्र भएको विकास देख्न नसकेकाहरुले मनलाग्दी आरोप लगाएको बताइन् । स्थानीयले गाउँपालिकाको कामको तारिफ गरिरहेको उनको भनाइ छ । त्यस्तै, गाउँपालिकामा कुनैपनि किसिमको अनियमितता नभएको उनको दाबी छ । 

‘गाउँपालिकाभित्र भएको विकास देखेर डाहा गर्नेहरुले विरोध गरेका हुन् । काम गर्दा सबैले समर्थन गर्छन् भन्ने मात्र छैन्, विरोध पनि हुन्छ । स्थानीय हाम्रो कामदेखि निकै सन्तुष्ट हुनुहुन्छजस्तो मलाई लाग्छ’,उनले भनिन् । 

त्यस्तै, उनले स्वकीय सचिव र प्रेस सल्लाहकार हटाइएको बताइन् । मन्त्रालयबाट निर्देशन आएपछि उनीहरुलाई हटाइएको उप्रेती बताउँछिन् । भन्छिन्, ‘स्वकीय सचिव र प्रेस सल्लाहकार हुनुहुन्थ्यो । माथिबाट आदेश आएपछि हामीले हटाइसक्यौं ।’

टिप्पणीहरू